योगेश भट्टराईः मन्त्रीका कारण विमान उडानमा भएको विलम्बले उब्जाएका प्रश्न

तस्बिर स्रोत, RSS
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण शनिवार एउटा विमान समयमा नउडेपछि यात्रुहरूले गरेको विरोधबारे अहिले निकै चर्चा भएको छ।
खासगरी सामाजिक सञ्जालमा त्यसबारे विभिन्न खाले टीकाटिप्पणी भइरहेका छन्।
कतिपयले त्यसलाई 'स्वाभाविक आक्रोश'का रूपमा लिएका छन् भने कतिपयले मन्त्रीसँग गरिएको 'अशोभनीय व्यवहार' भनेका छन्।
उड्डयनविज्ञहरूका अनुसार नेपालमा मन्त्री, नेता आदि विशिष्ट व्यक्तिका कारण आन्तरिक उडानको समय पर सर्ने घटनाहरू बेलाबेलामा भइरहन्छन्।
हालै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा पनि उडानसम्बन्धी एउटा विवादमा मुछिएका थिए।
शनिवारको घटना के हो?
नेपालगन्जबाट काठमाण्डूका लागि निजी वायु सेवाप्रदायक कम्पनी बुद्ध एअरको एउटा उडान समय शनिवार निर्धारित समयभन्दा पर धकेलिएपछि यात्रुहरू आक्रोशित भए।
उडान समय अरू कसैको कारणले नभई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईकै कारणले भएको थाहा पाएपछि विमानमै केही यात्रीहरूले उनीप्रति आक्रोश पोखेको भिडिओ सार्वजनिक भएको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1

उक्त भिडिओमा एक यात्रुले संस्कृतिमन्त्री भएर पनि "संस्कार नभएको" भनी टिप्पणी गरेको सुनिन्छ।
अर्का यात्रुले "पञ्चायतकालमा पनि यस्तो नभएको" भन्दै मन्त्री भट्टराईको आलोचना गरेको सुनिन्छ।
त्यसरी आलोचना हुँदा पनि मन्त्री भट्टराई मुस्कुराइरहेको भिडिओमा देखिन्छ।
पछि उनले सामाजिक सञ्जालमार्फत् घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै आफ्नै कारणले उडानमा ढिलाइ भएको स्वीकारे।
के भन्छन् मन्त्री?
सामाजिक सञ्जाल फेसबुकमा गरेको एउटा पोस्टमा मन्त्री भट्टराईले कैलालीको टीकापुरमा आयोजित डल्फिन महोत्सव सकेर बुद्ध एअरको धनगढीको अन्तिम उडानबाट काठमाण्डू फर्कने आफ्नो योजनाबारे उल्लेख गरेका छन्।
"तर कार्यक्रम ढिला भएको कारण बुद्ध एअरसँग अनुरोध गरेर नेपालगन्जको अन्तिम उडानबाट काठमाण्डू फर्कने क्रममा केही ढिला हुन गएको सत्य हो। सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टीमको बोर्डिङ भएको हो,"उनले भनेका छन्।
आइतवार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको उत्तर दिनुपर्ने भएकोले काठमाण्डू फर्कनैपर्ने दबावमा आफू रहेको मन्त्री भट्टराईले बताएका छन्।
नेपालगन्ज विमानस्थलमा तीन-चारजना आक्रामक शैलीमा आफूविरुद्ध प्रस्तुत भएको उनको भनाइ छ।
सामग्री उपलब्ध छैन
थप Facebook मा हेर्नुहोस्अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन।Facebook पोस्ट समाप्त

