मतदान सकियो, अब गणना र नतिजाको पालो

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा झन्डै ६० प्रतिशत मतदान भएको प्रारम्भिक आकलन गरेको छ। विभिन्न जिल्लास्थित हाम्रा संवाददाताहरूका अनुसार केही जिल्लामा बिहीवार राति र कतिपय जिल्लामा शुक्रवार बिहान मात्र गणना सुरु हुँदै छ।

सारांश

  • कतिपय जिल्लामा बिहीवार राति र अन्य जिल्लामा शुक्रवार बिहान मतगणना सुरु हुने
  • प्रतिनिधिसभाको निर्वाचनमा झन्डै ६० प्रतिशत मत खसेको प्रारम्भिक आकलन
  • मतदान सम्पन्न भएकोमा राष्ट्रपति सन्तुष्ट, प्रधानमन्त्रीद्वारा सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको जानकारी
  • चुनावविरोधी गतिविधि गर्ने २४ जना पक्राउ परेको प्रहरीको भनाइ
  • यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्
  • निर्वाचनमा प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि छुट्टाछुट्टै मतपत्र छन्
  • गत भदौ महिनामा जेन जी आन्दोलन भएपछि प्रतिनिधिसभा भङ्ग भएको थियो। त्यसैले निर्धारित समयभन्दा अगाडि नै अहिले निर्वाचन भएको हो
  • आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण वातावरणमा मतदान भएको जनाएको छ

लाइभ कभरेज

  1. एमाले अध्यक्ष केपी ओलीद्वारा भक्तपुरमा मतदान

    एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले भक्तपुरस्थित बालकोटमा मतदान गरेका छन्।

    तस्बिर स्रोत, Rajneesh Bhandari

    एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले भक्तपुरस्थित बालकोटमा मतदान गरेका छन्।

    उनी झापा ५ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन' पनि सोही क्षेत्रबाट उठेका छन्।

    दुवै जनालाई आफ्ना पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन्।

    भक्तपुरबाट मतदाता नामावलीमा सूचीकृत भएकाले ओलीले आफैँलाई मतदान गर्न पाएनन्।

  2. बालेन, गगन र प्रचण्डलाई 'हेलिकप्टर चढ्ने अनुमति', गनी अन्सारी, बीबीसी न्यूज नेपाली

    आयोग

    तस्बिर स्रोत, Getty Images

    निर्वाचन आयोगले मतदानको दिन तीन नेतालाई हेलिकप्टर चढ्ने अनुमति दिएको एकजना आयुक्तले बीबीसीलाई बताएका छन्।

    “गगन थापा [नेपाली कांग्रेसका सभापति], बालेन शाह [राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता] र पुष्पकमल दाहाल प्रचण्ड [नेपाली कम्युनिस्ट पार्टीका संयोजक] लाई हेलिकप्टर प्रयोग गर्ने अनुमति मैले दिएको हुँ,” निर्वाचन आयुक्त सगुन शम्शेर जबराले बीबीसी न्यूज नेपालीसँग भने।

    तीनैजना नेतालाई हेलिकप्टर प्रयोग गर्न बुधवार अनुमति दिइएको उनले जानकारी दिए।

    “संयमित भएर अनि सुरक्षा एवं मौसमलगायत पक्षको विचार गरी हेलिकप्टर प्रयोग गर्न हामीले भनेका छौँ,” जबराले अगाडि थपे।

    गाडी प्रयोगको हकमा जिल्लाबाट नेताहरूले अनुमति लिनुपर्छ भने हेलिकप्टर प्रयोग गर्ने अनुमति आयोगले केन्द्रीय कार्यालयले दिने गर्छ।

    प्रचण्ड चितवनका मतदाता हुन् भने बालेन र गगन थापा काठमाण्डूका मतदाता हुन्। तीनै जनाले आफ्नो जिल्लाबाहिर प्रतिस्पर्धामा छन्।

