डढेलोको घटना बढेपछि अस्ट्रेलियाली राजधानी क्यानबेराको विमानस्थल बन्द

फाइल तस्बिर

तस्बिर स्रोत, Getty Images

Published

डढेलो फैलिएर नजिक आएपछि अस्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थल बन्द गरिएको छ।

संसद्‌ भवनबाट २० मिनेटको दूरीमा रहेको विमानस्थलका सबै उडानहरू रद्द गरिएका छन्।

बिहीवार तापक्रम बढेपछि दक्षिण र पूर्वका क्षेत्रहरूमा फेरि डढेलो फैलिएको अधिकारीहरूले बताएका छन्।

एउटा डढेलो नियन्त्रण गर्ने विमान पनि राजधानीबाट दुई किलोमिटर टाढा रहेको स्नोइ माउन्टेन्समा दुर्घटनाग्रस्त भएको छ।

हर्क्यूलिस सी-१३० विमानमा तीन चालक दलका सदस्य थिए। तीनैजना अमेरिकी नागरिक रहेको बताइएको छ।

दुर्घटनाको कारण थाहा नभएपनि सो विमान आगोको गोला बनेर डढेलो लागेको स्थानमा खसेको बताइएको छ।

"प्रारम्भिक सूचनाका अनुसार विमान खसेर दुर्घटनाग्रस्त भएको र दुर्घटनासँग ठूलो आगोको गोलाको सम्बन्ध रहेको भन्ने छ," अधिकारीले बताए।

क्यानबेरा विमानस्थल

तस्बिर स्रोत, Getty Images

न्यू साउथ वेल्स रुरल फायर सर्भिसले बिहीवार दिउँसो एउटा ठूलो हवाई ट्याकङ्करसँग सम्बन्ध टुटेको पुष्टि गरेको छ।

न्यू साउथ वेल्समा १०० भन्दा बढी डढेलोहरू बलिरहेको बताइएको छ।

क्यानबेरामा भने दुईवटा डढेलो विमानस्थल नजिकै आइपुगेपछि अधिकारीहरूले मानिसहरूलाई विमानस्थलबाट टाढै रहन सुझाव दिएका छन्।

अस्ट्रेलियाको संसद् भवन अगाडि देखिएको वायु प्रदुषण

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अस्ट्रेलियाको संसद् भवन अगाडि देखिएको वायु प्रदुषण

अधिकारीहरूका अनुसार बुधवार शुरू भएका डढेलोहरू बढेर विमानस्थलको क्षेत्रमा आइपुग्न लागेको बताएका छन्।

सिड्नी र मेलबर्नको बीचमा रहेको क्यानबेराको सीमा क्षेत्रमा ठूला डढेलोहरू हप्तौँदेखि सकृय छन्।

डढेलोको जोखिम फेरि बढ्यो

गएको सेप्टेम्बरदेखि अस्ट्रेलियामा लागेको डढेलोका कारण ३० जनाको मृत्यु भइसकेको छ।

त्यहाँ एक करोड हेक्टरभन्दा बढी क्षेत्रलाई डढेलोले विनाश गरेको छ।

हालैका दिनमा भएको वर्षाका कारण डढेलोको सङ्ख्या आधा भएको छ।

तर अग्नि नियन्त्रण अधिकारीहरूले थोरै वर्षाले अल्पकालीन समाधान मात्रै दिने र जोखिमपूर्ण अवस्था फर्कने बताएका छन्।

सिड्नीमा बिहीवार तापक्रम ४० डिग्री सेल्सीअस पुगेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, आपत्‌काल ल्याउने अस्ट्रेलियाको डढेलो