पानीमुनि विवाहको प्रस्ताव राखेका प्रेमीको मृत्यु

तस्बिर स्रोत, Kenesha Antoine
प्रेमिकालाई पानीमुनि विवाहको प्रस्ताव राखेका एक अमेरिकी नागरिकको तान्जानियामा डुबेर मृत्यु भएको छ।
प्रेमी स्टेभन वेबर र प्रमिका केनेशा आन्टवान बिदा मनाउन पेम्बा टापुनजिकैको मान्टा रिसोर्टको पानीमुनि रहेको कोठामा बसेका थिए।
भिडिओमा वेबर प्रेमिकालाई विवाहको प्रस्ताव राख्न कोठाबाहिर पानीमा पौडेको देखिन्छ।
प्रेमिकाले कोठा भित्रबाट खिचेको भिडिओमा वेबरले झ्यालको सिसामा हस्तलिखित विवाह प्रस्ताव देखाएका छन्।
आन्टवानले फेसबुकमा वेबरको मृत्यु भएको पुष्टि गर्दै लेखेकी छन्: "उनी त्यो गहिराइबाट कहिल्यै बाहिर आएनन्।"

तस्बिर स्रोत, Kenesha Antoine on Facebook
मान्टा रिसोर्टले बीबीसीलाई वेबर बिहीवार दिउँसो एकान्तमा रहेको कोठाबाहिर एक्लै पौडिँदा डुबेको बताएको छ।
वेबर र आन्टवान जमिनबाट आठ सय २० फिटको दुरीको पानीमा रहेको रिसोर्टको महँगो कोठामा चार दिनका लागि बसेका थिए।
प्रतिदिनको १७ सय डलर पर्ने सो कोठा पानीको सतहभन्दा ३२ फिटमुनि रहेको छ।
त्यहाँ बसेको तेस्रो दिन वेबरले विवाहको प्रस्ताव राख्न कोठाबाहिर पानीमुनि गएका थिए।
उनले झ्यालको सिसामा विवाह प्रस्ताव टाँसेका थिए।
प्रस्तावमा लेखिएको थियो: "मलाई तिम्रो के कुरा मन पर्छ भनेर सबै भन्न सास रोक्न सक्दिनँ।"

तस्बिर स्रोत, Kenesha Antoine on Facebook
त्यसपछि भिडिओमा उनले सो कागजको पछाडि लेखिएको विवाह प्रस्ताव देखाएको, अनि खल्तीबाट औँठी निकालेको देखिन्छ। त्यसपछि उनी पानीमा हराउँछन्।
रिसोर्टले पानीमा केही समस्या परेको थाहा हुने बित्तिकै सहयोग गर्न गएको तर गर्न सकिने केही बाँकी नरहेको बताएको छ।

तस्बिर स्रोत, The Manta Resort
फेसबुकमा आन्टवानले वेबरले आफ्नो जवाफ सुन्नै नपाएको र त्यो जवाफ 'लाखौँ पटक दोहोर्याइको हुन्छ' भन्ने हुने लेखेकी छन्।
"हाम्रो जीवनको सबैभन्दा रमाइलो दिन नै भाग्यको क्रुरताका कारण सबैभन्दा नरमाइलो दिन बन्यो," उनले लेखेकी छन्।




