  3. झापामा २० प्रतिशत मत खस्यो

    झापाको कमल गाउँपालिका-५ स्थित मङ्गलमय मावि मतदान केन्द्रमा मतदान गर्नुहुँदै ९० वर्षीय मानबहादुर श्रेष्ठ

    तस्बिर स्रोत, तस्बिरः यज्ञराज आङ्देम्बे/रासस

    तस्बिरको क्याप्शन, झापाको कमल गाउँपालिकास्थित मङ्गलमय मावि मतदानकेन्द्रमा मतदान गर्दै ९० वर्षीय मानबहादुर श्रेष्ठ

    झापाको क्षेत्र नं ५ मा विहान ११ बजेसम्म २० प्रतिशतभन्दा बढी मत खसेको उक्त क्षेत्रका निर्वाचन अधिकृत विदुर कार्कीले बीबीसीलाइ बताएका छन्।

    विराटनगरस्थित बीबीसी संवाददता विक्रम निरौलासँग निर्वाचनअधिकृत कार्कीले भने, "एकदमै" उल्लासपूर्ण वातावरणमा मतदान भइरहेको छ। धेरै मतदाता लाइनमा मत खसाल्न बसिरहनुभएको छ"।

    स्थानीय पत्रकार राजु पोखरेलका अनुसार सबैजसो मतदान केन्द्रहरूमा मतदाताको भीड देखिएको छ।

    झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जिल्लामा शान्तिपूर्ण ढङ्गले मतदान जारी रहेको बताए।

    झापा ५ मा एक लाख ६३ हजारभन्दा बढी मतदाता छन्।

    उक्त क्षेत्रबाट एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वापाका वरिष्ठ नेता बालेन्द्र शाहसहित दुई दर्जन उम्मेदवार छन्।

    यसैबीच रास्वपाका वरिष्ठ नेता शाह चढेको हेलिकप्टर भद्रपुर विमानस्थलमा अवतरण हुन नसकेर काठमाडू फर्किएको उनको पार्टीका केन्द्रीय सदस्य रोहन कार्कीले बीबीसीलाई बताए।

    उनी काठमाण्डूमा मतदान गरेर आफू उम्मेदवार भएको क्षेत्रमा आउन लागेका थिए। झापा ५ कै अर्का उम्मेदवार केपी शर्मा ओलीले पनि भक्तपुरको बालकोटबाट मतदाता गरेका छन्।

    अन्यक्ष क्षेत्रबाट उम्मेदवार बनेका कारण ओली र शाह दुवैले आफूलाई मत हाल्न पाएनन्।

    मतदान गर्द लाममा बसेका मतदाताहरू
    तस्बिरको क्याप्शन, मतदान गर्द लाममा बसेका मतदाताहरू
  4. विभिन्न दलका प्रमुख नेताहरूले कसले कहाँ गरे मतदान

    विभिन्न राजनीतिक पार्टीका मुख्य नेताहरूले आफू स्थायी मतदाता रहेका विभिन्न जिल्लास्थित मतदानकेन्द्र पुगेर भोट खसालेकाा छन्।

    मतदान गर्नेहरूमा उम्मेदवार रहेका र नरहेका नेताहरू पनि छन्।

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको भङ्गालमा मतदान गरेकी छन्। उनी पहिला काठमाण्डूबाट प्रतिनिधिसभामा निर्वाचित भएकी थिइन्
    बाबुराम भट्टराई

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा जिल्लाको पालुङटार नगरपालिकास्थित मतदानकेन्द्रमा भोट हालेका छन्। उनले यसपालि उम्मेदवारी दर्ता गरेको भए पनि पछि फिर्ता लिएका थिए
    खिलराज रेग्मी

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पनि काठमाण्डूको पुरानोबानेश्वरमा मतदान गरेका छन्। त्यसपछि उनले राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै मतदानपछि गठन हुने सरकारलाई शान्ति, सुशासन र समृद्धिका जनअपेक्षालाई पूरा गर्नेतर्फ कदम चाल्न सुझाव दिए
    माधवकुमार नेपाल

