निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा झन्डै ६० प्रतिशत मतदान भएको प्रारम्भिक आकलन गरेको छ। विभिन्न जिल्लास्थित हाम्रा संवाददाताहरूका अनुसार केही जिल्लामा बिहीवार राति र कतिपय जिल्लामा शुक्रवार बिहान मात्र गणना सुरु हुँदै छ।
सारांश
कतिपय जिल्लामा बिहीवार राति र अन्य जिल्लामा शुक्रवार बिहान मतगणना सुरु हुने
प्रतिनिधिसभाको निर्वाचनमा झन्डै ६० प्रतिशत मत खसेको प्रारम्भिक आकलन
मतदान सम्पन्न भएकोमा राष्ट्रपति सन्तुष्ट, प्रधानमन्त्रीद्वारा सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको जानकारी
चुनावविरोधी गतिविधि गर्ने २४ जना पक्राउ परेको प्रहरीको भनाइ
यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्
निर्वाचनमा प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि छुट्टाछुट्टै मतपत्र छन्
गत भदौ महिनामा जेन जी आन्दोलन भएपछि प्रतिनिधिसभा भङ्ग भएको थियो। त्यसैले निर्धारित समयभन्दा अगाडि नै अहिले निर्वाचन भएको हो
आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण वातावरणमा मतदान भएको जनाएको छ
लाइभ कभरेज
चितवनमा ५१.८१ प्रतिशत मतदान
निर्वाचन आयोगले उपलब्ध गराएको चारबजेसम्मको तथ्याङ्क अनुसार चितवन जिल्लामा कुल मतदातामध्ये कुल ५१.८१ प्रतिशतले मतदान गरिसकेका छन्। चितवन क्षेत्र नम्बर १ मा ५३.६९प्रतिशत, चितवन क्षेत्र नम्बर २ मा ५४.६३प्रतिशत, चितवन क्षेत्र नम्बर ३ मा ५१.०६ प्रतिशतले मतदान गरेका हुन्।
तस्बिरको क्याप्शन, चितवनकी मतदाता
ओली-बालेन निर्वाचन क्षेत्रमा ३ बजेसम्म ५५ प्रतिशत मतदान
झापा ५ मा बिहिवार दिउसो ३ बजेसम्म करिब ५५
प्रशित मत खसेको त्यहाँका निर्वाचन अधिकृत विदुरकुमार कार्कीले बीबीसीलाई
बताएका छन्।
उक्त क्षेत्रमा कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेका छन्।
एमाले
अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता
बालेन्द्र शाह उक्त
क्षेत्रबाट उम्मेदवार बनेका छन्।
यसैगरि झापा १ मा ४४ प्रतिशत, झापा २ मा ४४ प्रतिशत, झापा ३ मा ३९ प्रतिशत र झापा ४ मा ३१ प्रतिशत मत खसेको
छ।
पाँच निर्वाचन क्षेत्र रहेको झापामा समग्रमा ४१ प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालयले उपलब्ध
गराएको तथ्यांकमा उल्लेख छ।
झापाबाट पूर्व सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर, राप्रपापाका अध्यक्ष राजेन्द्र
लिङ्गदेन पनि उम्मेदवार छन्।
झापा क्षेत्र नं ५ अन्तर्गत दमकका मतदाता श्याम बरालले मतदान केन्द्रहरुमा निकै चहल पहल देखिएको बताए।
मतदान गर्न जेष्ठ नागरिक, युवा र काखे नानी बोकेर महिलाहरु पनि लाइनमा लागेका आफूले देखेको उनले बताए।
झापाका सबैजसो मतदान केन्द्रहरुमा मतदाताको उत्साहपूर्वक सहभागिता रहेको त्यहाँस्थित पत्रकार चिरन्जीवी घिमिरेले बताए।
उनले भने, यसपालि विगतमा भन्दा मतदान प्रतिशत निकै बढने अनुमान छ ।
तस्बिर स्रोत, RSS
दिउँसो २ बजेसम्ममा ३३.५% मतदान, आयोगले बीबीसीलाई अरू के भन्यो, प्रदीप बस्याल, बीबीसी न्यूज नेपाली
तस्बिर स्रोत, Hikmat Bahadur Rawal/BBC
बिहीवार दिउँसो २ बजेसम्म ३३.५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
बीबीसीसँग कुरा गर्दै आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले यतिखेर दोलखा जिल्लाको एउटा केन्द्रमा बाहेक नेपालभरि मतदान अवरोध हुने गरी ठूलो घटना नभएको बताए।
उनले देशभरिबाट स्वचालित रूपमा प्रणालीमा सङ्कलित तथ्याङ्क नभएकाले सूचना सङ्कलनको ‘लम्बे च्यानलका कारण’ यसभन्दा बढी मतदान भएको हुनसक्ने बताउँछन।
