यू-१९ क्रिकेट: सागर र पवनको आकर्षक प्रदर्शन, नेपालद्वारा चीन १० विकेटले पराजित

Published

मलेशियाको किनरारा ओभल मैदानमा १९ वर्षमुनिको क्रिकेट प्रतियोगितामा नेपालले छिमेकी चीनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

नेपालको १० विकेटको विजयमा सागर ढकालले छ विकेट लिए भने पवन सर्राफले नटआउट ४६ रन बनाएका छन्।

क्रिकेटमा चीन नवप्रवेशी र कमजोर राष्ट्र हो भने नेपालले पाँच पटक यू-१९ विश्वकप खेलिसकेको छ।

प्रतियोगिताको विजयी टोली सेप्टेम्बरमा हुने यूथ एसिया कपमा छनौट हुनेछ।

सागरको शानदार बलिङ

नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि चीनको ब्याटिङ राम्रो हुन सकेन्।

मङ्गलवार सिङ्गापुरविरूद्ध ३२ रनमा अलआउट भएको चीनले नेपालसँग भने २३.१ ओभर खेल्दै ५३ रन बनाउन सक्यो।

नेपालको तर्फबाट सागर ढकालले छ विकेट लिए। उनले ९.१ ओभरमा १९ मात्रै खर्चेका छन्।

त्यस्तै तिलक राजभण्डारीले तीन विकेट लिए र कमलसिंह ऐरीले एक विकेट लिएका छन्।

चीनका दुई प्रारम्भिक ब्याट्सम्यानहरू गुहाओ गाओ र लियाङ चेनले समान १३ रन बनाए भने अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन्।

पवनको आक्रामक ब्याटिङ

प्रत्युत्तरमा नेपालले पाँच ओभरमै ५७ रन बनाएर खेल जितेको छ।

पवन सर्राफले २१ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ४६ रन बनाएका छन्। रित गौतमले १० रन बनाए।

नेपालले अब अर्को खेल शुक्रवार सिङ्गापुरसँग खेल्नेछ।

नेपालको समूहमा रहेको म्यान्मार नखेल्ने भएपछि बाँकी तीनमध्ये दुई देश जुलाई ८ मा हुने सेमिफाइनलमा पुग्नेछ।