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट जिल्लास्थित गौरको वडा नम्बर २ मा मतदान गरेका छन्। उनी पनि उम्मेदवार छन्
    राजेन्द्र लिङ्देन

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापामा मतदान गरेका छन्। उनी झापा निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार हुन्
    विष्णु पौडेल

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफैँ उम्मेदवार रहेको रूपन्देही क्षेत्र नं २ मा मतदान गरेका छन्
    शेखर कोइराला

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मोरङमा मतदान गरेका छन्। उनी पनि उम्मेदवार हुन्
    जनार्दन शर्मा

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आफूले उम्मेदवारी दिएको रुकुम पश्चिमको मुसीकोट नगरपालिका-५ सेरिगाँउमा मतदान गरेका छन्
    कुलमान घिसिङ

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र नम्बर ३ स्थित मतदानकेन्द्रमा भोट खसालेका छन्। उनी सोही क्षेत्रबाट उम्मेदवार छन्
    शङ्कर पोखरेल

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले तुलसीपुर उपमहानगरपालिका-१९ स्थित मतदानकेन्द्रमा मतदान गरेका छन्। उनी दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्
    ओमप्रकाश अर्याल

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गरेका छन्

    त्यस्तै सुनसरीबाट उम्मेदवारी दिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ ले धरान उपमहानगरपालिका–१८ स्थित मतदान केन्द्रमा मतदान गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले चितवनको भरतपुर महानगरपालिका वडा नं १४ स्थित मतदानकेन्द्रबाट मतदान गरेका छन्।

    पूर्वसभामुख देवराज घिमिरेले झापा २ अन्तर्गत अर्जुनधारामा मतदान गरेका छन्। उनी त्यहाँ उम्मेदवार छन्।

  5. अधिकांश स्थानमा अवस्था शान्तिपूर्णः गृह मन्त्रालय, १०:३० बजेसम्म औसतमा ९ प्रतिशत मतदान

    आनन्द काफ्ले

    तस्बिर स्रोत, MOHA

    गृह मन्त्रालयले आज बिहान १०:३० बजेसम्म औसतमा ९ प्रतिशत मतदान भएको जनाएको छ।

    त्यसअघि निर्वाचन आयोगले करिब ६ प्रतिशतले बिहान १० बजेसम्म भोट खसाएको जनाएको थियो।

    झन्डै १ करोड ९० लाख मतदाताहरू रहेको चुनावमा अपराह्ण ५ बजेसम्म भोट खसाल्ने समय तोकिएको छ।

    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले अधिकांश क्षेत्रमा शान्तिपूर्ण ढङ्गले नै मतदान भइरहेको बताए।

  6. सर्लाही ४ को मतदानकेन्द्रमा झडपपछि बिथोलिएको मतदान पुनः सुरु

    सर्लाहीको नक्सा

    नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको सर्लाही क्षेत्र नं ४ को बलारा नगरपालिकास्थित एउटा मतदानकेन्द्रमा झडप हुँदा झन्डै १५ मिनेट रोकिएको मतदान पुनः सुरु भएको अधिकारीहरूले बताएका छन्।

    प्रमुख निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले दुवै पक्षलाई सम्झाई बुझाइ गरिएको र मतदान सुरु भएको जानकारी दिए।

    गृह मन्त्रालयका अधिकारीले पनि त्यहाँ सामान्य झडप भएको बताएका छन्।

    उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरेशकुमार सिंह उम्मेदवार छन्।

  7. ६५ प्रतिशतभन्दा बढी मत खस्ने निर्वाचन प्रमुखको अपेक्षा, प्रदीप बस्याल, बीबीसी न्यूज नेपाली

    मतदाता

    तस्बिर स्रोत, Reuters

    बिहीवार मतदान गरेपछि पत्रकारहरूसँग बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ६५ प्रतिशतभन्दा बढी मत खस्ने अपेक्षा गरिएको बताएका छन्।