"एक जनाले '[पूर्वयुवराज] पारसविरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैँले हामीलाई कति दुःख दिएको छस्,त्यो हामीले कहाँ बिर्सेका छौँ र?' सम्म भने। त्यो सुनेपछि उनीहरूको नियत मैले बुझिहालेँ," मन्त्री भट्टराईले भनेका छन्।
यात्रु तथा वायुसेवा कम्पनीलाई धन्यवाद दिँदै उनले क्षमायाचना गरेका छन्।
"मेरा कारणले यात्रुहरूमा पर्न गएको असुविधाप्रति भने म क्षमाप्रार्थी छु।"
घटनाबारे बुद्ध एअरका बजार निर्देशक रूपेश जोशीसँग प्रतिक्रिया लिन खोज्दा उनको फोन उठेन।
के भन्छन् उड्डयनविज्ञ?
उड्डयनविज्ञहरू व्यक्तिविशेषका कारण हवाई सेवाप्रदायकहरूले "उडानको समय सार्नु र ठूलाबडाले त्यस्तो गर्न लगाउनु दुवै गलत" भएको बताउँछन्।
विज्ञहरूका अनुसार सामान्यतया 'शेड्युल्ड फ्लाइट' र 'नन-शेड्युल्ड फ्लाइट' अर्थात् नियमित तालिका भएको र नियमित तालिका नभएको गरी दुईथरीका उडान हुन्छन्।
निर्धारित समयतालिकाअनुसार गरिने उडान 'शेड्युल्ड फ्लाइट' हुन् भने चार्टर गरिएका हेलिकप्टर अथवा विमान पायक पर्ने बेलामा उडाइने 'नन-शेड्युल्ड फ्लाइट' हुन्।
उड्डयनविज्ञ प्रभाकर घिमिरे भन्छन्, "व्यक्तिविशेषकै कारणले शेड्युल्ड फ्लाइट त कुनै पनि हालतमा सार्न मिल्दैन। ढिलो गर्ने भए अथवा घण्टौँ कुराउने भए स्टेट एअरक्राफ्ट वा चार्टर गरिएको विमान चढे भइहाल्यो नि।"
सेवाप्रदायक कम्पनी भइसकेपछि मन्त्री वा अधिकारीलाई खुसी पार्न उडान समयमै परिवर्तन गर्नु "सरासर गलत" भएको अधिकारीको ठम्याइ छ।
"दबावको कारणले र खुसी पार्नका लागि पनि उनीहरूले त्यस्तो गरिरहेका हुन्छन्," उनले थपे।

अर्का उड्डयनविज्ञ कुमार चालिसे चाहिँ "ठूलाबडाको डरका कारण" हवाई सेवाप्रदायकहरूले नियमित उडानको समय सार्ने गरेको दाबी गर्छन्।
"हामीकहाँ नियमकानुन किताबमा पो छन्। मन्त्रीलाई नटेरेपछि भोलि गएर अप्ठ्यारोमा पर्न सक्ने डरका कारण सेवाप्रदायकहरूले त्यसो गरिरहेका हुन्छन्," चालिसे भन्छन्।
"अरू मन्त्रीले नबुझेर भनिरहेको हुन सक्छन्, उड्डयनमन्त्रीले त झन् त्यसो गर्नै हुन्न," उनले थपे।
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमका एकजना कप्तान विजय लामा पनि व्यक्तिविशेषले आफ्नो कारण अरूलाई ढिलो गराउनु "ठिक नभएको" बताउँछन्।

