यूएस ओपनको फाइनलमा पराजित सेरेना विलियम्सको असाधारण खेलजीवन

सन् २०१९ को विम्बेल्डन फाइनलमा खेल्दै सेरेना

तस्बिर स्रोत, Getty Images

    • Author, फर्नान्डो डुआर्टे
    • Role, बीबीसी विश्व सेवा
  • Published

सन् २०१९ को यूएस ओपन टेनिस प्रतियोगितामा सेरेना विलियम्सले एकलतर्फ आफ्नो २४औँ ग्र्यान्ड स्ल्याम उपाधि जित्न सकिनन्।

फाइनलमा क्यानडाकी बियान्सा एण्ड्रेस्क्यूसँग ६-३, ७-६ ले सोझो सेटमा हारे पनि त्यसले सेरेनाको टेनिसको शिखरमा रहिरहने शक्तिलाई कम तुल्याएन।

यो त्यही प्रतियोगिता थियो जसमा यी अमेरिकी टेनिस खेलाडीले २० वर्षअघि एकलतर्फ पहिलो ग्र्यान्ड स्ल्याम उपाधि जितेकी थिइन्।

त्यसयता २३ पटक ग्र्यान्ड स्ल्याम उपाधि जितेकी सेरेनाको अस्ट्रेलियाकी मार्गरेट कोर्टको कीर्तिमान बराबर गर्ने तिर्सना भने पूरा भएन्।

सफलताको लामो कथा

सन् १९६८ मा टेनिस व्यवसायिक रूपमा परिवर्तन भएयता कुनैपति पुरुष वा महिला खेलाडीले टेनिसमा यसरी एकपछि अर्को शृङ्खलाबद्ध सफलता हात पारेका छैनन्।

ग्र्यान्ड स्ल्याम भनिने चार मुख्य प्रतियोगिता (अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र युएस ओपन) को एकल उपाधि जित्ने सेरेना सबैभन्दा पाका खेलाडी हुन्।

सन् २०१७ मा अस्ट्रेलियन ओपन जित्दा उनी ३५ वर्ष चार महिनाकी थिइन्।

सन् १९९९ मा युएस ओपनको उपाधिलाई चुम्बन गर्दै सेरेना

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सेरेनाले पहिलो पल्ट सन् १९९९ मा युएस ओपनमा उपाधि जितेकी थिइन्

सन् १९९९ को सेप्टेम्बर ११ मा मार्टिना हिङ्गिसविरुद्धको खेलमा पहिलो जित हात पारेपछि उनको विजयी यात्रा सुरु भएको हो।

त्यसपछि सन् २०१० सम्ममा उनले थप १२ वटा प्रमुख उपाधि हात पारिन्। त्यसपछि ग्र्यान्ड स्ल्याम उपाधि विजय यात्रामा दुई वर्ष धक्का लाग्यो।

त्यसपछि कसरी उनले सानदार प्रदर्शनको दोस्रो चरण प्राप्त गर्न सकिन् भन्ने कुराचाहिँ असाधारण छ।

सेरेनाले ३० वर्षको उमेर काटिसकेपछि सन् २०१२ र सन् २०१७ बीचमा थप १० वटा उपाधि जितिन्।

सन् २०१७ को अन्त्यको विश्व टेनिस सङ्घको वरीयताक्रममा शीर्ष एक सय स्थानमा ३० वर्ष नाघेका तीन खेलाडीमध्येमा सेरेना पनि थिइन्।

उनको प्रतिस्पर्धीहरूको औसत उमेर भने २५ वर्ष थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, फ्रेन्च ओपन र विम्बल्डन एकै वर्ष जित्न किन कठिन

असाधारण पुनरागमन

"म सङ्ख्याबारे सोच्दिन," बिहीवार सेमिफाइनलमा विजयी भएपछि उनले भनिन्।

"म भर्खरै यहाँ आएँ र सकेको राम्रो गरिरहेको पनि छु। म २० वर्षदेखि यहाँ छु र अझै यहीँ छु।"

तर उनले आफ्नो खेल जीवनको दोस्रो चरणमा कसरी सफलता हासिल गरिन्?

