नेपाल क्रिकेटको मलेशिया भ्रमण: पारसको सानदार ब्याटिङमा सात विकेटको विजय

पारस खड्का
Published

मलेशिया भ्रमणमा रहेको नेपालले पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टोलीमाथि सात विकेटको जित हासिल गरेको छ।

दुई खेलको शृङ्खलामा १-० को अग्रता दिलाउने क्रम कप्तान पारस खड्काले सानदार ब्याटिङ गरे।

खड्काले ८६ रन बनाएपछि नेपालले मलेशियाले दिएको १२९ रनको लक्ष्य १८.३ ओभरमै पूरा गरेको थियो।

खड्काको यो १६ वटा टी-२० अन्तर्राष्ट्रियमा दोस्रो अर्धशतक र सबैभन्दा उच्च व्यक्तिगत स्कोर हो।

जुलाई २२ देखि सिङ्गापुरमा हुने टी-२० विश्वकप एशिया छनौटको फाइनल प्रतियोगिताको अभ्यासका लागि नेपाल मलेशियामा छ।

पारसको शानदार ब्याटिङ

प्रारम्भिक ब्याट्सम्यानका रूपमा किनरारा ओभल मैदान छिरेका खड्काले नेपालको जितको महत्वपूर्ण भूमिका खेले।

मलेशियाले नियमित विकेट लिए पनि खड्का टिकेर आक्रामक खेले। छक्काका मद्दतले ३२ बलमा पचास रन पुरा गर्ने क्रममा उनले पाँच चौका र तीन छक्का प्रहार गरेका थिए।

उनले कुल ५० बल खेल्दै ८६ रन बनाए जसका लागि उनले आठ चौका र पाँच छक्का प्रहार गरे।

कप्तानहरू

तस्बिर स्रोत, Twitter: MalaysiaCricket

छक्का प्रहार गरेर नेपाललाई विजयी बनाएका शरद भेषवाकरले नटआउट १६ रन बनाए।

अन्य खेलाडीहरू प्रदिपसिंह ऐरी (८), ज्ञानेन्द्र मल्ल (७) र रोहित पौडेल (५) ले लामो इनिङ खेल्न सकेनन्।

मलेशियाका अनवर रहमानले दुई र फित्री सामले एक विकेट लिए।

भिरनदिपको पचास रन

मलेशियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो।

प्रारम्भिक ब्याट्सम्यान भिरनदिप सिंहले ५७ रन र कप्तान अहमत फैजले ४५ रनको योगदान गरेपछि मलेशियाले २० ओभरमा नौ विकेट गुमाएर १२८ रन बनाएको थियो।

अन्तिम १५ बलमा पाँच विकेट नगुमाएको भए मलेशियाको स्कोर अझ राम्रो हुन सक्थ्यो।

पारस खड्का

तस्बिर स्रोत, ICC

नेपालका तर्फबाट अन्तिम ओभरमा चार बलमा तीन विकेट लिएका करण केसी सबैभन्दा सफल बलर रहे।

स्पिनर सन्दीप लामिछाने र बसन्त रेग्मीले २-२ विकेट लिए भने सोमपाल कामीले पहिलो ओभरमै एक विकेट लिएका थिए।

नेपाल र मलेशियाको दोस्रो तथा अन्तिम खेल आइतवार हुनेछ।