किताब चोर्न खोजेको आरोप लागेपछि राजदूतको राजीनामा

किताब

तस्बिर स्रोत, Getty Images

Published

आर्जेन्टिनाका लागि मेक्सिकोका राजदूतले चोरीसम्बन्धी नयाँ आरोप लागेपछि पदबाट राजीनामा दिएका छन्।

यसअघि पसलबाट एउटा पुस्तक किन्न खोजे जस्तो गरी चोर्ने प्रयास गरिरहेको उनको भिडिओ सार्वजनिक भएको थियो।

सतहत्तर वर्षीय रिकार्डो भलेरोले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएको बताएका छन्।

मेक्सिकोका विदेशमन्त्रीले भलेरोको स्नायुरोगसम्बन्धी उपचार भइरहेको बताएका छन्।

फिर्ता

पैसा नतिरी ब्वेनस आइरिजस्थित एउटा पसलबाट पुस्तक लग्दै गरेको सीसीटीभीमा देखिएपछि यसै महिना उनलाई फिर्ता बोलाइएको थियो।

अहिले आएर उनीमाथि विमानस्थलमा रहेको एउटा पसलबाट कमिज चोर्ने प्रयास गरेको आरोप लागेको छ।

गत अक्टोबर महिनामा एल एटिनिओ ग्र्यान्ड स्प्लेन्डिडको दराजबाट एउटा पुस्तक टिपेर पसलबाट निस्किन लाग्दा त्यो पुस्तक पत्रिकामा बेरिएको पाइएपछि त्यसबारे समाचार प्रकाशित भएको थियो।

दश अमेरिकी डलर पर्ने त्यो पुस्तक जाकोमो कासानोभाको आत्मवृत्तान्त भएको बताइन्छ।

इटालीका जाकोमो १८ औँ शताब्दीका लेखक, सैनिक र साहसिक कामका लागि परिचित गुप्तचर थिए।

घटनापछि राजदूत भलेरोले कूटनीतिक उन्मुक्तिका लागि अपील गरे र त्यो मुद्दालाई अगाडि बढाइएन।

उपचार

तर त्यससम्बन्धी भिडिओ सार्वजनिक भएपछि मेक्सिकोको विदेश मन्त्रालयले उनलाई फिर्ता बोलायो।

पछिल्लो पटक भलेरोले मेक्सिकोका लागि विमान चढ्नुअघि ब्वेनस आइरिजको एजेइजा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एक पसलबाट एउटा कमिज चोर्न खोजेको आरोप लागेको छ।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

मेक्सिकोको विदेश मन्त्रायले आइतवार उनको राजीनामा स्वीकृत गरेको हो।

मेक्सिकोका विदेशमन्त्रीले आफ्नो ट्विटरमा लेखेका छन्, "रिकार्डो भलेरो एक महान् व्यक्ति हुन्, उनी स्नायुसम्बन्धी समस्याको उपचार गराइरहेका छन् र म उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु।"

ब्रेन ट्यूमर भएर बाँच्न सफल भएका भलेरोको आनीबानीलाई चिकित्सकहरूले सन् २०१३ देखि नै नियाल्दै आएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।