इजिप्ट: हमलाकारीसँग ‘आइएसको झण्डा’

Published

इजिप्टको साइनाइमा एउटा मस्जिदमा भएको भीषण हमलाबारे अनुसन्धान गरिरहेका अधिकारीहरुले, आक्रमणकारीहरुले इस्लामिक स्टेटको झण्डा बोकेको बताएका छन्।

कम्तीमा ३०५ जनाको ज्यान लिने गरी शुक्रबार भएको उक्त आक्रमणको कुनै पनि समूहले हालसम्म जिम्मेवारी दाबी गरेको छैन।

इजिप्टका सरकारी अभियोजनकर्ताले आक्रमणस्थलमा ३० जनासम्मको संख्यामा हमलाकारी रहेको बताएका छन्।

राष्ट्रपति अब्दुल फतह अल सिसीले अधिकतम बल प्रयोग गरेर हमलाको जवाफ दिने वाचा गरेका छन्।

कारबाही

इजिप्टको सेनाले उसकै शब्दमा आतंककारी ठेगानाहरुमाथि हवाई कारबाही थालिसकेको छ।

साइनाइ प्रायद्वीपमा इजिप्टको सुरक्षा फौजले वर्षौयता इस्लामवादी विद्रोहको सामना गरिरहेको छ।

उक्त क्षेत्रमा भएका कैयौं भीषण आक्रमणमा इस्लामिक स्टेटसँग आवद्ध लडाकुहरुको हात रहेको बताइन्छ।

शुक्रबारको आक्रमण मुलुककै इतिहासको सबैभन्दा ठूलो हमलामध्ये एक मानिएको छ।

मस्जिदमा बम हानिएको थियो र त्यसपछि ज्यान जोगाउन भागेका मानिसहरुलाई, बाहिर कुरेर बसेका बन्दुकधारीहरुले गोली हानेका थिए।

केही आक्रमणकारीले अनुहार ढाकेको र सैनिकको जस्तो पोशाक लगाएको बताइएको छ।

आक्रमणकारीहरुले वरपर गाडीहरु राखेर मस्जिद जोड्ने बाटोमा अवरोध खडा गरेका थिए।

पीडितहरुलाई सघाउने खोज्ने एम्बुलेन्समाथि पनि उनीहरुले गोली चलाएका थिए।

तीव्र

आक्रमणमा मारिएका ३०० भन्दा बढी मानिसमध्ये ३० जना केटाकेटी रहेको बताइएको छ।

अन्य १०० जनाभन्दा बढी घाइते भएका छन्।

इजिप्टको सेनाले इस्लामवादी राष्ट्रपति महोम्मद मोर्सीलाई अपदस्थ गरेपछि इस्लामवादी लडाकुहरुले साइनाइमा हमला तीव्र पारेको देखिन्छ।

आइएससँग सम्बन्धित साइनाइ प्रोभिन्स ग्रुप त्यहाँ हुने गरेका आक्रमणमा संलग्न रहेको बताइन्छ।

उक्त समूह इसाइ अल्पसंख्यकमाथिको हमलामा पनि संलग्न छ र सन् २०१५ मा रुसी विमानमाथि साइनाइमा भएको बम आक्रमणमा आफू संलग्न रहेको उसले बताउने गरेको छ।