साइबेरियाको १८ हजार वर्ष पुरानो 'कुकुर'ले वैज्ञानिकहरू रनभुल्ल

साइबेरियामा भेटिएको १८,००० वर्ष पुरानो 'कुकुर'

तस्बिर स्रोत, Love Dalen

Published

अध्ययनकर्ताहरू साइबेरियामा भेटिएको १८ हजार वर्ष पुरानो छाउरो कुकुर या ब्वाँसो के हो भन्ने प्रश्नले रनभुल्लमा परेका छन्।

रूसको सबैभन्दा चिसो स्थानमा मृत्यु हुँदा दुई महिनाको रहेको छाउरोको शरीर रौं, नाक र दाँत जस्ताको तस्तै रहेको छ।

सो छाउरोको डीएनए परीक्षणबाट समेत यसको प्रजाति छुट्टिन नसकेको बताइएको छ।

छाउरो

तस्बिर स्रोत, Sergey Fedorov

वैज्ञानिकहरूले हिउँका कारण नकुहिएको जीव ब्वाँसो र कुकुरबीचको सम्बन्धको प्रतिबिम्ब हुनसक्ने बताएका छन्।

रेडिओकार्बन प्रविधिबाट छाउरोको मृत्यु हुँदाको उमेर र कति समय यो हिउँमा रह्यो भन्ने कुरा पत्ता लागेको हो।

छाउरो भाले भएको पनि पत्ता लागेको छ।

छाउरो

तस्बिर स्रोत, Sergey Fedorov

स्वीडेनका अध्ययनकर्ता डेभ स्टान्टनले सीएनएनलाई डीएनए परीक्षणमा देखिएको अन्यौलले यो छाउरो कुकुर र ब्वाँसो दुवै प्रजातिको साझा पुर्खा प्रजातिको हुनसक्ने बताएका छन्।

अर्का अध्ययनकर्ता लभ डालेनले त्यो ब्वाँसोको छाउरो हो या हालसम्म भेटिएको सबैभन्दा बूढो कुकुर भन्ने प्रश्न गर्दै ट्वीट गरेका छन्।

वैज्ञानिकहरूको डीएनएको परीक्षण जारी राख्ने बताएका छन्।

त्यो मृत छाउरोलाई डगर नाम दिइएको छ जसको स्थानीय भाषामा साथी अर्थ हुन्छ।

कुकुरहरू ब्वाँसोको पुस्ता भएको मानिएपनि कहिलेदेखि यसलाई घरपालुवा बनाइयो भन्ने विवाद छ।

सन् २०१७ मा प्रकाशित एक अध्ययनले २० देखि ४० हजार वर्ष पहिले ब्वाँसोलाई घरपालुवा बनाउन थालिएको दाबी गरेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, महँगो कुकुर पाल्ने सोख