फ्लोरिडामा अमेरिकी नौसैनिकमाथि भएको आक्रमण आतङ्कवादी स्वरूपको: एफबीआई

घटनामा ज्यान गुमाएका एर्मन मोहम्मद समिइ (बायाँ) र जोस्वा कलिब वाट्सन (बायाँ)

तस्बिर स्रोत, US Navy Photo

तस्बिरको क्याप्शन, घटनामा ज्यान गुमाएका मोहम्मद समिइ (बायाँ) र जोस्वा कलिब वाट्सन (बायाँ)
Published

शुक्रवार अमेरिकाको फ्लोरिडास्थित नौसैनिक शिविरमा भएको हिंसक घटनालाई आतङ्कवादी आक्रमणका रूपमा हेरिएको सङ्घीय जाँच ब्यूरो एफबीआईले जनाएको छ।

त्यहाँको पेन्सकोला क्षेत्रमा प्रशिक्षण लिइरहेका एक साउदी सैनिकले आफू मारिनुअघि तीन नौसैनिकहरूको हत्या गरेका थिए।

विशेष अनुसन्धानकर्ता राचेल रोजासले त्यस्तो आक्रमण एक्लै वा सङ्गठित कस्तो रूपमा भएको थियो भनेर एफबीआईले बुझिरहेको बताएकी छन्।

उनले अन्य साउदी प्रशिक्षार्थीसँग सोधपुछ गरिए पनि कसैलाई पक्राउ नगरिएको बताएकी छन्।

घटनापछि सबै साउदी प्रशिक्षार्थीहरूलाई शिविरमा भेला पारिएको र उनीहरूले अनुसन्धानकर्ताहरूलाई सघाएको बताइएको छ।

उक्त आक्रमणमा ज्यान गुमाउने नौसैनिकहरू १९ देखि २३ वर्ष उमेरका छन्।

अमेरिकी जलसेनाले 'ज्यान गुमाउने सैनिकहरूले दुर्लभ साहस' देखाएको जनाएको छ।

आइतवारको पत्रकार सम्मेलनमा विशेष अनुसन्धानदाता रोजासले भने अहिलेसम्मको जाँचबारे केही खुलाइनन्।

२१ वर्षे बन्दुकधारी मोहम्मद अल्सामरानीले प्रक्रिया पुर्‍याएरै बन्दुक किनेका थिए।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, २१ वर्षीय बन्दुकधारी मोहम्मद अल्सामरानीले प्रक्रिया पुर्‍याएरै बन्दुक किनेका थिए

यद्यपि उनले ती २१ वर्षीय बन्दुकधारी मोहम्मद अल्सामरानीले प्रक्रिया पुर्‍याएरै बन्दुक किनेको बताएकी थिइन्।

त्यो एउटा नौ मिलिमिटरको हाते बन्दुक थियो।

घटनाक्रम

एउटा अन्लाइन निरीक्षणकर्ता समूहका भनाइमा अल्सामरानीजस्ता देखिने एक ट्विटर प्रयोगकर्ताले बन्दुक आक्रमण हुनुअघि शृङ्खलाबद्ध रूपमा अमेरिकाविरोधी पोस्टहरू लेखेका थिए।

अमेरिकी सञ्चारमाध्यममा जनाइएअनुसार साताको सुरुमा साँझको खाना खाने बेला गोलीकाण्डका भिडिओहरू अरूलाई देखाएका थिए।

पेन्सकोलाको उक्त सैन्य अड्डाले लामो समयदेखि विदेशी सेनाहरूलाई उड्डयन तालिम दिनेगर्छ।

पेन्सकोलास्थित अमेरिकी नौसैनिक अखाडा

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, पेन्सकोलास्थित अमेरिकी नौसैनिक अखाडा

सन् १९९५ यता साउदी विमानचालकहरूले त्यहाँ इटली, सिङ्गापुर र जर्मनीका अधिकारीहरूसँग तालिम लिने गरेका थिए।

त्यहाँ २०० अन्तर्राष्ट्रिय प्रशिक्षार्थीहरू भर्ना भएका छन्।

उक्त शिविरको वेबसाइटअनुसार त्यहाँ १६,००० सेना र ७,४०० गैरसैनिक कार्यरत छन्।

अल्सामरानी साउदी वायुसेनामा सेकन्ड लेफ्टेनन्ट थिए।

साउदी-अमेरिका सम्बन्धमा असर पार्ला?

साउदी अरब मध्यपूर्वमा अमेरिकाको मुख्य साझेदार हो।

राष्ट्रपति ट्रम्पले उक्त घटनापछि साउदी राजाले आफूलाई फोन गरेको बताएका छन्।

साउदी राजालाई उद्धृत गर्दै भनिएको छ: मारिने योद्धाहरूका परिवार र साथीहरूप्रति गहिरो समवेदना छ।

अमेरिकी सैन्य विद्यालय र अन्य केन्द्रमा प्रशिक्षण लिने विदेशीमध्ये १६ प्रतिशत साउदी अरबका हुने गरेका छन्।

बीबीसीका रक्षा संवाददाता जनथन मार्कसका भनाइमा पेन्सकोला आक्रमणले प्रशिक्षार्थी छनोट गर्दा हुने परीक्षणबारे प्रश्न उठाएको छ।

उनका अनुसार साउदी पत्रकार जमाल खशोग्जी प्रकरणमा जस्तै यस घटनालाई ट्रम्पले धेरै महत्त्व दिन नखोजेको देखिन्छ।

आइतवार अमेरिकी रक्षामन्त्री मार्क एस्परले अमेरिकामा रहेका विदेशी सैनिलकले तालिम लिने सबै शिविरहरूलाई भर्ना प्रक्रिया र कार्यक्रमको समीक्षा गर्न आदेश दिएका छन्।