नेपाली रेल फागुनमा चल्ने, चालक र प्राविधिक भने भारतीय ‍

रेलमार्ग

तस्बिर स्रोत, Pradeep Bashyal/BBC

Published

जनकपुरदेखि भारतको जयनगरसम्म रेल फागुनको पहिलो सातासम्ममा सुरु गरिसक्ने योजना रेल विभागको रहेको अधिकारीहरूले बताएका छन्।

त्यसका लागि पहिलो रेल माघको दोस्रो सातासम्म आइपुग्ने र ३० देखि ३५ जना भारतीय प्राविधिक नियुक्त गर्ने कार्य योजना अघि बढाइएको विभागले बताएको छन्।

रेलचालक, सह-चालकदेखि अधिकांश प्राविधिकहरूमा भारतीय कर्मचारी रहने र व्यवस्थापकीय कर्मचारी भने नेपाली नै रहने रेल विभागको भनाइ छ।

रेल सञ्चालनमा नेपालको अनुभव कम रहेको र पछिल्ला वर्षहरूमा प्रविधि पनि परिष्कृत भएको हुँदा केही समयका लागि भारतीय प्राविधिक तथा चालक राखिने विभागका महानिर्देशक बलराम मिश्रले बताए।

दुई रेल

करिब ३४ किलोमिटर लामो रेलमार्ग सञ्चालन गर्न नेपालले भारतीय कम्पनी कोनकन रेल्वेज कर्पोरेसनसँग दुई वटा रेल खरिद गर्दैछ।

झन्डै ८५ करोड रुपैयाँमा ती रेल खरिद गर्न लागिएको हो।

सम्झौता अनुरूप पहिलो रेल आगामी दुई हप्तामा आउने र त्यसको करिब दुई महिनामा अर्को रेल आउने मिश्रले जानकारी दिए।

कोनकनले रेल सञ्चालनका लागि करिब १०० जना भारतीय कर्मचारीको आवश्यकता देखाउँदै प्रस्ताव अघि बढाए पनि विभागले भने ३० देखि ३५ जना भारतीय लिने गरी तयारी गरिरहेको बताएको छ।

रेलमार्ग

तस्बिर स्रोत, Pradeep Bashyal/BBC

"रेल सञ्चालनका प्राविधिक कर्मचारी लिन खोजेका हौँ। काम गर्न सक्ने वा काम छिट्टै सिक्न सकिने क्षेत्रमा नेपाली नै रहने छन्," मिश्रले भने।

"भारतीयहरूलाई सुरुमा एक वर्षको करार सेवामा लिने तयारी गर्दैछौँ।"

उनीहरूले नेपाली कर्मचारीहरूलाई क्रमिक रूपमा काम सिकाउँदै जाने बताइएको छ।

त्यसपछि आवश्यकता अनुसार चाहिने कर्मचारी राख्ने र अन्यलाई हटाउने विभागको योजना छ।

नेपालसँग कोइलाबाट चल्ने 'न्यारोगेज' रेल मात्रै चलाएको अनुभव छ र अहिले चलाउन लागिएको 'ब्रोडगेज' रेलबारे नेपालसँग अनुभव छैन।

सुरुवात

रेल

तस्बिर स्रोत, DEPARTMENT OF RAIL

जनकपुरबाट करिब पाँच किलोमिटर पर रहेको कुर्थाबाट भारतको जयनगरसम्म चल्ने रेल फेब्रुअरीको अन्त्यसम्ममा सञ्चालनमा आउने विभागका अधिकारीहरू बताउँछन्।

गत डिसेम्बरदेखि नै रेल सञ्चालनमा ल्याउने गरी तयारी गरिए पनि मनसुनका कारण बाढीले झन्डै डेढ सय मिटर लिक बगाएको कारण सञ्चालन मिति धकेलिएको थियो।

"पुननिर्माणको काम लगभग सकिएको छ," मिश्रले भने।

"सञ्चालनका लागि आवश्यक कानुन पनि निर्माण हुँदैछ। हाल राष्ट्रिय सभामा छलफलका क्रममा रहेको विधेयक पारित हुनासाथ अन्य काम पनि अघि बढ्छ।"

Map
Presentational white space

जनकपुर जयनगर रेलमार्गका साइट इन्जिनियर विनोद ओझाका अनुसार पुननिर्माण काम लगभग १० दिनमा सम्पन्न हुनेछ।

"माटो भर्ने काम अन्तिम चरण पुगेको छ। त्यो सकिएपछि रेलका लागि पुल बनाउने छौँ," ओझाले भने।

Presentational grey line

यस्ता छन् खरिद गर्न लागिएका रेलका विशेषता

  • मध्यम दूरीका लागि उपयुक्त मानिन्छ।
  • प्रतिघण्टा १०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ।
  • डिजेल इन्जिनबाट बिजुली उत्पन्न हुन्छ र त्यसबाट रेलमा हुने ट्र्याक्शन मोटर चल्छ।
  • ड्राइभिङ पावर कार, ट्रेलर कार र ड्राइभिङ ट्रेलर कार गरी एउटा ट्रेन सेटमा पाँचवटा कार हुन्छन्। अर्थात् बोलीचालीको भाषामा भन्नुपर्दा एउटा ट्रेन सेटमा पाँचवटा डिब्बा हुनेछन्।
  • अगाडि र पछाडि दुईतिर बाटै गुडाउन मिल्ने भएकोले फर्काउनुपर्ने झन्झट हुँदैन।
  • एसीजडित एउटा कोच पनि हुनेछ, जसमा ५० देखि ६० जना विशिष्ट व्यक्तिले यात्रा गर्न सक्नेछन्।
Presentational grey line

यस्तो हुने छ रेल

रेलको रङ्ग नेपालले भनेअनुसार हुने अधिकारीहरूले जनाएका छन्।

रेलमा नेपालको राष्ट्रिय झन्डा हुने बताइएको छ। एउटा रेलमा पाँच वटा यात्रु 'डब्बा' हुने छ।

उभिएर र बसेर करिब १२ देखि १३ सय यात्रु रेलमा सवार हुन सक्ने मिश्रले जानकारी दिए।

सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारका अनुसार कुर्थादेखि जयनगरसम्म आठवटा स्टेशन हुनेछ।