ह्वावेइ प्रमुख मङ्ग वान्जूको अमेरिका सुपुर्दगीबारे क्यानडामा सुनुवाइ शुरू

मङ्ग वान्जू

तस्बिर स्रोत, AFP

Published

क्यानडाको अदालतमा चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेईकी कार्यकारी प्रमुख मङ्ग वान्जूलाई अमेरिका सुपुर्दगी गर्ने बारेको मुद्दामा सुनुवाइ भइरहेको छ।

मङ्गले गोली प्रतिरोधी सिसा पछाडिबाट हेरिरहँदा उनका वकिल रिचर्ड पेकले उनको सुपुर्दगी गरिनुपर्ने आधारहरू नभएको जिकिर गरेका छन्।

अमेरिकामा ठगी र इरानविरुद्धको प्रतिबन्धको अवज्ञा गरेको आरोप खेपिरहेको ह्वावेईका संस्थापककी छोरी मङ्गको गिरफ्तारीका कारण वासिङ्टन र बेइजिङबीचको सम्बन्ध चिसो भएको छ।

पेकले क्यानडाले इरानमाथि प्रतिबन्ध नलगाएकोले मङले क्यानडाको कानुनको अवज्ञा नगरेको तर्क गरे।

सोमबार भ्यानकुभरस्थित अदालत आउने जाने क्रममा ४७ वर्षीय मङ्गले भने कुनै प्रतिक्रिया जनाइनन्।

कारण

इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धको अवज्ञा गरेको लगायतका विषयमा अमेरिकाले मङ्गलाई आफ्नो देशमा ल्याएर मुद्दा चलाउन चाहन्छ।

सन् २०१८ मा क्यानडामा पक्राउ परेकी मङ्गले भने गलत काम नगरेको बताउँदै आएकी छन।

ह्वावेईकी उच्च अधिकारीसम्बन्धी सो मुद्दालाई क्यानडा, अमेरिका र चीनले चासोका साथ हेरिरहेको छ।

ह्वावेई

तस्बिर स्रोत, Reuters

यसैबीच ह्वावेईले भने "मङ्गको न्याय र स्वतन्त्रताको खोजीमा" साथ दिने बताएको छ।

अदालती कारबाही चलिरहेका बेला सामाजिक सञ्जालमा राखिएको एउटा भिडिओमा ह्वावेईले क्यानडाको न्यायिक प्रणालीमाथि विश्वास रहेको र त्यसले मङ निर्दोष रहेको प्रमाणित गर्ने बताएको छ।

पहिलो चरणको सुनुवाइ ज्यानुअरी २० देखि २४ सम्म हुने तय गरिएको छ।

अमेरिकाले मङ्गमाथि लगाएको आरोपलाई क्यानडामा पनि अपराधका रूपका हेरिन्छ कि हेरिँदैन भन्ने विषयमा अदालतले सुनुवाइ गर्नेछ।

को हुन् मङ्ग वान्जू?

मङ्ग वान्जू

तस्बिर स्रोत, Reuters

मङ्ग वान्जू चीनको अग्रणी टेलिकम कम्पनी ह्वावेइकी आर्थिक मामिलासम्बन्धी प्रमुख र सोही कम्पनीका संस्थापककी छोरी हुन्।

ह्वावेइ सञ्चार सामग्री र सेवा प्रदान गर्ने संसारकै सबैभन्दा ठूलो कम्पनी हो।

हालै मात्र उसले एप्पल कम्पनीलाई उछिनेर स्मार्टफोन उत्पादनमा सामसङपछि विश्वकै दोस्रो ठूलो कम्पनी बनेको छ।

मङ्ग सन् २०१८ को डिसेम्बर १ मा भ्यानकुभरबाट पक्राउ परेकी थिइन्। त्यो दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिन्पिङ्बीच जी२० सम्मेलनको अवसरमा आर्जेन्टिनामा दुईपक्षीय व्यापारबारे कुराकानी हुँदै थियो।

उनीहरूले व्यापारिक तनाव कम गर्न एक उल्लेख्य सम्झौता पनि गरेका थिए। तर उनको पक्राउ लगत्तै चीनले आक्रोशपूर्ण प्रतिक्रिया दिएको थियो।