धनुषामा 'टिपरले किचेर युवकको हत्या गरिएको' प्रहरीको आशङ्का

धनुषा जिल्लाको मिथिला नगरपालिकाको श्रीपुरटोलसँगै रहेको औरही खोलामा बालुवा र गिटीको अवैध उत्खनन रोक्न गएका युवकको हत्या गरिएको हुन सक्ने प्रहरीले बताएको छ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार शुक्रवार बिहान अवैध उत्खनन भइरहेको बेला दिलीपकुमार महतो साथी रोशन यादवसहित खोलामा पुगेर रोक्न खोजेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा अनुसार २६ वर्षीय महतो र उत्खनन गर्ने व्यक्तिहरूबीच विवाद हुँदा टिपरले किचेर उनको हत्या गरिएको देखिएको प्रहरी निरीक्षक यादवले जनाए।
बिहान करिब सवा चार बजे घटना भएलगतै घटनास्थल पुगेका प्रहरी निरीक्षक यादवका अनुसार महतोको 'टाउको दुई टुक्रा भएको अवस्थामा' अस्पताल पठाइएको थियो।
चालकको बयान आउन बाँकी
उनले भने, "हत्यामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिएका छौँ।"
चालकलाई समेत नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
प्रहरी निरीक्षक यादवका अनुसार चालक ३४ वर्षीय मुनीन्द्र महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको छ। तर उनले शुक्रवार दिउँसोसम्म बयान दिएका छैनन्। अनुसन्धानको क्रममा महतोसँगै गएका साथी रोशन यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

घटना भएलगत्तै घटनास्थलमा पुगेका मिथिला नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष श्यामबाबु यादवका अनुसार "बिहान कुहिरो लागेकाले केही पर रहेका रोशनले समेत राम्ररी हेर्न नसकेको" बताएका थिए।
श्रीपुर टोलसँगै रहेको चुरियामाई बालुवा प्रशोधन केन्द्र केही वर्षदेखि त्यहाँ सञ्चालनमा रहेको छ। दिनमा बालुवा प्रशोधन गरेको देखिएपनि राति अवैध रूपमा उत्खनन गरी नदीजन्य वस्तु झिक्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ।
भारतबाट घर फर्किएका विद्यार्थी
नदीमा भइरहेको उत्खननले बस्तीमा समेत गम्भीर प्रभाव पर्ने भन्दै दिलीपकुमार महतो र रोशन यादव शुक्रवार बिहान त्यस क्षेत्रमा टिपर रोक्न गएको बताइएको छ।
भारतमा इन्जिनियरिङ अध्ययन गरिरहेका महतो १५ दिनअघि घर फर्किएका थिए।
बहिनी लक्ष्मीका अनुसार महतो बिहान करिब चार बजे रोशन यादवले घरबाट बोलाएर लगेका थिए।
"दाइको पहिले हत्या गरिएको र त्यसपछि टिपरले किचिएको जस्तो देखाइएको छ," लक्ष्मी महतोले भनिन् , "मुचुल्का नै नगरी प्रहरीले हतारहतार शव अस्पताल पठाएकाले पनि त्यसको पुष्टि हुन्छ।"


घटनास्थलमा वडाअध्यक्ष, रोशन यादव र प्रहरी रहेको उनले बताइन्।
उनले भनिन्, "मेरो दाइको दुर्घटनामा मृत्यु भएको होइन, नियोजित रूपमा नै हत्या गरिएको हो।"
प्रहरी निरीक्षक यादवले पनि घटनास्थलको अवस्था हेर्दा दुर्घटना हुने स्थिति नदेखिएको बताए।
त्यहाँ दुबै पक्षबीच वादविवाद भइरहेको खबर पाउनासाथ वडाअध्यक्ष यादवले प्रहरी निरीक्षक यादवलाई फोन गरेर घटनास्थलमा बोलाएका थिए। आफूहरू त्यहाँ पुग्दा महतोलाई गाडीले किचेपछि रगत बगिरहेको प्रहरीको भनाइ छ।
"घटनास्थलमा पुग्नासाथ घाइते महतोलाई उपचारका लागि एम्बुलेन्समा प्रादेशिक अस्पताल जनकपुर पठाइयो," प्रहरी निरीक्षक यादवले भने, "तर त्यहाँ पुग्दा उनको मृत्यु भइसकेको थाहा पाएँ।"
अश्रुग्यास प्रहार
घटना भएलगतै आक्रोशित बनेका स्थानीय बासिन्दाहरुले पूर्वपश्चिम राजमार्गको ढल्केबर चोकभन्दा झन्डै तीन किलोमिटर पूर्व अवरुद्ध गरेका थिए। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको जनाएपछि अवरुद्ध सडक मध्याह्न खुल्यो।
प्रहरीले राजमार्ग खुलाउन १० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो।
मृतकको शव प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ। पीडितका आफन्तहरुले क्रशर सञ्चालकलाई पक्राउ गरी कारबाही अगाडि बढाउन माग गरेका छन्।
उनीहरूले महतोको घटनास्थलमा नै मृत्यु भइसकेको अवस्थामा घटनास्थलको मुचुल्का नै नगरी शव अस्पताल पठाएको भन्दै प्रहरीको आलोचना गरेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रमेशकुमार बस्नेतले टिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको बताए। मृतकका आफन्तहरुको सहयोगमा शवपरीक्षणको प्रक्रिया सुरु गरिने उनले बताए।




















