शौचालयको छतमा प्वाल बनाएर अमेरिकी जेलबाट भागे हत्याको आरोप लागेका दुई सन्दिग्ध

अभियुक्त

तस्बिर स्रोत, MONTEREY COUNTY SHERIFF'S OFFICE

Published

अमेरिकी प्रहरीले आश्चर्यलाग्दो तरिकाले क्यालिफोर्नियास्थित एउटा जेलबाट भागेका दुई बन्दीको तस्बिर सार्वजनिक गरेको छ। उनीहरू हत्याका घटानामा सन्दिग्ध हुन्।

सान फ्रान्सिस्कोदेखि दक्षिणमा पर्ने सेलिनास नगरस्थित कारागारको शौचालयको छतमा २२ इन्चको प्वाल पारेर २१ वर्षीय सान्तोस स्यामुएल फोन्सेका र २० वर्षीय जोनाथल सलाजर आइतवार भागेका हुन्।

उनीहरू अरूले नदेख्ने ठाउँको फाइदा उठाउँदै भागेको अधिकारीहरूले बताएका छन्।

उनीहरूमाथि हत्यासम्बन्धी छुट्टाछुट्टै मुद्दा चलाउने तयारी भइरहेको थियो।

मेन्टरे काउन्टी शेरिफको कार्यालयका प्रवक्ता जोनाथन थोर्नबर्गले भने, "हत्या गरेको आरोप लागेका ती व्यक्तिहरू जेलमा नभएको देखेर हामी निराश छौँ।"

उनीहरूसँग हतियार भएको आशङ्का छ र उनीहरूलाई खतरनाक मानिएको छ। अधिकारीहरूले उनीहरूको खोजी गरिरहेका छन्।

शेरिफको कार्यालयले उनीहरूबारे सूचना दिनेलाई पाँच हजार डलर पुरस्कार दिने घोषणा गरेको छ।

सन्दिग्धहरू कसरी भागे?

जेलका सुरक्षाकर्मीहरूले देख्न नसक्ने एउटा शौचालयमा उनीहरूले प्वाल पारेको अधिकारीहरूले बताएका छन्।

पाँच फुट सात इन्च अग्ला ती दुई जनाले आफू छिरेर भाग्न मिल्नेगरी प्वालको आकार बनाएका थिए।

फरार

तस्बिर स्रोत, MONTEREY COUNTY SHERIFF'S OFFICE

त्यहाँबाट उनीहरू धुलो र पाइप भएका मर्मतसम्भारको काम हुने क्षेत्र हुँदै निस्केका थिए।

एघार इन्च चौडाइ भएको क्षेत्रको बाहिरिने ठाउँसम्म नपुगुन्जेल उनीहरू घस्रँदै गएका थिए। त्यसपछि उनीहरू भागेका थिए।

उनीहरूलाई के आरोप लागेको छ?

अधिकारीहरूका अनुसार गत वर्ष पक्राउ गरी उनीहरूमाथि हत्यासम्बन्धी छुट्टाछुट्टै अभियोग लगाइएको थियो।

फोन्सेकाले सन् २०१८ को जुन महिनामा दुई जनाको हत्या गरेका थिए भने सालजरले सन् २०१७ को अक्टोबर महिनामा एक जनाको हत्या गरेका थिए।

फरार

तस्बिर स्रोत, MONTEREY COUNTY SHERIFF'S OFFICE

लस एन्जलस टाइम्सका अनुसार दुवै जनाले आफूहरू निर्दोष भएको दाबी गरेका छन्।