    उनले बिहानैदेखि एक दर्जनभन्दा बढी हिमाली जिल्लाका अधिकारीसँग सम्पर्कमा रहेको भन्दै त्यहाँ मौसम अनुकूल रहेको र मतदान जारी रहेको बताए।

    बीरगञ्जका मतदाता

    तस्बिर स्रोत, Madhuri Mahato/BBC

    तर विगतका चुनावमा पाँच प्रतिशतजित मत बदर भएको देखिन्छ।

    यस निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६८९ जना योग्य मतदाता छन्।

    त्यसैले यस पटक निर्वाचन सचेतना कार्यक्रमलाई समेत व्यापक रूपमा सञ्चालन गरिएको निर्वाचन आयोगका अधिकारीहरूले बताउँदै आएका छन्।

    यसअघिका चुनावमा कहिले कति मत खसेको थियो

    • विसं २०७९: ६१.६३ प्रतिशत
    • विसं २०७४: ६८.६७ प्रतिशत
    • विसं २०७०: ७८.३४ प्रतिशत (दोस्रो संविधानसभा)
    • विसं २०६४: ६१.७० (पहिलो संविधानसभा)
    • विसं २०५६: ६५.७९ प्रतिशत
    • विसं २०५१: ६१.८६ प्रतिशत
    • विसं २०४८: ६५.१५ प्रतिशत

    स्रोत: निर्वाचन आयोग

    डडेल्धुराका एक वृद्ध मतदाता

    तस्बिर स्रोत, Prakash Parki/BBC

  8. झापा जान बालेन चढेको हेलिकप्टर किन काठमाण्डू फर्कियो, गनी अन्सारी, बीबीसी न्यूज नेपाली

    मतदान गर्दै बालेन्द्र शाह

    तस्बिर स्रोत, AFP via Getty Images

    झापाबाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन' चढेको हेलिकप्टर झापा नपुगी काठमाण्डू फर्केको अधिकारीहरूले बताएका छन्।

    त्रिभुवन विमानस्थलबाट झापाका लागि उडेको एक घण्टापछि काठमाण्डू नै फर्किएको विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले बीबीसीलाई बताए।

    उनका अनुसार बिहान ९ः११ बजे त्रिभुवन विमानस्थलबाट उडेको हेलिकप्टर १०ः०९ बजे अवतरण गरेको थियो।

    “प्राविधिक कारणले होइन। ‘अपरेशनल रिक्वाअरमन्ट’ का कारण अवतरण हुन नसकेको एटीसीले जनाएको छ,” बीबीसी न्यूज नेपालीसँग बस्नेतले भने।

    जानकारहरूका अनुसार हवाई सञ्चालनका लागि अनुकूल अवस्था नहुनुलाई 'अपरेशनल रिक्वाअरमन्ट' भनेर बुझिन्छ।

    काठमाण्डूमा मतदान गरेर आफू उठेको झापास्थित निर्वाचन क्षेत्रतर्फ जान लागेका थिए। एमाले अध्यक्ष केपी शर्मा पनि उम्मेदवार रहेको झापा ५ चर्चामा छ।

    यो पनि पढ्नुहोस्

  9. भोट हाल्ने सही तरिका

    मतदान गर्न जान लाग्नुभएको छ तर कसरी गर्ने भन्नेमा अलमलमा हुनुहुन्छ भने भिडिओ तपाईँका लागि उपयोगी हुन सक्छ।

  10. सर्लाही क्षेत्र नम्बर ४ को ताजा अवस्था के छ?

