धानबाली लगाउँदादेखि बजार पुर्‍याउँदासम्म किसानका गुनासै गुनासा

धानको कुनियो
    • Author, उमाकान्त खनाल
    • Role, बीबीसी न्यूज नेपाली, झापा
  • Published

धानबाली लगाउन सुरु गर्दादेखि बाली थन्क्याएर विक्री गर्दासम्म कतै सन्तोष गर्न सकिने ठाउँ नरहेको किसानहरूले बताएका छन्।

कृषिप्रधान देश भनिए पनि अन्नबाली लगाउँदादेखि बाली भित्र्याउँदासम्म सन्तोषको साटो पीडा बढी भएको उनीहरूको भनाइ छ।

नेपालका अधिकांश क्षेत्रमा अहिले किसानहरू धमाधम धानबाली भित्र्याइरहेका छन्।

तर बाली भित्र्याएदेखि व्यापारीको गोदामसम्म धान पुर्‍याउँदा किसान खुशी देखिनुपर्नेमा उनीहरूको अनुहारमा पीडाको भाव देखिन्छ।

बीउको समस्या

असारदेखि भदौ महिनाको मध्यसम्म किसानले खेतमा धान रोप्छन्।

त्योभन्दा करिब महिनाअघि देखि उनीहरू बीउको खोजीमा हुन्छन्।

कतिपयले आफ्नै ढुकुटीमा धानको बीउ जोहो गरेका हुन्छन् भने कतिपय चाहिँ कृषि सामग्री संस्थान, कृषि सहकारी तथा कृषि ज्ञान केन्द्रमा उन्नत जातको बीउको खोजीमा जाने गर्छन्।

तर कतिपय अवस्थामा उन्नत जातका भनिएकै धानका बीउमा पनि समस्या आउने गर्छ।

यसै वर्ष पनि देशका विभिन्न स्थानमा विभिन्न सहकारी संस्थाद्वारा वितरित गरिमा जातको धानमा बाला नलागेर किसान मर्कामा परेका विवरणहरू सार्वजनिक भएका छन्।

नेपालमा रञ्जित, मन्सुली, बासमती, कालो नुनियालगायत विभिन्न स्थानीय तथा उन्नत जातका धानको बीउ प्रचलनमा छन्।

धानबाली विज्ञ डा. भोलामानसिंह बस्नेतका अनुसार ठाउँ अनुसार धानको बीउ छनोट र गुणस्तरमा ध्यान दिन नसक्दा उत्पादनमा ह्रास आउने गरेको छ।

उनले भने, "कुन धान कसरी, कुन स्थानमा लगाउने भनेर विज्ञले सुझाव दिनुपर्ने हो, तर हाम्रा विज्ञ किसानसम्म पुग्दै पुग्दैनन्।"

सिँचाको असुविधा

झापाको कचनकवल गाउँपालिका-६ बनियानीका किसान लक्ष्मीप्रसाद नेपालको तीन बिघा जमिनमा लगाएको धानबालीलाई सिँचाइ पुर्‍याउन निकै गाह्रो भयो।

म्याग्दीमा धान काट्दै महिला

तस्बिर स्रोत, RSS

धन्न मनग्गे वर्षा भएकाले उनले धानबाली भित्र्याउन पाए। तर परिस्थिति सधैँ त्यस्तो नहुने उनको भनाइ छ।

सिँचाइ विभागका अनुसार नेपालको कुल खेतीयोग्य जमिन २६ लाख ४१ हजार हेक्टर छ।

त्यसमध्ये १७ लाख ६६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउन सकिने भए पनि अहिलेसम्म १४ लाख ७० हजार हेक्टर जमिनमा मात्र सुविधा पुर्‍याउन सकिएको विभागले जनाएको छ।

धानबाली विज्ञ बस्नेतका अनुसार सिँचाइ सुविधा नपुगे धानबाली सुध्रने अवस्था हुँदैन।

जनशक्ति अभाव

झापामा धान सुपरजोन कार्यक्रम सञ्चालन भएको कचनकवल गाउँपालिकामा खेती गर्नेहरूमा अधिकांश प्रौढ रहेका किसान लक्ष्मीप्रसाद नेपालले बताए।

उनी पनि ७० वर्ष कटिसकेका छन्। उनले भने, "काम गर्ने जवानहरू गाउँमा छैनन्। हामी बूढाबूढीले कति दिन थेग्नु खेती? अब त काम गर्न सक्न छोडेँ।"

अर्की किसान मीरा नेपालका अनुसार भारतबाट ल्याइएका कामदारलाई नगदमा काम लगाउनुपर्ने भएकाले किसानले आर्थिक घाटा पनि बेहोर्नु परिरहेको छ।