यो पनि पढ्नुहोस्

यद्यपि सेवाप्रदायक र सेवाग्राहीबीच राम्ररी सञ्चार नहुँदा पनि आक्रोश निम्तिने गरेको उनको बुझाइ छ।
"अर्काको कारण आफ्नो समय खेर गएपछि मान्छेमा आक्रोश उत्पन्न हुन्छ, चित्त बुझ्दैन। तर सेवाप्रदायकले नै राम्ररी बुझाउन सकेमा स्थिति साम्य बनाउन सकिन्छ।"
उडानमा ढिलाइले के असर पर्छ?
व्यक्तिविशेषका कारण उडानमा हुने ढिलाइले गर्दा अनेकौँ असर पर्ने विज्ञहरू बताउँछन्।
कप्तान लामाका अनुसार यदि सम्बन्धित जहाजको सो दिनको अन्तिम उडान होइन भने ढिलो गराइँदा सेवाप्रदायकले आर्थिक घाटा बेहोर्नुपर्ने हुन्छ।
त्यसमा सहमति जनाउँदै उड्डयनविज्ञ प्रभाकर अधिकारी थप्छन्, "एउटा उडानको समय पर धकेल्दा त्यसपछिका जहाजको समयतालिका प्रभावित हुन्छ। कर्मचारीले अतिरिक्त भत्ता दिनुपर्ने लगायतका कुरा हुन्छन्।"
त्यसबाहेक सम्बन्धित हवाई सेवाप्रदायकको छविमा नकारात्मक असर पर्ने अर्का उड्डयनविज्ञ कुमार चालिसेको ठम्याइ छ।
"सेवाग्राहीले यसो भन्न थाल्छन् - 'फलानो एअरलाइन्स त समयमै उडान गर्दैन। जसले सिट्ठी बजायो उसैका लागि रोकिदिँदोरहेछ'।"
साथै जहाजहरू समयमा नउड्दा आफूहरूको कार्यतालिका पनि प्रभावित हुने गरेको यात्रुहरूले गुनासो गर्ने गरेका छन्।
समाधान कसरी होला?
ठूलाबडाका कारण उडान समय पर धकेल्ने प्रवृत्तिलाई अन्त्य गर्नु नै समस्याको सही समाधान भएको विज्ञहरूको भनाइ छ।
"सबैभन्दा महत्त्वपूर्ण कुरा मन्त्री, नेता लगायतका विशिष्ट व्यक्तिहरूले आफ्नो आचरणमा सुधार गर्नुपर्यो," चालिसे सुझाउँछन्।
त्यसका साथै निर्धारित उडानको समयतालिकालाई कडिकडाउका साथ लागु गर्नुपर्ने उड्डयनविद् प्रभाकर अधिकारीको सुझाव छ।
हवाई सेवाप्रदायक कम्पनीहरूले यात्रुको हैसियतअनुसार नभई समान रूपमा व्यवहार गर्न थाले समस्याको तत्काल समाधान हुने कतिपयको भनाइ छ।
सामाजिक सञ्जालमा कस्तो चर्चा?
शनिवारको घटनालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्री भट्टराईको पक्ष र विपक्षमा मत राखिरहेका छन्।
घटनामा सेवाप्रदायकलाई दोषी देखाउँदै वैज्ञानिक डा. समीरमणि दीक्षितले ट्वीट गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2

"गल्ती त सरासर बुद्ध एअरलाई दिन्छु। सबै यात्रुसँग समान व्यवहार गर्नु उनीहरूको दायित्व हो र कुनै पनि पदका लागि एक घण्टा त के एक मिनट पनि कुर्न मिल्दैन। ढिलो हुने जोकोहीलाई छाडेर हिँड्ने पद्धतिको विकास गरौँ। भोलिदेखि कसैले ढिलो आउने हिम्मत नै गर्दैन।"
तर सेवाप्रदायकहरूप्रति व्यङ्ग्य गर्दै ट्विटरमै केदार सुवेदी लेख्छन्, "९९ प्रतिशत आन्तरिक उडानहरू समयमै हुन्थे, हिजो मन्त्रीले ढिला गरेर रेकर्ड बिगारिदिए।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3

डा. गोथे नामका प्रयोगकर्ताले हुलहुज्जत गर्नेहरूमाथि कारबाही हुनुपर्ने आशयको ट्वीट गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 4

उनी लेख्छन्, "...मन्त्री भट्टराईले १५ मिनेट ढिला भएकोमा माफी मागी सक्नुभएको छ। तर अब जहाजभित्र हुलहुज्जत गर्नेलाई कारबाही हुन्छ कि हुन्न?"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 5

पूर्वसचिव भीम उपाध्यायले लेखेका छन्, "नेपालमा आन्तरिक उडानमा एक घण्टाअघि रिपोर्टिङ टाइम दिइएको हुन्छ। रिपोर्टिङ टाइममा आइनपुग्ने यात्रुलाई एअरलाइन्सले छाडेर जान पाउने नियम हुने गर्छ।"

यो पनि हेर्नुहोस्






