    सर्लाहीको क्षेत्र नम्बर ४ मा शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको र त्यहाँका विभिन्न मतदानकेन्द्रको आफूहरूले अनुगमन गरिरहेको अधिकारीहरूले बताएका छन्।

    निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले बीबीसीसँग भने, “मतदान स्वतःस्फूर्त रूपमा भइरहेको छ। हामी पनि घुमिरहेका छौँ। त्यस्तो झैझगडा भएको हामीलाई थाहा छैन।"

    "हामी पनि मतदानकेन्द्रमा घुमिरहेका छौँ। राम्रोसँग चुनाव भइरहेको छ।”

    “एउटा निर्वाचनमा हाम्रो कारणले होइन। त्यो जनता-जनताबीचकै आपसी समस्या हो। त्यहाँ हामी पनि पुगेर आयौँ। अहिले त्यस्तो केही छैन।”

    प्रत्येक मतदानस्थलमा बिहान १०ः३० बजे २५० जति मत खसेको आकलन गरिएको बताए।

  11. अहिलेसम्म हामीलाई के थाहा छ

    • मतदान देशैभरि धेरैजसो स्थानमा बिहान ७ बजे निर्धारित समयमा नै आरम्भ भयो
    • साढे तीनघण्टा बितिसक्दा झन्डै ६ % मत खसेको निर्वाचन आयोगले बताएको छ
    • धेरै स्थानमा मतदाताहरूको लामो लाइन लागेको हाम्रा संवाददाताहरूले जनाएका छन्। बिहानको प्रारम्भिक क्षणमा धेरैजसो पाका उमेरका मतदाताहरू सहभागी भएको देखिएको छ
    • पहिलोपल्ट मतदानमा सहभागी जेन जी पुस्ताका मतदाताहरूले मतदान गर्न पाउँदा आफू निकै उत्साहित भएको र आफूहरूले मत दिएका उम्मेदवारहरूले मतदातालाई निराश नपार्लान् भनेर आशा गरेको बताएका छन्।
    • बिहानै अन्तरिम प्रधानमन्त्री, प्रमुख निर्वाचन आयुक्त लगायतले पनि मतदान गरेका छन्
    • चर्चामा रहेका मुख्य दलका उम्मेदवारहरूले पनि मतदान गरेका छन्। झापा ५ का बालेन साहद्वारा काठमाण्डूको गैरीगाउँमा, सर्लाही ४ का गगन थापाद्वारा काठमाण्डूको मैतीदेवीमा र रुकुम पूर्वका पुष्पकमल दाहाल प्रचण्डले चितवनमा मतदान गरेका छन्
    • विभिन्न स्थानमा झडप र मतदान अवरोध गर्ने प्रयास भएको समाचार आएको छ। दोलखाको एउटा मतदानकेन्द्रमा स्थिति असहज बनेपछि प्रहरीले हवाई फायर गरेको अधिकारीहरूले बताएका छन्। "मालु मतदानकेन्द्रमा निर्वाचन कर्मचारीमाथि हातपात भएपछि हवाई प्रहार भएको हो,” दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले बीबीसी न्यूज नेपालीसँग भने।
    • रोचक विवरणः डोल्पास्थित ४,००० मिटरको उचाइमा रहेको मतदान केन्द्रहरूमा पनि मतदान। १०५ वर्षीय मतदाताबाट काठमाण्डूको बुढानीलकण्ठमा मतदान।
  12. ‘सोमवारसम्म सबै मतगणना सकिन्छ’

    रामप्रसाद भण्डारी

    तस्बिर स्रोत, ECN

    कार्यवाहक प्रमुख आयुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सोमवारसम्म सम्पूर्ण मतगणना सकिने दाबी गरेका छन्।

    विगतमा सुस्त गणनाको आलोचना भएको अवस्थामा पत्रकारहरूसँग कुरा गर्दै उनले भनेः “बढीमा २५ गतेसम्म हामीले सबै मतपरिणाम घोषणा गरिसक्ने अठोट गरेका छौँ।”

    मतदाताको सङ्ख्याअनुसार गणना टोलीको सङ्ख्या निर्धारण गरिने भण्डारीले बताए।

    “धेरै सङ्ख्या भएका ठाउँमा धेरै गणना टोली हुन्छ। छिटोभन्दा छिटो मतगणना सम्पन्न गर्न हामी [केन्द्रबाट] सहजीकरण गर्छौँ।”

