यौन हिंसाको मुद्दामा कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामै राख्न काठमाण्डू अदालतको आदेश

तस्बिर स्रोत, RSS
संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेका प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाण्डू जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ।
जबरजस्ती करणीको उद्योगको अभियोग लागेका महराको पक्ष र विपक्षमा भएका थुनछेक बहसपछि सोमवार उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको काठमाण्डू जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बीबीसीलाई बताएका छन्।
उनका अनुसार "पुर्पक्षको लागि थुनामा राख्ने भनेको मुद्दाको अन्तिम फैसला नभएसम्म थुनामा राख्ने" आदेश हो।
उनका अनुसार अब महरालाई डिल्लीबजार कारागारमा लगिने छ।
महराले बलात्कार प्रयास गरेको आरोप अस्वीकार गर्दै आएका छन्।
आइतवार र सोमवार उनको मुद्दामा भएको थुनछेक बहसमा महरातको तर्फबाट केही नाम चलेका अधिवक्ताहरूले बहस गरेका थिए।
उनको विपक्षमा काठमाण्डू सरकारी वकिल कार्यालयका वकिलहरूले बहस गरेका थिए।
















