मानवतस्करी गर्न 'रुस र फिनल्यान्डको नक्कली सीमा'

रुस-फिनल्यान्ड

तस्बिर स्रोत, Getty Images

Published

रुसमा एक व्यक्तिलाई नक्कली सीमा चौकी बनाएर मानवतस्करी गर्न खोजेको आरोपमा पक्राउ गरिएको छ।

चार आप्रवासीलाई फिनल्यान्ड पुगेको आभास गराउन उनले नक्कली चौकी बनाएको बताइएको छ।

त्यहाँ पुगेपछि ती चार जनाले आफू युरोपेली सङ्घअन्तर्गत रहेको देश फिनल्यान्ड आइपुगेको भन्ठानेका थिए।

तर उनीहरूलाई सीमावर्ती भीबोर्ग नगरस्थित दलदल भएको एउटा जङ्गलमा छोडेर ती व्यक्ति एक्लै हिँडेका थिए। रुस र फिनल्यान्डबीच १,३४० किलोमिटर लामो सीमा छ।

दक्षिण एशियाली

फिनल्यान्ड जान खोज्ने आप्रवासीहरू दक्षिण एशियाली भएको बुझिएको छ। तर उनीहरू कुन देशका नागरिक हुन् त्यो खुलाइएको छैन।

रुसी सुरक्षाकर्मीले फेला पारेपछि ती चार आप्रवासीले बल्ल आफू अझै रुसी भूमिमै भएको थाहा पाए।

ती सन्दिग्ध मानवतस्करले प्रत्येक व्यक्तिसँग ११,००० डलरभन्दा बढी रकम लिएको बताइएको छ।

Presentational grey line
Presentational grey line

रुसी सुरक्षानिकायले चार आप्रवासीसहित उनलाई नोभेम्बर २८ मा नियन्त्रणमा लिएको थियो।

बुधवार सेन्ट पिटर्सबर्गको एउटा अदालतले अध्यागमनसम्बन्धी नियम उल्लङ्घन गरेको ठहर गर्दै ती चार जनालाई जरिबाना गरेको थियो।

जालसाजीको मुद्दा

मानवतस्करीको आरोप लागेका व्यक्तिलाई जालसाजीसम्बन्धी गम्भीर अभियोग लगाइएको छ। उनी हिरासतमा छन्।

उनको मुद्दामा सुनुवाइ हुन बाँकी नै छ।

रुसी सामाजिक सञ्जालमा प्रेषित भिडिओमा ती व्यक्तिहरूलाई पक्राउ गरिएको देखिन्छ।

उनीहरूलाई जङ्गलको अँध्यारोमा हात उठाएर उभिएको देखिन्छ।

भिडिओमा एफएसबी भनिने सुरक्षा निकायका अधिकारीहरूले उनीहरूमा टर्च बालेर प्रकाश पारिरहेको देखिन्छ।