  13. ओली र बालेन उम्मेदवार रहेको झापा ५ मा झन्डै २३ प्रतिशत मतदान

    निर्वाचन आयोगका अधिकारीहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह उम्मेदवार रहेको झापाको निर्वाचन क्षेत्रमा केही बेर अघिसम्म २२-२३ प्रतिशत जति मतदान भइसकेको जनाएका छन्।

    झापा पाँचका निर्वाचन अधिकृत विदुरकुमार कार्कीले मतदान शान्तिपूर्ण रूपमा भइरहेको बीबीसीलाई जानकारी दिए।

    उनले भने, “मतदान केन्द्रमा युवाभन्दा वृद्ध वृद्धाको चहलपहल छ। हामी पनि १२ वटा जति मतदान केन्द्रहरूमा पुगेर आइसक्यौँ। मतदाताहरूको उपस्थिति उत्साहजनक छ।”

  14. बूढानीलकण्ठमा १०५ वर्षीय खड्काले गरे पहिलो मतदान

    काठमाण्डूको बूढानीलकण्ठ नगरपालिका–२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रूपमा १०५ वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले मतदान गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै खड्काले खुसी व्यक्त गर्दै भने, “यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको छ। देशले योग्य, इमानदार र जनताका पक्षमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ।”

    मतदान केन्द्रमा लामबद्ध मतदाताहरूले खड्काप्रति सम्मान प्रकट गर्दै कैयौँले उनीसँग फोटो खिचेर मतदानको क्षणलाई स्मरणीय बनाएका थिए।

  15. नेपाली कांग्रेसका सभापति गगन थापाले के भने

    गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाण्डू-४ को मैतीदेवीस्थित मतदानकेन्द्रमा मतदान गरेका छन्।

    उनी यसअघि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। तर यसपालि उनी सर्लाही-४ बाट उम्मेदवार बनेका छन्।

    पार्टीले उनलाई सम्भावित प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ।

    मतदान गर्नुअघि बीबीसीसँग सङ्क्षिप्त कुराकानी गर्दै थापाले आफू "निकै उत्साहित" भएको बताए।

    मतदान गरेपछि उनले मधेशको सर्लाहीमा निर्वाचन प्रचारका क्रममा आफूले अहिलेसम्म काठमाण्डूबाट प्राप्त गरेको राजनीतिक अनुभव अपर्याप्त रहेछ भन्ने महसुस गरेको बताइए।

    "नेपाल विविधता भएको देश हो। विविधता भएको देशमा मैले लिने नीतिहरू, मैले गर्ने निर्णयहरू... म अहिले यस्तो अवस्थामा छु अब कि मैले सबैतिर समान दृष्टिकोण प्रस्तुत गर्नुपर्छ। मैले मधेश पनि आफ्नै ठान्छु, पहाड पनि आफ्नै ठान्छु। मलाई सहरको कुरा पनि थाहा छ, गाउँको कुरा पनि थाहा छ।

    पार्टीको विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका थापाको नेतृत्वमा नेपाली कांग्रेस निर्वाचनमा सहभागी भएको हो।

    मतदान गर्दै गगन थापा
  16. बिहान १० बजेसम्म ६ प्रतिशत मत खस्योः निर्वाचन आयोग

    मतदान

    तस्बिर स्रोत, Prakash Ghimire/BBC

    निर्वाचन आयोगले बिहान १० बजेसम्म करिब ६ प्रतिशत मत खसेको जनाएको छ।

    “बिहान १० बजेसम्म देशभरि १०,६५,१२० (करिब ६ प्रतिशत) मत खसेको जानकारी प्राप्त भएको छ,” आयोगले भनेको छ।

    देशभरि शान्तिपूर्ण रूपमा मतदान भइरहेको भन्दै आयोगका अधिकारीहरूले मतदाताहरूको उत्साहपूर्ण सहभागिता देखिएको बताएका छन्।