उनले भनिन्, "गाउँमा मान्छे हुँदा पो पर्म लगाउन सजिलो हुन्छ। दैनिक ज्यालामा काम लगाउनुपर्छ। जवान मान्छे सबै विदेशमा छन्।"

मलको अभाव

खेतमा रोपेको धान हुर्किँदै गएपछि त्यसलाई चाहिने पोषक तत्त्व जमिनबाट नपाएपछि मल हाल्नुपर्ने कृषि विज्ञहरु बताउँछन्।

तर मलको अभाव किसानले बर्सेनि झेल्नु परिरहेको छ।

धान

तस्बिर स्रोत, Reuters

कृषि सामग्री संस्थान तथा विभिन्न कृषि सहकारीहरूमा लामो लाम लाग्दा पनि किसानहरू मल नपाएको गुनासो गर्छन्।

हरेक वर्ष यस्तो समस्या दोहोरिने गरेको किसानहरू बताउँछन्।

सरकारले मल आयात गरे पनि समयमा किसानले मल नपाउने रोग बर्सेनि उस्तै रहेको उनीहरूको गुनासो छ।

एकजना किसान मीरा नेपाल भन्छिन्, "रासायनिक मल नपाएको पीडाको त कुरै नगरौँ। युरिया, डीएपी तथा पोटास पाउनै गाह्रो। अवैध रूपमा भारतबाट ल्याएको मल पनि प्रयोग गर्नुपर्छ।"

रोगको प्रकोप, धानबालीमा आगो

बाली लगाए पछि किसानले सामान्यतया बालीमा रोग नलागोस् भनेर कामना गरेका हुन्छन्।

तर विभिन्न किसिमका रोग तथा किराको प्रकोपले धानबाली नष्ट गरिदिएका विवरणहरू आउने गरेका छन्।

ती रोग तथा किराको निदान नहुँदा किसान चिन्तित बनिरहेका हुन्छन्।

यसपालि पनि धानमा लाग्ने डडुवा रोगले धेरै किसानको बाली नष्ट गरिदिएको छ।

धान उत्पादनका लागि प्रमुख जिल्ला मानिएको झापाको २ सय २५ बिघा जमिनमा लगाइएको धानबालीमा किसानले आगो लगाइदिए।

धान

कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहका अनुसार फर्के किराको प्रकोपका कारण किसानले धानबाली खेतमै आगो लगाएर नष्ट गरेका हुन्।

उक्त किरा लागेपछि पराल पनि गाईवस्तुले नखाने भएकाले किसानले खेतमै धानबालीमा आगो लगाएका हुन्।

न्यून मूल्य

किसानले मेहेनत गरे अनुरूप वस्तुको मूल्य नपाउने अवस्था नौलो होइन।

तर जुन वस्तुको मूल्य सरकारले नै तोक्छ त्यही मूल्य पनि किसानले पाउँदैनन्। अहिले देशभरका धान उत्पादक किसानको त्यही हालत छ।

भकारीमा धान छ तर मूल्य न्यून छ। केही समयअघि मन्त्रिपरिषद्‌ बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि मोटा धानको प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको २६ सय ७३ रुपैयाँ १६ पैसा न्यूनतम समर्थन मूल्य तोक्यो।

तर त्यो मूल्यले पनि किसानलाई केही फाइदा नदिएको किसान मीरा नेपालको भनाइ छ।

धान

उनले भनिन्, "धेरै दिएको सात सय रुपैयाँ प्रतिमन दिन्छन् व्यापारीले। किसानको सबै खर्च त्यसैबाट हुने हो। त्यतिमा भए पनि बेच्नैपर्छ।"

धानबाली विज्ञ बस्नेतका अनुसार धानको समर्थन मूल्य गलत समयमा तोकिएकाले किसान जहिले पनि ठगिन्छन्।

उनले धानबाली लगाउन पूर्व नै न्यूनतम समर्थन तोकिनुपर्ने बताए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले उक्त मूल्य बाध्यकारी नहुने बताए।

उनले भने, "बजारलाई व्यवस्थित गर्न समर्थन मूल्य तोकेको हो। यो बाध्यकारी हुँदैन। व्यापारीले तोकेको मूल्यमा धान किनेनन् भने सरकारले किनिदिन्छ भनेको हो।"

तर किसानको धान किनिदिने जिम्मा पाएको नेपाल खाद्य संस्थानले उसको भण्डारण क्षमता अनुसार मात्र खरिद गर्ने गरेको छ।

गत वर्ष ३५ हजार टन धान खरिद गर्ने लक्ष्य राखेकोमा २२ हजार टन मात्रै संस्थानले खरिद गरेको थियो।