तस्बिर स्रोत, Hikmat Bahadur Rawal/BBC
साँझ ५ बजेसम्म मतदानस्थल पुग्नेहरूले मतदान गर्न पाउँछन्।
"देशका धेरै सुगम स्थानमा आज अबेरबाट मतगणना सुरु हुन सक्छ। दुर्गम भेगमा मौसमले साथ दिए आझ साँझ नत्र भोलि बिहानबाट हेलिकप्टरमा मतपेटिका ओसार्ने काम हुने छ," सहायक प्रवक्ता जीसीले भने।
"धेरैतिर भोलि बिहानबाट मतगणना सुरु हुने छ। र गणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्ने आफ्नो योजनामा आयोग दृढ छ।"
समानुपातिक र प्रत्यक्षतर्फ निर्वाचन प्रणालीमा गरी कुल ६,५०० उम्मेदवार प्रतिस्पर्धामा छन्। योग्य मतदाताको सङ्ख्या भने एक करोड करोड ८९ लाखभन्दा बढी छ।
आजको चुनावबाट नयाँ प्रधानमन्त्री कसरी छानिन्छन्
तस्बिर स्रोत, GETTY/REUTERS/RSS/BBC
आज जारी मतदानबाट प्रतिनिधिसभामा २७५ सांसद निर्वाचित हुने छन्। तिनै सांसदहरूले कार्यपालिका हाँक्न नयाँ प्रधानमन्त्री छान्ने छन्।
नेपालमा प्रत्यक्ष जनमतमार्फत् देशको कार्यकारी प्रमुख छानिँदैन। प्रधानमन्त्री बन्न पहिला प्रतिनिधिसभाको सांसद निर्वाचित हुनुपर्छ।
यसपालि केही प्रमुख दलहरू आफ्नो दलले सरकार बनाउने अवसर पाए त्यसको नेतृत्व गर्ने दाबेदारका रूपमा सम्भावित प्रधानमन्त्रीको नाम घोषणा गरेरै चुनावी अभियानमा सहभागी भएका छन्।
नेपालको संविधानको धारा ७६ मा प्रधानमन्त्री नियुक्तिको प्रक्रिया उल्लेख छ। प्रतिनिधिसभामा कुनै पार्टीले स्पष्ट बहुमत पाएको अवस्थामा त्यही दलको संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्छन्।
कुनै पार्टीको बहुमत नआएमा बहुमत दलको समर्थन जुटाउने सांसदलाई प्रधानमन्त्री बन्ने बाटो खुल्छ। त्यसका लागि संसदीय दलको नेता भइराख्नुपर्दैन। कसैले बहुमत जुटाउन नसके सबैभन्दा ठूलो पार्टीको संसदीय दलका नेता प्रधानमन्त्री नियुक्त हुन्छन्।
गगन थापा र अमरेशकुमार सिंहबीच चर्को प्रतिस्पर्धा हुने ठानिएको सर्लाही ४ मा स्थानीय पत्रकारले जे देखे
तस्बिर स्रोत, Bishwanath Thakur
देशका १६५ निर्वाचन क्षेत्रमध्ये निकै चर्चामा रहेको एउटा क्षेत्र सर्लाही ४ पनि हो। त्यहाँ नेपाली कांग्रेसमा सभापति गगन थापा र कुनै बेला कांग्रेसकै नेता
रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ।
सो क्षेत्रका दुईवटा मतदानकेन्द्रमा केही बेर मतदान स्थगित भएर फेरि सुरु भयो।
“सुरुमा बसबरिया
गाउँपालिका-३ भवानीपुरस्थित जनता मावि मतदानकेन्द्रमा एक वृद्ध
मतदाताको विषयमा दुई दलका नेताबीच विवाद हुँदा केहीबेर मतदान अवरुद्ध भयो,” स्थानीय पत्रकार विश्वनाथ
ठाकुरले भने।
आपसी समझदारीपछि त्यहाँ फेरि मतदान सुरु भयो। तर त्यसको केही समयपछि अर्को
मतदानकेन्द्रमा विवाद भएर मतदान अवरुद्ध हुन पुग्यो।
“बलरा-४ स्थित श्री प्राथमिक विद्यालयमा रहेको मतदानकेन्द्रमा मतदाताको
पहिचानको विषयमा विवाद भएर मतदान स्थगित भयो। सहमतिपछि फेरि मतदान हुन थाल्यो, ठाकुरले भने।
अमेरशकुमार
सिंह बलराकै हुन्।
तस्बिर स्रोत, Bishwanath Thakur
ठाकुरका अनुसार विगतका चुनावहरूमा पनि सो क्षेत्रमा विवाद भएका दृष्टान्त छन्।
सर्लाही क्षेत्र नं ४ मा एमालेमा अमनिशकुमार यादव, जनता समाजवादी पार्टी नेपालका रामेश्वरराय यादव, जनमत पार्टीका राकेशकुमार मिश्र, नेपाली कम्युनिस्ट पार्टीका रजनीश रायसहितका उम्मेदवाहरू प्रतिस्पर्धामा छन्।
त्यहाँ मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको पत्रकार ठाकुर बताउँछन्।
“होली पर्व भएर पनि होला जिल्लाबाहिर बस्ने सबै मानिसहरू घर फर्केकाले सहभागिता उत्साहजनक देखिन्छ।”