प्याट्रिक मौराटोग्लो र सेरेना विलियम्स अभ्यास गर्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सेरेनाको प्रभावशाली प्रशिक्षक फ्रान्सका प्याट्रिक मौराटोग्लो रहेका छन्

मुख्य कारणहरूमा नाम र थरहरू छन्: प्याट्रिक मौराटोग्लो र म्याकी शिल्स्टोन।

पहिलो हुन्, फ्रान्सेली प्याट्रिक मौराटोग्ल जसलाई सेरेनाले सन् २०१२ मा फ्रेन्च ओपनको शुरूवाती चरणमै हारेपछि प्रशिक्षकको रुपमा नियुक्त गरेकी थिइन्।

उनले सेरेनालाई मनौवैज्ञानिक र चातुर्यपूर्ण खेल खेल्न मद्दत गरे।

शिल्स्टोनचाहिँ व्यक्तिगत प्रशिक्षक हुन् जसले पहिला पनि सेरेनासँग काम गरिसकेका थिए।

सन् २०११ मा सेरेनाले आफ्नो तन्दुरुस्तीमा सङ्घर्ष गर्नुपरेपछि शिल्स्टोनले उनलाई स्वस्थ रहने उपायहरू सुझाएका थिए।

मातृत्वपछि टेनिस

यसैबीच सेरेनाकी छोरी जन्मिइन्।

उनले हार्दै नहार्ने भने होइनन्। सन् २०१७ को ज्यानुअरीमा अस्ट्रेलियामा भएको खेलमा २३ औँ उपाधि जितेपछि उनले चारवटा ग्र्यान्ड स्ल्याम उपाधिको खेल हारिन्।

सन् २०१८ को युएस ओपनमा नाओमी ओशाकासँग हारिन्। त्यतिबेला सेरेना एउटा चेतावनीपश्चात अम्पाएर कार्लोस रामोसमाथि खनिएपछि उनी गलत कारणले चर्चामा आइन्।

सेरेना सन् २०१९ मा विम्बल्डन र युएस ओपनको फाइनलमा पुगेपनि उनले यो वर्षको कुनै उपाधि जितकी छैनन्।

सन् २०१८ को फेब्रुअरीमा भएको फेडेरेसन कपमा खेल्नका लागि सेरेना कुरिरहँदा उनी छोरी पनि खेल हेर्न उपस्थित थिइन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एलेक्सिस सेरेनाकी छोरी हुन्

विश्व वरियताक्रममा उनी आठ नम्बरमा छिन्, जुन आकर्षक स्थान हो।

तर सेरेनाले दुई वर्षअघि ग्र्यान्ड स्ल्याम उपाधि जित्दा उनी दुई महिनाकी गर्भवती थिइन्।

त्यसपछि छोरी एलेक्सिस ओलिम्पिया ओहानियन जन्माउन उनी आठ महिना खेलबाट टाढै बसिन्।

बच्चा जन्मिएपछि सन् २०१८ को फ्रेन्च ओपनको पहिलो चरणको पहिलो खेलमा सेरेना वरियताक्रममा चारसय ५१ स्थानमा थिइन्।

चौबिसौँ उपाधिको तिर्सना

आइतवारको यूएस ओपनको फाइनल एकदमै निर्मम थियो किनभने उनले २४औँ ग्र्यान्ड स्ल्याम उपाधिबाट उनी नजिकै पुगेर पनि विमुख हुनपरेको चौथो घटना थियो।

बीस वर्ष अगाडि जुन स्थानमा उनले ठूलो सफलता हात पारेकी थिइन् त्यही स्थानमा उनले कूल सातवटा उपाधि जितेकी छन्।

त्यही स्थानमा उनी गत वर्षको फाइनलमा केही समर्थकको नजरमा खलनायक थिइन्।

के आइतवारको फाइनलबाट उनको खेलजीवनमा पूर्णविराम लाग्नेछ? यस्तो नसोच्नुस किनभने सेरेना लडाइँबिना पछाडि हट्ने खेलाडी होइनन्।