एसीसी इमर्जिङ टीम्स एशिया कप: नेपाल क्रिकेटमा भारतसँग ७ विकेटले पराजित

तस्बिर स्रोत, Raman Shiwakoti / CAN
पवन सर्राफ र शरद भेषवाकरले सम्झन लायक ब्याटिङ गरेका भए पनि नेपाल बिहीवार भारतसँग क्रिकेटमा सात विकेटले पराजित भएको छ।
बाङ्ग्लादेशमा सुरु भएको एसीसी इमर्जिङ् टीम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल, हङ्कङ र ओमानका राष्ट्रिय टोली एवम् भारत, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान र बाङ्ग्लादेशका यू-२३ टोली समावेश छन्।
सर्राफको ५६ रन र भेषवाकरको ४४ रनको सहयोगमा बिहीवारको खेलमा नेपालले ४४.५ ओभरमा १९३ रन बनाएको थियो। भारतले सो लक्ष्य ४२ ओभरमा तीन विकेट गुमाएर प्राप्त गरेको हो।
यो प्रतियोगितामा पूर्वकप्तान पारस खड्का र चर्चित बलर सन्दीप लामिछाने सहभागी भएका छैनन्।
नेपालले अर्को खेल शनिवार हङ्कङसँग खेल्नेछ।
भारतको दरिलो ब्याटिङ
सामान्य लक्ष्य पाएको भारतले राम्रो सुरुवात गरेको थियो।
रवि सरथ र आर्यन जुयलले ७४ रनको साझेदारी गरेका थिए। सरथ ४९ रन बनाएर सुसन भारीको बलमा आउट भए।
जुयल २९ रन बनाएर ललितनारायण राजवंशीको बलमा आउट भए।
त्यसपछि आएका सनवीर सिंहले ५६ र अरमान जाफरले नटआउट रहँदै ५१ रन बनाएर भारतलाई विजय दिलाए।
भारतको जितको लागि १६ रन बाँकी रहँदा सिंहको विकेट करण केसीले लिए।

तस्बिर स्रोत, Raman Shiwakoti / CAN
सर्राफको अर्धशतक
यसअघि भारतले टस जितेर नेपाललाई ब्याटिङ गर्न लगाएको थियो।
कप्तान ज्ञानेन्द्र मल्ल पहिलो ओभरमै आउट भएपछि अनुभवी भेषवाकरले कुशल भुर्तेलसँग राम्रो साझेदारी गरेका थिए।
भुर्तेल २८ रन बनाएर आउट हुनुअघि यी दुईले ५४ रन बनाएका थिए। भेषवाकरले ७६ बलमा ४४ रन बनाए।
सर्राफले भने नेपालको तर्फबाट सबैभन्दा धेरै रन बनाउने क्रममा ४९ बल खेल्दै सात चौका र दुई छक्का प्रहार गरे।
उपकप्तान दीपेन्द्रसिंह ऐरीले २४ र केसीले २० रनको योगदान दिएका थिए।

तस्बिर स्रोत, Raman Shiwakoti / CAN
कसिलो बलिङ
भारतका लागि तीव्र गतिका बलर सौरभ दुबेले २६ रन खर्चेर चार विकेट लिए। कप्तान मल्लसहित उनले सर्राफ, कामी र राजवंशीको विकेट लिएका थिए।
यश राठोरले तीन र पार्थ रेखाडेले दुई विकेट लिए।
रेखाडेले ३.३ ओभरमा पाँच रन दिएर दुई विकेट लिइसकेका थिए। तर चोटका कारण उनले त्यसपछि बलिङ गर्न सकेनन्।
अन्य खेलको परिणाम
प्रतियोगिताअन्तर्गत भएका अन्य खेलहरूमा बाङ्ग्लादेश र पाकिस्तान विजयी भएका छन्।
हङ्कङले दिएको १६५ रनको लक्ष्य बाङ्ग्लादेशले २४.१ ओभरमै पूरा गरेर नौ विकेटले जितेको हो।
त्यस्तै पाकिस्तानले अफगानिस्तानले दिएको १३९ रनको लक्ष्य दुई विकेट गुमाएर ३३.५ ओभरमा पुरा गर्यो।




















