आस्था राउत विवादमा आएको जस्तै नेपाली विमानस्थलमा भएका चर्चित घटनाहरू

तस्बिर स्रोत, TIA
सुरक्षा जाँचका क्रममा विमानस्थलका सुरक्षाकर्मीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै गायिका आस्था राउतले एउटा भिडिओ सामाजिक सञ्जालमा साझा गरेपछि सुरु भएको चर्चा समाप्त भएको छैन।
उक्त भिडिओपश्चात् एक सुरक्षाकर्मीले राउतविरुद्ध नै अभद्र व्यवहारको उजुरी गरेपछि उनले गत सोमवार प्रहरीसमक्ष आत्मसमर्पण गरिन् र जिल्ला प्रशासन कार्यालय काठमाण्डूको आदेशमा एकदिन हिरासतमा बिताइन्।
मङ्गलवार उनलाई कार्यालयले ४,००० रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि भने उनी छुटिन्।
तर राउत र समग्र घटनाक्रमका बारेमा सामाजिक सञ्जालहरूमा बहस जारी नै छ।
विमानस्थलमा हुलहुज्जत
कतिपयले राउतको आलोचना गरेका छन् भने कतिले विमानस्थलको सुरक्षा जाँचको भिडिओ सार्वजनिक गर्ने प्रहरी र उनीमाथिको कारबाहीको विरोध गरेका छन्।
नेपालका विमानस्थलमा भएको हुलहुज्जतको घटना भने यो पहिलो होइन।
यसअघि पनि विमानस्थलमा सार्वजनिक पद धारण गरेकादेखि सामान्य व्यक्तिहरूले समेत हुलहुज्जत गरेको आरोप लागेको छ।
त्यस्तो आरोप लागेका केही व्यक्तिलाई पक्राउ गरिएको थियो भने केहीले उन्मुक्ति पाएका थिए।
नेपालका विमानस्थलहरूमा भएका गायिका आस्था राउतको घटनासँग मिल्दाजुल्दा अन्य तीन चर्चित घटना:
१. अध्यागतम विभागको काउन्टरमा तोडफोड
गत असोज २६ गते अस्ट्रेलियाबाट आएका एकजना गैरआवासीय नेपाली एनआरएन रमेशकुमार थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागम विभागको काउन्टरमा तोडफोड गरे।
उनले त्यहाँका कर्मचारीसँग आक्रोश पोख्दै काउन्टरमा हात बजार्दा सिसा फुटेको थियो।
त्यसबेला नेपालमा हुन लागेको एनआरएन सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका थिए।
विमानस्थलस्थित अध्यागमनको काउन्टरमै तोडफोड भएपछि उनलाई तत्कालै प्रहरीले नियन्त्रण लिएको थियो।

तस्बिर स्रोत, TIA
नियन्त्रणपश्चात् उनलाई अध्यागमन विभागको हिरासतमा राखियो र तीन दिनपछि ५० हजार रुपैयाँ जरिबाना तिराएर छाडेको थियो।
उक्त तोडफोडका क्रममा थापालाई उक्साएको आरोप लागेकी एकजना महिलालाई पनि २५ हजार रुपैयाँ जरिवाना तिराइएको थियो।
ती महिलालाई भने हिरासतमा लिइएको थिएन।
थापालाई उड्डयन कानुनअनुसार नभई अध्यागमन कानुन अनुसार कारबाही गरिएको त्यसबेला विभागका महानिर्देशक ईश्वरराज पौडेलले बीबीसीलाई बताएका थिए।
२. विमान कम्पनीको काउन्टरमा तोडफोड र अदालतबाट सफाइ
एनआरएन थापाले तोडफोड गरेको घटनाको भोलिपल्टै जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा त्यस्तै घटना भयो।
उक्त घटनामा राष्ट्रिय जनता पार्टी राजपाका सांसद प्रमोदकुमार साह संलग्न थिए।
साहले समयमा उडान नगरेको भन्दै तोडफोड गरेपछि भोलिपल्ट उनी काठमाण्डूबाट पक्राउ परे।

