तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वकप छनोटः नेपाल अस्ट्रेलियासँग पाँच गोलले पराजित
अस्ट्रेलियाको घरेलु मैदान क्यानबेरामा रक्षात्मक प्रदर्शन गरेको खेलमा नेपाल अस्ट्रेलियासँग ५ -० ले पराजित भएको छ।
नेपालले अन्तर्राष्ट्रिय फुटबलमा अहिलेसम्मकै उच्च वरीयताको टोली अस्ट्रेलियासँग पहिलो पटक खेलेको हो।
विश्व वरीयतामा १६१ औँ स्थानमा रहेको नेपालभन्दा ११७ औँ स्थानमाथि रहेको अस्ट्रेलिया ४४ औँ स्थानमा छ।
उनीहरूको घरेलु मैदानमा धेरै गोल खान सक्ने कतिपयको अनुमान विपरीत नेपालले शुरूदेखि नै रक्षात्मक तर आत्मविश्वासयुक्त खेल प्रदर्शन गरे।
प्रशंसक
क्यानबेराको जिआईओ रङ्गशालामा उपस्थित १८ हजार नेपाली समर्थकले नेपाललाई खेलभरि हौस्याएका थिए।
अनुमान गरिए झैँ अस्ट्रेलियाका खेलाडीहरूले शुरूदेखि नै पोष्टमा लगातार आक्रमण थालेका थिए।
उनीहरू हतारिएका थिएनन्। बलमाथि नियन्त्रण बनाउने र विना गल्ती आरामसँग आक्रमण गर्ने रणनीतिमा अस्ट्रेलियाका खेलाडीहरू देखिएका थिए।
नेपाली खेलाडीहरू पनि विपक्षीलाई रोक्ने क्रममा हडबडाएका देखिएनन्। बरु छोटो छोटो पास खेलेर उनीहरूले विपक्षीलाई खुल्न दिएनन्।
रक्षात्मक खेल्ने र मौका पाए 'काउन्टर एट्याक' मा जाने नेपाली प्रशिक्षक योहान कालिनको रणनीति अनुसार उनले एकजना स्ट्राइकर अभिषेक रिजाललाई मैदानमा उतारेर बाँकीलाई रक्षात्मक जिम्मेवारी दिएका थिए।
खेल शुरू भएको छैटौँ मिनेटमा नेपालले गोल खान पुग्यो। तर पनि खेलाडीहरूले आत्मविश्वास भने गुमाएको देखिएन र विपक्षीका प्रहारहरूलाई निरन्तर विफल पारिरहे।
दोस्रो हाफमा अस्ट्रेलियाको खेल सुस्ताए जस्तो देखियो।
पहिलो हाफमा तीन गोल हानेको अस्ट्रेलियाले दोस्रो हाफमा दुई गोल मात्र गर्न पुग्यो।
दोस्रो हाफमा नेपालले पनि विपक्षी पोष्टमा आक्रमण गर्ने अवसरहरू सिर्जना गर्यो।
यो जितसँगै अस्ट्रेलिया विश्वकप फुटबल एशियाली छनोटको समूह बीको पहिलो स्थानमा उक्लिएको छ।
कसरी खाए गोल?
पहिलो गोल
छैटौँ मिनेटमा पहिलो गोल जेमी म्याक्लारेनले गरे।
इङलिस प्रिमियर लिग ब्राइटनबाट खेल्ने मिडफिल्डर आरोन मोयले डि बक्स बाँया पाएको फ्रि किक पोष्ट बाहिर खुला बसिरहेका ज्याक्सन इरभाइनलाई दिए।
उनले पोष्टमा प्रहार गरेको बल गोलकिपर किरण चेम्जोङले राम्ररी नियन्त्रण लिन सकेन।
फर्केको बलमा म्याक्लेरेनले सहजै गोल टच दिए। म्याक्लारेन जर्मनीको क्लब एसभी डर्मस्टाड ९८ बाट खेलिसकेका स्ट्राइकर हुन्।
दोस्रो गोल
१८ औँ मिनेटमा पुन: जेमी म्याक्लारेनले गोल गरे।
अस्ट्रेलियाका खेलाडीहरू दबावविहीन भएर खेलिरहेको बेला अजिज बेचिजले बायाँ छेउबाट पोष्टतिर क्रस गरेको बललाई रायन ग्रान्टले हेडबाट म्याक्लारेनलाई मिलाइदिए।
गोललाइन नजिक रहेका म्याकारेनले फेरी सहजै हेडबाट बललाई पोष्टतिर टच गरिदिए।
तेस्रो गोल
२३ औँ मिनेटमा तेस्रो गोल कर्नरबाट भयो।
यतिबेला क्रायग गुडविनले गरेको कर्नरमा ह्यारी साउटरले हेडबाट गोल गरेका हुन्।
स्कटल्याण्डमा जन्मेर त्यहाँ यु १७ र यु १९ खेलिसकेका साउटर अस्ट्रेलियन आमाका कारण यसै वर्ष अस्ट्रेलिया आएका हुन्।
यो उनको अस्ट्रेलियाको राष्ट्रिय टोलीमा डेब्यु खेल हो र डेब्यु गोल पनि।
चौथो गोल
५८ औँ मिनेटमा चौथो गोल पुन ह्यारी साउटरले गरे। यतिबेला भने भाग्यको पनि साथ थियो।
साउटरले डी बक्सभित्र गरेको हेड गोलकिपर किरण चेम्जोङको ठिक अगाडि उभिएका दिनेश राजवंशीले रोक्न खोज्दा उनको पेटमा लागेर पोष्टतिर डिफ्लेक्ट हुन पुग्यो।
पाँचौ गोल
खेल सकिन एक मिनेटअगाडि ८९ औँ मिनेटमा जेमी म्याक्लारेनले ह्याट्रिक गोल गरे।
बललाई नियन्त्रण गर्दै उनले पोष्ट नजिक बायाँ खुट्टाले गरेको कडा प्रहार गोलकिपर चेम्जोङले रोक्न सकेनन्।