किन विक्री भएनन् जर्मन तानाशाह 'हिट्लरका पेन्टिङ्ग'

पेन्टिङ्ग

तस्बिर स्रोत, AFP

Published

नाजी नेता एडोल्फ हिट्लरले बनाएको भनिएका पाँचवटा पेन्टिङ्ग जर्मनीमा गरिएको एउटा लिलाम बढाबढमा विक्री हुन सकेनन्।

लिलाम बढाबढ गर्ने केन्द्र वाइडलरले पेन्टिङ्गहरूको लिलाम बढाबढको शुरूवाती मूल्य ५१ हजार अमेरिकी डलर तोकेको थियो।

जर्मनीको नुरमबर्गमा लिलाम बढाबढको आयोजना गरिएको थियो, जुन शहर कुनैबेला हिटलरका बृहत् र्‍यालीहरूका लागि कुख्यात थियो।

र, पछि सोही शहरमा ठूला नाजी नेताहरूमाथि युद्ध अपराधका मुद्दाहरू चलाइएका थिए।

तोडमरोड

तोडमरोड गरिएको आरोपहरूका कारण लिलाम बढाबढ विफल हुन पुग्यो र नगर प्रमुखले वर्तमान अवस्थाका लागि उक्त लिलाम बढाबढ "असुहाउँदो भएको" बताएका छन्।

नाजी तानाशाहका फूलदानी र स्वस्तिक चिह्न भएको एउटा कुर्सी पनि लिलाम बढाबढमा राखिएका थिए।

सन् १९३३ देखि ४५ सम्म शासन गरेका हिट्लरको शासनकालमा जर्मनीले नरसंहारको नीतिलाई अङ्गीकार गर्दै दोस्रो विश्वयुद्ध शुरू गरेको थियो, जसमा करिब ६० लाख यहुदी र लाखौँ सर्वसाधारण एवम् लडाकु मारिए।

शैक्षिक वा ऐतिहासिक प्रयोजनबाहेक जर्मनीमा नाजीको परिचय झल्काउने चिह्न/सङ्केतहरूलाई सार्वजनिक रूपमा देखाउनु कानून विपरीत कार्य हो।

लिलाम बढाबढ गर्ने केन्द्रले आफ्नो पुस्तिकामा ती चिह्नहरूलाई तोडमरोड गरेर राखेको थियो।

कला

तस्बिर स्रोत, AFP

जर्मन प्रहरीले केन्द्रबाट केही विक्रीमा राखिएकासहित दर्जनौँ कलाकृतिहरू जफत गरेका थिए।

अभियोजनकर्ताहरूका अनुसार "एएच" अथवा "ए हिट्लर"को हस्ताक्षर भएका ६३ वटा सामान जफत गरिएका छन्।

अनुसन्धान

नुरमबर्गकी प्रमुख अभियोजनकर्ताले कागजातहरूलाई गलत देखाएको र छलछामको प्रयास गरेको आरोपमा पहिचान नखुलाएका मानिसहरूमाथि अनुसन्धान थालिएको बताइन्।

उनले भनिन्, लिलाम बढाबढ गर्ने केन्द्रले समन्वय गर्नुपर्थ्यो र स्वेच्छिक रूपमा पेन्टिङ्गहरू बुझाउनुपर्थ्यो।

भिएना अकाडेमी अफ फाइन आर्ट्सले हिट्लरका कलाकृतिलाई दुई पटक अस्वीकार गरेको बताइन्छ। युवा अवस्थामै उनले आफ्ना कलाकृति विक्री गरेको ठानिन्छ।

कम गुणस्तर भएका हिट्लरका दर्जनौँ कलाकृतिहरू कैयौँ वर्षयता विक्री भएका छन्।

सन् २०१५ मा वाइडलरले करिब चार लाख युरोमा उनका एक दर्जनभन्दा बढी पेन्टिङ्ग विक्री गरेको थियो।

कला

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, कला

त्यतिबेला खरिदकर्ताहरू जर्मनी, चीन, फ्रान्स, ब्राजिल र संयुक्त अरब एमिरेट्सबाट थिए।

सन् २०१४ मा सो केन्द्रले हिट्लरले बनाएको म्युनिख सभागृहको पेन्टिङ्ग एक लाख ३० हजार युरोमा विक्री गरेको थियो।