प्यारिसमा आक्रमणः 'चक्कु प्रहारबाट चार प्रहरीको मृत्यु'

फ्रान्सेली प्रहरी

तस्बिर स्रोत, EPA

Published

फ्रान्सको राजधानी प्यारिसमा चक्कु बोकेका एक पुरुषले केन्द्रीय प्रहरी मुख्यालयबाहिर चारजना अधिकारीको हत्या गरिदिएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्।

आक्रमणकारी पनि मुख्यालयकै कर्मचारी रहेको र उनलाई प्रहरीले गोली हानी मारिदिएको बताइएको छ।

प्यारिसको केन्द्रमा रहेको इल द ला सिटे नामक क्षेत्रलाई अहिले सुरक्षा घेराबन्दी गरिएको छ।

स्थानीय समय अनुसार बिहीवार दिउँसो १ बजे प्रहरी भवनको चोकमा हमला भएको थियो।

पुष्टि

फ्रान्सका प्रहरीले देशभरि अधिकारीहरूमाथि हिंसा बढिरहेको र फौजभित्र आत्महत्याको घटना बढिरहेको भन्दै हडताल गरेको एकदिन पछि यो घटना भएको छ।

फ्रान्सका प्रधानमन्त्री तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री घटनास्थलको अवलोकन गरेका छन्।

प्यारिसकी मेयरले घटनामा कैयौँ मानिस मारिएको ट्विटरमार्फत्‌ पुष्टि गरेकी छन्।

फ्रान्सेली प्रहरी

तस्बिर स्रोत, Reuters

आक्रमण पर्यटकहरू जाने प्रसिद्ध नोट्र डाम कथिड्रलनजिकै भएको हो।

प्रहरी युनियनका अधिकारीहरूका अनुसार ती हमलाकारी मुख्यालयभित्र प्रशासनमा काम गर्थे।

आक्रमणकारीको नाम खुलाइएको छैन।

आक्रमणकारीले चक्कु प्रहार गर्नु पछाडिको उद्देश्य पनि थाहा हुन सकेको छैन।