आमा बनिन् टेनिस खेलाडी सेरेना
चर्चित अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले छोरी जन्माएकी छन्।

तस्बिर स्रोत, Reuters
रेडिट नामक एक वेवसाइटका सह-संस्थापक अलेक्सिस् ओहानियनकी ३५ वर्षिया श्रीमती विलियम्सलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो।
गत महिना २३ औं पटक ग्राण्ड स्लाम विजेता विलियम्सले आगामी जनवरी महिनामा हुने अष्ट्रेलियन ओपनमा भाग लिने योजना बनाएको बताएकी थिइन्।
छोरी जन्माएपछी उनलाई विश्वभरबाट खेल र अन्य क्षेत्रका हस्तीबाट शुभ-कामनाको ओइरो लागेको बताईएको छ।
उनकी दिदी भेनसले यूएस ओपनमा भाग लिने तयारी गरिरहेका बेला विलियम्सले छोरी जन्माएको खबर सार्वजनिक भएको हो।

तस्बिर स्रोत, REPORT
भेनसले भनिन्, ''स्वाभाविक रुपमा म एकदम उत्साही छु। म यसलाई शब्दमा ब्याख्या गर्नै सक्दिन।''
तर स्वयम् उक्त दम्पतीबाट बच्चालाई जन्म दिएकोबारे पुष्टि हुन बाँकी छ। विलियम्सका प्रशिक्षक पेट्रिक मोराटोग्लूले ट्विटरमार्फत भनेका छन्, ''म निकै खुसी छु र यतिबेला तिम्रो भावना अनुभूति गर्न सक्छु।''
उनले अगाडी थपे, ''म तिम्रो शीघ्र स्वास्थ्य लाभको कामना गर्छु…हाम्रो अगाडि थुप्रै काम बाँकी छन्।''
सेरेना विलियम्स आमा बन्न लागेको खबर यसअघि नै सार्वजनिक भएका थिए।
केही महिना अघि भूलवस आफू गर्भावस्थामा रहेको फोटो स्न्यापच्याटमा राखेको स्वीकार गरेकी थिइन्।




