    यद्पि दोलखाको एउटा मतदानकेन्द्रमा तनाव उत्पन्न भएपछि बिहान केही बेर मतदान अवुरुद्ध भएको थियो।

  17. दोलखाको एउटा मतदानकेन्द्रमा हवाई फायर, मतदान केही बेर अवरुद्ध, गनी अन्सारी

    दोलखाको नक्सा

    दोलखाको एउटा मतदानकेन्द्रमा स्थिति असहज बनेपछि प्रहरीले हवाई फायर गरेको अधिकारीहरूले बताएका छन्।

    “मालु मतदानकेन्द्रमा निर्वाचन कर्मचारीमाथि हातपात भएपछि हवाई प्रहार भएको हो,” दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले बीबीसी न्यूज नेपालीसँग भने।

    “स्थिति असहज बनेपछि केही बेर मतदान अवरुद्ध भएको थियो। अहिले मतदान फेरि शुरू भइसकेको छ,” आलेले भने।

  18. गृह मन्त्रालयको कन्ट्रोल सेन्टरबाट सुरक्षा अनुगमन

    निर्वाचन सुरक्षाबारे गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरूले गृह मन्त्रालयको कन्ट्रोलमा बसेर अनुगमन गरिरहेको अधिकारीहरूले बताएका छन्।

    गृह मन्त्रालयले जनाएअनुसार गृह मन्त्रालयका उच्च अधिकारीको टोलीले गृह मन्त्रालयको कन्ट्रोल सेन्टरमा बसी सबै निर्वाचन क्षेत्रहरुको सुरक्षाबारे समन्वय र अनुगमन गरिरहेका छन्।

    गृहमन्त्रालयकाो कन्ट्रोल कक्षबाट अनुगमन

    तस्बिर स्रोत, MOHA

  19. पहिलो पटक र नवौँ पटक भोट हालेका मतदाता के भन्छन्

    गत भदौ महिनामा जेन जी आन्दोलन भएपछि ‍अहिले प्रतिनिधिसभाको निर्वाचनका लागि देशभरि मतदान भइरहेको छ।

    आज बिहान मतदान गरेका केही मतदातासँग हामीले कुराकानी गरेका छौँ।

  20. निर्बाध रूपमा देशभरि मतदान जारीः आयुक्त जबरा

    सगुन शम्शेर जबरा

    तस्बिर स्रोत, Nepal Photo Library

    तस्बिरको क्याप्शन, निर्वाचन आयुक्त सगुन शम्शेर जबरा

    अहिले देशभरि निर्बाध रूपमा सबै मतदान केन्द्रहरूमा मतदान जारी रहेको एकजना आयुक्तले बीबीसीलाई बताएका छन्।

    “कहीँ कतै कुन किसिमको समस्या देखिएको छैन। शान्तिपूर्ण ढङ्गले निर्बाध रूपमा मतदान जारी छ,” आयुक्त सगुन शम्शेर जबराले बीबीसी न्यूज नेपालीसँग भने।

    काठमाण्डूको कान्तिपथस्थित आयोगको मुख्यालयस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट आयुक्तहरूले निर्वाचनसम्बन्धी गतिविधिलाई नियालिरहेका छन्।

    “समन्वयसम्बन्धी समस्या भएर अपवादमा कतैकतै सामान्य असमझदारी भएको हुन सक्छ। तर समग्रमा राम्ररी मतदान भइरहेको अवस्था छ,” जबराले थपे।

    बिहीवार बिहान ७ बजेबाट शुरू भएको मतदान दिउँसो ५ बजेसम्म जारी रहने अधिकारीहरूले बताएका छन्।

    निर्वाचन अधिकृतहरूका अनुसार देशभरि मतदानकेन्द्रहरूमा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ।

    देशभरि १६५ क्षेत्रमा एकसाथ मतदान भइरहेको छ।