उपनिर्वाचनका लागि आचारसंहिता लागु, 'उल्लङ्घन भए कारबाही'

- Author, सुरेन्द्र फुयाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह सदस्यका रिक्त पदका लागि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आचारसंहिता शुक्रवारबाट कार्यान्वयनमा आएको निर्वाचन आयोगले जनाएको छ।
उपनिर्वाचन ३७ जिल्लामा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदपूर्तिका लागि हुने कार्यक्रम छ।
आयोगका अनुसार आचारसंहिता उपनिर्वाचन हुने निर्वाचन क्षेत्र वा स्थानीय तहमा लागु हुने र नेपाल सरकार, कर्मचारी, राजनीतिक दल, उम्मेदवार र सञ्चारमाध्यमहरूले पालना गर्नु पर्नेछ।
आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठले बीबीसी न्यूज नेपालीसँग भने, "विगतका चुनावमा देशभरि नै आचारसंहिता लागु हुन्थ्यो।"
"यसपटक उपनिर्वाचन हुने क्षेत्र र स्थानीय तहमा मात्रै आचारसंहिता लागु भएको छ।"
तर जिम्मेवार पदमा आसीन नेता वा अधिकारीहरूले देशभर नै कुनै दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाइने श्रेष्ठले बताए।
उनले आचारसंहिता २०७२ र २०७३ का प्रावधान सबैले पालना गर्नु पर्ने र उल्लङ्घन गरेमा निर्वाचन ऐन बमोजिम कानुनी कारबाही हुने बताए।
कहाँ कहाँ उपनिर्वाचन?
उपनिर्वाचन ३७ जिल्लामा विभिन्न कारणले रिक्त भएका प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तह प्रमुखसहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्षका ५२ पदका लागि हुने छ।
कास्की-२ मा प्रतिनिधिसभा सदस्य र भक्तपुर-१, बाग्लुङ-२ र दाङ-३ मा प्रदेशसभा सदस्यको लागि निर्वाचन हुँदैछ।
धरान उपमहानगरपालिकामा नगरप्रमुख पदको लागि निर्वाचन हुने कार्यक्रम छ।
त्यसका अतिरिक्त विभिन्न जिल्लाका गाउँपालिकाहरूमा रिक्त ३ अध्यक्ष, १ उपाध्यक्ष र ४३ वडाअध्यक्ष पदका लागि चुनाव हुँदैछ।
आचारसंहिता के भन्छ?
आयोगका अनुसार शुक्रवारदेखि निर्वाचन सम्पन्न नभएसम्म "नयाँ कार्यक्रम गर्न नहुने, पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि, पुरस्कार दिने, सरुवा, बढुवा वा काजमा पठाउने, विदेश भ्रमणमा जान नहुने र निर्वाचनसम्बन्धी जिम्मेवारी दिन नहुने" र "तटस्थ र निष्पक्ष रहनु पर्ने" नियमहरू लागु गरिएको छ।
राजनीतिक दलको हकमा "निर्वाचनको अन्तिम परिणाम नआएसम्म सामान्य र विषयगत आचारणहरू" लागु गरिएको आयोगको भनाइ छ।
उम्मेदवारहरूको हकमा निर्वाचन मनोनयनपत्र दर्ता भएको मितिदेखि चुनावको अन्तिम परिणाम नआएसम्म "जुलुस, आमसभा, र्याली, बैठक, भेला गर्दा पालना गर्नु पर्ने आचरण र सवारीसाधन प्रयोग तथा प्रचारप्रसार गर्दा पालना गर्नु पर्ने आचरणहरू लागु गरिएको" आयोगले जनाएको छ।
उल्लङ्घन भए उजुरी
आयोगका अनुसार "दल तथा उम्मेदवारहरूले मोटर तथा मोटरसाइकल र्याली गर्न पाउने छैनन।"
निर्वाचन पर्यवेक्षक तथा सञ्चारमाध्यमले समेत आचारसंहिता पालना गर्नु पर्नेछ। उनीहरूले कसैको पक्षमा प्रचारप्रसार गर्न नपाउने भनिएको छ।
आचारसंहिता उल्लङ्घन भए उजुरी गर्न सकिने आयोगको भनाइ छ।




















