एसीसी यू-१९ क्रिकेट: मलेशियालाई हराउँदै नेपाल फाइनलमा

Published

नेपाली युवा क्रिकेट टोली मलेशियामा सञ्चालन भइरहेको १९ वर्ष मुनिको एशियाली पूर्वी क्षेत्रीय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

कप्तान रोहित पौडेल र भीम सार्कीले सहज ब्याटिङ गरेपछि नेपालले आयोजकलाई सात विकेटले पराजित गरेको हो।

मलेशियाले ४०.५ ओभरमा ८७ रनको सामान्य स्कोर बनाएपछि नेपालले १५.५ ओभरमा तीन खेलाडी गुमाउँदै लक्ष्य पूरा गरेको हो।

अब नेपालले फाइनलमा हङ्‍कङ र सिङ्गापुरको खेलको विजेतासँग खेल्ने छ।

फाइनलको विजेता टोली भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तान सम्मिलित युवा एशिया कपका लागि छनौट हुनेछ।

सुरुवाती दबाब

नेपालले सुरुवातमा लगातार तीन खेलाडी गुमाएपछि केही बेर दबाबमा देखिएको थियो।

तर अनुभवी कप्तान पौडेल र सार्कीले सरल ढङ्गले ब्याटिङ गरेर जिताए।

पौडेल ३१ रन र आक्रामक देखिएका सार्कीले ३३ रन जोडेका छन्। दुवैले दुई चौका र एक छक्का प्रहार गरेका थिए।

यसअधि पवन सर्राफले १८ रन, रित गौतमले तीन तथा खडकबहादुर बोहोरा शून्यमा आउट भएका थिए।

कसिकसाउ बलिङ

साविक विजेता नेपालले बलिङ रोज्दै कसिकसाउ खेल प्रदर्शन गरेको थियो।

किनरारा मैदानमा नेपालले पहिलो ओभरदेखि नै विकेट लिन सुरु गरेको थियो।

कमलसिंह ऐरीले पहिलो ओभरको पाँचौं बलमा अस्लाम मलिकको विकेट लिएका थिए।

त्यसलाई निरन्तरता दिने क्रममा चीनविरुद्ध उत्कृष्ट बलिङ गर्ने सागर ढकालले तीन विकेट लिए।

क्रिजमा जम्न खोजेका मोहम्मद आमिर (२४ रन) र हैकर मोहम्मद खैर (१२ रन) दुवैलाई कुशल मल्लले आउट गरे।