विवादित क्षेत्रबाट भारतीय सेना फिर्ताको माग गर्दै बेलायतमा प्रदर्शन

बेलायत प्रदर्शन

तस्बिर स्रोत, Courtesy: Everest Gautam/London

Published

गैरआवासीय नेपाली संघको आह्वानमा बेलायतस्थित प्रवासी नेपालीहरूले कालापानी लगायतका क्षेत्रबाट भारतीय सेना फिर्ता लैजानुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

गैर आवासीय नेपाली संघ युके शाखाको आयोजनमा लन्डनस्थित भारतीय उच्चायुक्तको कार्यालय बाहिर सोमवार दिउँसो विरोध प्रदर्शन गरिएको छ।

भारतले चीनसंगको सीमामा पर्ने रणनीतिक महत्त्वको उक्त क्षेत्रलाई लामो समयदेखि आफ्नो नियन्त्रणमा राखेकोले दबाब दिन उक्त विरोध प्रदर्शन आयोजन गरिएको गैर आवासीय नेपाली संघ युकेका महासचिव फडिण्द्र भट्टराईले बीबीसी नेपाली सेवालाई बताए।

विरोध

गैर आवासीय नेपाली संघले संसारभरी रहेका उसका ८० भन्दा बढी शाखाहरूलाई, उसकै शब्दमा, भारतीय अतिक्रमणको विरोध गर्न भनेको छ।

यसअघि जापान, जर्मनी, बेल्जियम, स्विट्जरल्याण्ड लगायतका मुलुकमा पनि प्रवासी नेपालीहरूले त्यहाँस्थित भारतीय कूटनीतिक नियोगहरू सामु विरोध जनाएका थिए।

त्यस्तै सन् २०१५ को भूकम्पपछि भारतले नेपालविरुद्ध एकपक्षीय नाकाबन्दी लगाएपछि संसारभरी रहेका प्रवासी नेपालीहरूले स्वतस्फूर्तरुपमा विरोध जनाएका थिए।

तर कतिपय आलोचकले भने कूटनीतिक माध्यमबाट समाधान गरिनु पर्ने सीमा विवादजस्तो विषयलाई अन्तर्राष्ट्रिय प्रचारको विषय बनाउन नहुने बताउँदै आएका छन्।