न्यूनतम पारिश्रमिकविना काम गर्छन मनोरञ्जन क्षेत्रमा महिला

Published

उनले राजधानी काठमाण्डूको एउटा दोहोरी रेस्टुराँमा गीत गाउन थालेको दुई वर्षभन्दा बढी भयो।

काम अनुसारको दाम पाउन नसकेपछि रोजगारीकै खोजीमा राजधानी आएकी यी युवतीले रोजगारदाता परिवर्तन गरिन् तर आफ्नो श्रमको सही मूल्य पाउन नसकेको उनी बताउँछिन्।

"सरकारले न्यूनतम पारिश्रमिक भनी तोकेको १३ हजार कहिल्यै पाएको छैन। अहिलेसम्म नियुक्तिपत्र पाएको छैन। धेरैले महिनाको सात हजारमा काम गर्नु परिरहेको छ," उनले भनिन्।

साँझको पाँच बजे कार्यस्थलमा पसेपछि राति १२ वा एक नबज्दासम्म कामबाट उनले फुर्सद पाउने भनेको एक पटक १५ मिनेट खाजा समय हो।

कामअनुसारको पारिश्रमिक छैन

उनकै जस्तो अनुभव छ - पश्चिम नेपालबाट कामको खोजीमा काठमाण्डू आएकी अर्की एक युवतीको।

आफ्नो कामको सम्मान र काम अनुसारको पारिश्रमिक पाउन नसकेका थुप्रै महिला काठमाण्डूको मनोरञ्जन क्षेत्रमा कार्यरत रहेको उनी बताउँछिन्।

उनी भन्छिन्: "यहाँ काम योग्यता र अनुभवको आधारमा भन्दा पनि सुन्दर मुहार र ग्राहकसँग राम्रो व्यवहार गर्नेहरूले पाउँछन्। मैले कहिल्यै बिदा पाउँदिन र बिसन्चो भएर गयल भए तलब काटिन्छ।"

श्रम गरेर र देशभित्र आर्थिक गतिविधि बढाउने काममा संलग्न भएपनि कुनै पनि सरकारी निकायमा अभिलेख नभएकोमा उनीहरू दुखी छन्।

नियुक्तिपत्रको अभाव

रोजगारदाताले नियुक्तिपत्र समेत नदिएकाले चाहेर पनि सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षामा आवद्ध हुन नसकेको गुनासो उनीहरूको छ।

श्रम ऐनले नसमेटेका कारण दोहोरी र डान्सबारलगायतका क्षेत्रमा स्थायी जागिरे हुन नसक्दा चाँडोचाँडो काम फेर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ।

"सरकारले सबै क्षेत्रका श्रमिकहरूलाई समेट्ने गरी ऐन ल्याएको भन्छ तर हामी अट्न सकेनौँ। श्रम ऐनमै मनोरन्जन क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक भनी नलेखिदिँदासम्म हामीलाई नयाँ कार्यक्रमले समेट्न सक्नेछैन," पश्चिम नेपालकी युवतीले भनिन्।

त्यसो त नियुक्तिपत्रनै नभइ काम गरेपछि जागिरको सुनिश्चितता पनि नभएको र सँधै रोजगारदातानै हाबी हुने गरेको उनको अनुभव छ।

सरकारी आँकडा

यस क्षेत्रमा काम गर्ने पुरुषहरूको श्रमको पनि उचित कदर नभएको बताइन्छ।

तर पुरूषको तुलनामा महिलाहरू अझ बढी प्रताडित हुने गरेको मनोरञ्जन क्षेत्रमा कार्यरत कामदार बताउँछन्।

"हाम्रा पुरुष साथीहरू पनि उत्तिकै दुखी हुनुहुन्छ तर हामी अझ धेरै समस्यामा छौँ। साहुले बोल्ने अश्लील बोलीदेखि ग्राहकका नखरा हामीले नै खेप्नुपरेको छ।"

२०६५ सालमा गरिएको एउटा सरकारी सर्वेक्षण अनुसार काठमाण्डू उपत्यकाभित्र मात्र ५० हजार मनोरन्जन क्षेत्रमा कार्यरत कामदार छन्।

ग्राहकलाई खुशी पर्नुपर्ने

देशका अन्य भागमा सञ्चालित दोहोरी र डान्सबारलगायतका क्षेत्रमा कार्यरत मानिसहरूको सङ्ख्या कति छ भन्ने आधिकारिक तथ्याङ्क छैन।

दोहोरीमा गीत गाउने गायिकाहरू नभइ वेट्रेसमाथि पनि श्रम र शारीरिक शोषण हुने गरेको त्यस क्षेत्रमा छ वर्षदेखि काम गरिरहेकी एक जना महिलाले बताइन्।

उनले भनिन्: "चार हजार रुपैयाँबाट काम सुरु गरेको अहिले सात हजार पाएकी छु। तर हामी माथि आर्थिक शोषण मात्र होइन, गाह्रकलाई खुशी पार्न जे पनि सहनुपर्ने वातावरण छ।"

"धेरै खर्च नगरी ग्राहक फर्किए भने त्यो हाम्रै कमजोरी भन्दै पारिश्रमिक कटौतीको धम्की समेत दिइन्छ।"

सरकारी इच्छाशक्तिको कमी

मनोरञ्जन क्षेत्रमा श्रम ऐन कार्यान्वयन नभएकाले सामाजिक सुरक्षा योजनाबाट त्यस क्षेत्रका कामदार बञ्चित हुन पुगेको अधिकारकर्मी सृजना पुनले बताइन्।

पुन भन्छिन्: "अधिकांश दोहोरी र डान्सबारलगायतका व्यवसायहरूले प्यान नम्बर लिएको पाइन्छ। त्यसैले सरकारी संयन्त्रभित्र दर्ता भएर कमाइ गर्ने यी संस्थामा काम गर्ने कर्मचारीहरूको हक हितका लागि अनुगमन गर्ने र उनीहरूलाई पनि अन्य क्षेत्रका श्रमिक जस्तै पारिश्रमिक र सुविधा दिने इच्छाशक्ति सरकारले देखाउने हो भने त्यो त्यती कठिन छैन।"

"तर सरकारको त्यो गर्ने इच्छाशक्ति देखिएको छैन।"

मानव तस्करी

मनोरञ्जन क्षेत्रमा कार्यरत कतिपय महिलाहरू मानव तस्करीमा समेत पर्ने गरेको जानकारहरू बताउँछन्।

श्रम ऐन कार्यान्वयन हुन नसकेको जानकारी आफूसम्म नआएको सरकारी अधिकारीहरूको दाबी छ।

मनोरन्जन क्षेत्रमा कार्यरत महिलाहरूले त्यस्तो गुनासो लिएर आफ्नो कार्यालयमा नआएको र गुनासो वा उजुरीको अभावमा सरकारले पनि केही गर्न नसकेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक लालमणी ओझाले बताए।

तर नियुक्तिपत्रनै नपाएका यी महिलाहरू खुलेर रोजगारदाताविरुद्ध उजुरी गर्न जान नसक्ने अधिकारकर्मी बताउँछन्।

त्यसैले उनीहरूको हक अधिकारका सुनिश्चित गर्न सरकारनै अग्रसर हुनुपर्ने उनीहरूको भनाइ छ।