रोमाञ्चक खेलमा नेपाल पुन: विजयी, मलेशियामा आयोजित टी-२० शृङ्खलामा कब्जा

क्रिकेट
तस्बिरको क्याप्शन, विस्फोटक ब्याटिङ गर्दै २५ बलमा ५१ रन बनाएका विनोद भण्डारी म्यान अफ द म्याच घोषित भए
Published
पढ्ने समय: २ मिनेट

ब्याट्सम्यानहरूको विस्फोटक ब्याटिङको सहयोगमा नेपालले मलेशियाविरुद्ध भएको अन्तर्राष्ट्रिय टी-२० शृङ्खला छ रनले जितेको छ।

मलेशियाको किन्‌रारा मैदानमा पहिला ब्याटिङ गर्दै नेपालले १७३ रनको लक्ष्य आयोजक टोलीलाई दिएको थियो। तर मलेशिया १६७ रनमै सीमित हुनपुग्यो।

यो जितसँगै नेपालले मलेशियाविरुद्ध खेलिएका दुवै टी-२० खेल जित्दै शृङ्खला क्लीन स्वीप गर्ने इतिहास पनि रचेको छ।

शनिवार भएको पहिलो खेलमा नेपाल सात विकेटले विजयी थियो।

एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपालले पहिलो टी-०२० शृङ्खला यूएईविरुद्ध खेलेको थियो। सो शृङ्खला नेपालले २-१ ले आफ्नो पक्षमा पारेको थियो।

विस्फोटक ब्याटिङ

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालको इनिङमा विनोद भण्डारी, शरद भेषावकर र कप्तान पारस खड्काको विस्फोटक ब्याटिङ गरे।

क्रिकेट
तस्बिरको क्याप्शन, शरद भेषावकरले मध्यक्रम सम्हालेका थिए

सुरुवात कप्तान खड्काले गरेका थिए। अघिल्लो दिन ८६ रनको अविजित पारी खेलेका ओपनर खड्काले दुई छक्का र त्यतिवटै चौका प्रहार गर्दै २३ रन बनाए।

उनी आउट भएपछि मध्यक्रमका भरपर्दा शरद भेषावकरले इनिङ सम्हाल्दै चार चौका र दुई छक्का प्रहार गर्दै ४० रन जोडे।

इनिङको समाप्ती भने विनोद भण्डारीको ब्याटबाट भयो। निकै आक्रामक देखिएका भण्डारीले २५ बलमा अविजित ५१ रन जोडे। उनले तीन चौका र पाँच छक्का प्रहार गरेका थिए।

इनिङको अन्तिम बलमा छक्का प्रहार गर्दै उनले आफ्नो अर्धशतक पूरा गरेका हुन्। भण्डारी म्यान अफ द म्याच घोषित भए।

उपकप्तान ज्ञानेन्द्र मल्ल (सात रन) र कप्तान पारस पाँचौ ओभरको दोस्रो र तेस्रो बलमा लगातार आउट भएका थिए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

प्रारम्भिक ब्याट्सम्यान पवन सर्राफले १०, र आउट हुँदा मध्यक्रमका रोहित पौडेलले १९ रन जोडेका थिए। करण केसीले १० बलमा १६ रन बनाए।

मलेशियाको आक्रामक ब्याटिङ

मलेशियाका ब्याट्सम्यानहरू सुरुदेखि नै खुलेर खेलेका थिए।

प्रारम्भिक ब्याट्सम्यान सैयद अजिज र विरेन्दिप सिंहले पहिलो विकेटको लागि ७५ रनको साझेदारी गर्दै खेलको सही सुरुवात गरेका थिए।

यो जोडीको साझेदारीलाई १० औँ ओभरमा अविनाश बोहोराले तोडेका थिए। उनले २३ रन बनाएर खेलिरहेका सिंहलाई भण्डारीबाट आउट गराएका थिए।

त्यसपछि अर्धशतक बनाएका अजिजलाई सोमपाल कामीले ललितनारायण राजवंशीबाट क्याच आउट गराए।

क्रिकेट
तस्बिरको क्याप्शन, नेपालमा बाढीपहिरोमा परेर जनधनको क्षति भएकोमा शोक व्यक्त गर्न नेपाली खेलाडीहरूले कालोपट्टी बाँधेर खेलेका थिए

त्यसपछि पनि मलेशियाका ब्याट्सम्यानहरूले आक्रामक खेललाई जारी राखे र निरन्तर रन बटुलिरहे।

सत्रौँ ओभरमा अमिनुद्धिन राम्लीले कप्तान पारसको बलमा तीन छक्का प्रहार गर्दै टोलीलाई जिततिर डोर्‍याउने प्रयास गरेका थिए।

पाँच खेलाडी आउट भइसकेको अवस्थामा अर्को छक्का प्रहार गर्ने क्रममा उनी सोही ओभरमा आउट हुन पुगेका थिए।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिएका थिए।

दुई खेलाडी परिवर्तन

नेपालले दुई खेलाडी परिवर्तन गरेको थियो।

वसन्त रेग्मी र प्रदीप ऐरीको स्थानमा तीव्र गतिका बलर अभिनास बोहोरा र अलराउन्डर पवन सरार्फलाई मौका दिइएको थियो।

घाइते भएका युवा खेलाडी दीपेन्द्रसिंह ऐरी दुवै खेलमा टोलीमा परेनन्।

अविरल वर्षाको कारण नेपालमा मृत्यु भएका व्यक्तिप्रति श्रद्धा व्यक्त गर्न उनीहरूले कालोपट्टी बाँधेर खेलेका थिए।