तस्बिर स्रोत, TIA
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरेर धनुषा लगिएको थियो।
जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर भएको थियो जसमा सांसद साहले गैरसैनिक हवाई उडान ऐन विपरित गतिविधि गरेको आरोप लगाइएको थियो।
तर पक्राउ परेको तीनदिनपछि साहलाई अदालतले साधारण तारेखमा छाड्ने निर्णय गर्यो।
उक्त मुद्दामा केही दिनअघि मात्र आफूले सफाइ पाएको साहले बीबीसीलाई बताए।
राउतबारे साह
साहले आफूले आवेशमा आएका कारण सो घटना नभएको बताए।
विमान कम्पनीले तोकिएको समयमा विमान नउडाएको र त्यसको जानकारी समेत नदिएकाले कडा ढङ्गले कुरा राखेको उनको दाबी छ।
तर राउतको घटनामा भने उनले प्रहरी र यात्रु दुवैतर्फबाट संयमता अपनाउनु पर्ने बताए।

उनले भने, "विमानस्थलमा सुरक्षा जाँच गर्दा प्रहरीले पनि असभ्य तरिकाले प्रस्तुत हुनु भएन, हामीले पनि राम्रो व्यवहार गर्नुपर्यो।"
"कसैले कोट खोल्नु भन्छ भने सुरक्षाका लागि त्यो पनि गर्नुपर्छ। विगतमा पनि सुरक्षाको कमीले विभिन्न घटना भएकाले त्यसमा संवेदनशील हुनुपर्छ।"
तर जनकुपरमा आफूले देखाएको व्यवहारले अहिले पनि पछुतो नलागेको सांसद साहले बताए।
उनले भने, "त्यो घटनाकै कारण जुन पुरानो ऐनलाई देखाएर वायुसेवा कम्पनीहरूले उपभोक्तालाई दु:ख दिइरहेका छन् त्यसलाई संशोधनको कुरा अघि बढाएका छौँ। त्यो त राम्रो भयो नि।"
३. पूर्वयुवराजले सुरक्षाकर्मी धकेलेको घटना
गत भदौमा पूर्वयुवराज पारस शाहसँग सम्बन्धित एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बन्यो।
उक्त भिडिओलाई लिएर सामाजिक सञ्जालहरूमा मानिसहरू विभाजित देखिए।
त्यस भिडिओमा पूर्वयुवराज शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा दिइरहेका एकजना सुरक्षा अधिकारीलाई धकेल्दै गरेको देखिन्थ्यो।
शाहले विमानस्थलको अतिविशिष्ट कक्ष भित्र जाँदै गर्दा ती प्रहरी अधिकृतलाई धकेलेको भिडिओमा देखिन्थ्यो।

तस्बिर स्रोत, AFP
त्यसबेला पूर्वयुवराज आफ्नी आमा पूर्वरानी कोमल शाहलाई बिदाइ गर्न आफ्ना छोरा र भान्जासहित विमानस्थल पुगेका थिए।
उक्त घटनापश्चात् सामाजिक सञ्जालमा कतिपयले शाहलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गरेका थिए।
तर त्यसबेला विमानस्थल सुरक्षाको प्रमुख रहेका नेपाल प्रहरीका अधिकारीहरूले बीबीसीसँग 'त्यहाँ खटिएका प्रहरीले त्यसलाई ठूलो घटना नमानेको' बताएका थिए।
प्रहरीले उक्त घटनाको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने भनेको थियो तर उक्त छानबिनको विवरण सार्वजनिक भएको छैन।
शाहको नाममा रहेको फेसबुक पेजमा विमानस्थलको घटनामा पूर्वयुवराजले माफी मागेको सन्देश लेखिएको थियो। तर सो पेज आधिकारिक भए नभएको बीबीसीले पुष्टि गर्न सकेको छैन।





















