एसीसी इमर्जिङ टीम्स एशिया कप: हङ्कङमाथि नेपालको सहज विजय

तस्बिर स्रोत, Raman Shiwakoti / CAN
अनुभवी खेलाडी शरद भेषवाकरले राम्रो ब्याटिङ गर्दै ८९ रन बनाएपछि नेपालले क्रिकेटमा हङ्कङमाथि ४० रनको जित हासिल गरेको छ।
बाङ्ग्लादेशमा भइरहेको एसीसी इमर्जिङ टीम्स एशिया कप अन्तर्गतको दोस्रो खेलमा विजयी भएपछि नेपालको सेमीफाइनलमा पुग्ने आशा कायम छ।
शनिवार पहिले ब्याटिङ गर्दै नेपालले ५० ओभरमा २१७ रन बनाएको थियो। हङ्कङले ४५.५ ओभरमा १७७ रन मात्रै बनायो र प्रतियोगिताबाट बाहिरियो।
सोमवार नेपालले बलियो देखिएको आयोजक बाङ्ग्लादेशलाई हराए सेमीफाइनलमा पुग्ने सम्भावना रहनेछ।
भेषवाकरको फर्म
हङ्कङले टस जितेर नेपाललाई ब्याटिङ गर्न लगाएको थियो। कप्तान ज्ञानेन्द्र मल्ल बिहीवार भारतसँगझै खेलको दोस्रो बलमा नै आउट भए।
अर्का ओपनर कुशल भुर्तेल पनि तुरुन्तै आउट भएपछि नेपाल सङ्कटमा परेको थियो।
तर भेषवाकर, उपकप्तान दीपेन्द्रसिंह ऐरी र आशिफ शेखले राम्रो ब्याटिङ प्रदर्शन गरे।
ऐरीले ६७ बलमा ३७ रन र शेखले ४८ बलमा तीन छक्का सहित ४२ रन बनाए।

तस्बिर स्रोत, Raman Shiwakoti / CAN
अन्तिम ओभरसम्म टिकेका भेषवाकरले भने १३९ बल खेल्दै नौ चौकाको सहायताले ८९ रन बनाए।
उनले भारतसँगको पहिलो खेलमा पनि ४४ रन बनाएका थिए।
नेपालको तल्लोक्रमका खेलाडीले आक्रामक ब्याटिङ गर्न सकेका भए नेपालको स्कोर अझ राम्रो हुन्थ्यो तर विनोद भण्डारी (१५ रन) बाहेक अन्य कसैले पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
हङ्कङका तर्फबाट आइजाज खानले तीन एवम् नासरुल्ला राना र अहसान नवाजले दुई/दुई विकेट लिएका थिए।

तस्बिर स्रोत, Raman Shiwakoti / CAN
हङ्कङको कमजोर ब्याटिङ
करण केसी र अविनाश बोहोराले सुरुमै प्रभावकारी बलिङ गरेपछि हङ्कङ समस्यामा पर्यो।
बोहोराले तीन र केसीले दुई विकेट लिँदा हङ्कङले १२ ओभरमा पचास रन नबनाउँदै पाँच खेलाडी गुमायो।
तर किन्चित शाह र हरुन अर्सादले मिलेर ६२ रन बनाउँदै हङ्कङलाई खेलमा फर्काउने प्रयास गरे।

तस्बिर स्रोत, Raman Shiwakoti / CAN
अर्साद २६ रनमा रहँदा केसीको तेस्रो विकेटका रूपमा आउट भए भने ८० बलमा ५३ रन बनाएका शाहलाई सुसन भारीले आउट गरे।
अन्तिम विकेटका लागि ४२ रन नबनेको भए नेपालको जित अझ सहज देखिने थियो। तर एहसान नवाजले ५३ बलमा ४४ नटआउट बनाउँदै खेललाई तन्काए।
अन्य खेलका नतिजा
नेपाल रहेको समूह 'बी'मा भने भारतलाई बाङ्ग्लादेशले छ विकेटले हराएको छ।
भारतले दिएको २४७ रनको लक्ष्यलाई आयोजकले ४२.१ ओभरमा चार विकेट गुमाएर प्राप्त गरेको हो।
समूह 'ए'मा भने बिहीवार श्रीलङ्कालाई हराएर अविश्वनीय नतिजा निकालेको ओमानलाई अफगानिस्तानले नौ विकेटले हराएको छ।
ओमानले ४४ ओभरमा १५३ रन बनाएकोमा अफगानिस्तानले त्यो लक्ष्य ३०.५ ओभरमै एक विकेट गुमाएर पुरा गरेको हो।
तर श्रीलङ्का भने लगातार दोस्रो खेल हारेर प्रतियोगिताबाटै बाहिरिएको छ।
शनिवार पाकिस्तानले श्रीलङ्कालाई ३०.४ ओभरमा ९३ रनमा आउट गर्दै ९० रनले हरायो र सेमीफाइलन पुग्ने पहिलो टोली बन्यो।




















