'चीनको सैन्य अभ्यास अमेरिका लक्षित'

तस्बिर स्रोत, EPA
पश्चिमी प्रशान्त क्षेत्रमा अमेरिका तथा उसका साझेदारहरूलाई आक्रमण गर्ने उद्देश्यले चीनले सैन्य अभ्यास गरिरहेको हुनसक्ने चेतावनी अमेरिकी रक्षा मन्त्रालयले दिएको छ।
पेन्टागनको एउटा प्रतिवेदनमा चीनले गत टाढा टाढासम्म आक्रमण गर्न सकिने गरी बमवर्षक विमानहरूको क्षमता बढाइरहेको उल्लेख छ।
कङ्ग्रेसलाई बुझाइएको सो वार्षिक प्रतिवेदनका अनुसार चीनले १० वर्षभित्र परमाणुअस्त्र प्रयोगको क्षमता सहितको लामो दूरीका बमवर्षक परिचालन गर्न सक्नेछ।
राष्ट्रपति सी जिनपिङले युद्ध लड्न र जित्न दिने आदेश सफलतापूर्वक पूरा गर्नका लागि चीनले थप 'गतिशील' सेनाको समेत विकास गरिरहेको पेन्टागनको दाबी छ।
चीनले उक्त प्रतिवेदनबारे टिप्पणी गरिसकेको छैन।
प्रतिवेदनले चीनको सुरक्षा खर्च बढेर अमेरिकी सुरक्षा खर्चको एकतिहाइ जति अर्थात् करिब १९० अर्ब डलर जति पुगिसकेको जनाएको छ।
प्रतिवेदनले अरू के भन्छ?
सम्भावित हवाई आक्रमणको चेतावनी चीनको सैनिक तथा आर्थिक महत्वाकाङ्क्षाको विस्तृत विश्लेषण गरेपछि दिइएको हो।

तस्बिर स्रोत, Getty Images
गत तीन वर्षमा चीनको जनमुक्ति सेनाले समुद्रमाथि बमवर्षक विमान उडाएर टाढाटाढासम्म पुगी आक्रमण गर्ने क्षमतामा विस्तार गरेको प्रतिवेदनमा उल्लेख छ।
अमेरिकाका लागि संवेदनशील मानिने सामुद्रिक क्षेत्रमा समेत उसले अनुभव बढाइरहेको र अमेरिका एवम् उसका साझेदारहरूमाथि आक्रमणका अभ्यास पनि गरिरहेको हुनसक्ने प्रतिवेदनले जनाएको छ।
तर चीनले त्यस्ता उडानहरू गरेरर के देखाउन खोजेको हो त्यो भने स्पष्ट नभएको प्रतिवेदनमा उल्लेख छ।
चासो
प्रतिवेदन भन्छ - चीनको जनमुक्ति सेनाले सम्भवत: गुआमसहित पश्चिमी प्रशान्त महासागरस्थित अमेरिका र उसका सहयोगीहरूको सैन्य आधारहरूमा आक्रमण गर्न सक्ने क्षमता छ भनेर देखाउन त्यसको गरेको हुनसक्छ।
प्रतिवेदनले चीनले आफ्नो स्थलसेनालाई 'युद्ध गर्न र जित्न' सक्ने गरी विकास गरिरहेको जनाएको छ।
प्रशान्त क्षेत्रमा चीनको बढ्दो गतिविधिमाथि अमेरिकाले चासो देखाउँदै आएको छ।
त्यस क्षेत्रमा अहिले पनि अमेरिको सैन्यको उल्लेखनीय उपस्थिति रहेको छ।





