हिमाली तथा पहाडी क्षेत्रमा सोमवार फागुपर्व मनाइएकोमा तराई मधेशमा बुधवार मनाइएको थियो।
'ओखलढुङ्गाको मानेभन्ज्याङस्थित एउटा केन्द्रमा मतदान गर्न कोही गएका छैनन्', विक्रम निरौला, विराटनगर
तस्बिर स्रोत, Habindra Rai
तस्बिरको क्याप्शन, ओखलढुङ्गाको मानेभन्ज्याङस्थित एउटा केन्द्रमा मतदान गर्न कोही गएनन्
ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ७ टोक्सेलस्थित शहीद आधारभूत विद्यालय मतदान केन्द्रमा स्थानीय मतदाता मतदान गर्न नगएको बताइएको छ।
प्रदेशस्तरीय अस्पताल निर्माण गर्न प्रदेश सरकारले बजेट नदिएको भन्दै स्थानीय मतदाताले मतदान नगर्ने बताएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बीबीसीलाई बताए।
मतदान अधिकृत परवासी राईले मतदान कार्यक्रमका लागि छ जना कर्मचारीहरू बिहानैदेखि तयारी अवस्थामा रहे पनि बिहीवार दिउँसो १ बजेसम्म कोही पनि मतदान गर्न नआएको बताइन्।
उक्त मतदान केन्द्रमा ७०१ जना मतदाता रहेको उनले जानकारी बताइन्।
मतदान केन्द्रको सुरक्षामा खटिएका नेपाल प्रहरीका निरीक्षक बुद्धकुमार श्रेष्ठले केही मतदाताहरू मतदानस्थलबाहिर देखिए पनि मतदान गर्न भने नआएको बताए।
गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीका अनुसार २०७४ सालमै कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट त्यहाँ प्रादेशिक अस्पताल बनाउने भनेर स्थानीयवासीको १६५ रोपनी जग्गा सरकारलाई हस्तान्तरण गरिएको थियो।
अस्पताल बनाउन ९९ करोड रुपैयाँ लाग्ने आकलनसहित विस्तृत परियोजना प्रतिवेदन पनि तयार भएको तर प्रदेश सरकाले बजेट नदिएका कारण असन्तुष्ट स्थानीयवासीले कसैलाई पनि मत नदिने सल्लाह गरेको उनको दाबी छ।
ओखलढुङ्गाका प्रुमख जिल्ला अधिकारी मेखबहादुर मग्रान्तीले अस्पताल बनाउने योजना अघि नबढेको स्थानीय मतदाताको गुनासो रहेको र कोही पनि मतदान गर्न नआएको भन्ने जानकारी आफूले पाएको बीबीसीलाई बताए।
मुगुमा ४२ प्रतिशत मतदान
मुगु जिल्लामा अपराह्ण १ बजेसम्म ४२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
कुल ३६,०३१ मतदाता रहेको यो जिल्लामा १५,७०५ जनाले मतदान १ बजेसम्म भोट खसालेका थिए।
यो हिमाली जिल्लामा मतदान गर्ने महिलाको सङ्ख्या पुरुषभन्दा बढी छ।
आयोगका अनुसार ८,०९७ जना महिला र ७,६०८ जना पुरुषले मतदान गरेका छन्।
मतदान गर्न कति समय लाग्छ?
भिडिओ क्याप्शन सुरु हुँदैछ, मतदान गर्न कति समय लाग्छ?
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर मतदान भइरहेको छ।
अझै मतदान गर्न बाँकी मतदाताहरूबीच मतदान गर्न कति समय लाग्छ भन्ने जिज्ञासा हुन सक्छ।
काठमाण्डूको वसन्तपुर क्षेत्रमा खटिएका मतदान अधिकृत मनोहर घिमिरेसँग कुरा गरेर बीबीसी न्यूज नेपालीका कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
दोलखामा पुनः मतदानको माग, सहमतिको प्रयास जारी, शरद केसी, बीबीसी न्यूज नेपाली
दोलखाको
तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मालु मतदानकेन्द्रमा रोकिएको मतदान अझै सुरु हुन सकेको छैन।
गोल्मेश्वर
मावि (ग) मतदानकेन्द्रका मतदान अधिकृत कृष्ण नन्दन चौधरीले सहमतिको निम्ति
सर्वदलीय छलफल चलिरहेको बताए। उनले केही बेरमा टुङ्गोमा पुग्ने आशा व्यक्त गरेका
छन्।
बागमती
प्रदेश प्रहरीका प्रवक्ता एसएसपी नान्तीराज गुरुङका अनुसार दलका केही प्रतिनिधिले
मतपत्रको अर्धकट्टी खोस्न खोजेपछि अवस्था असहज भएको थियो र अवस्था नियन्त्रणमा लिन
दुई राउन्ड हवाई फायर गरेको थियो।
“हामीले
खोसिएका मतपत्र नियन्त्रणमा लिएका छौँ,” उनले
बीबीसीसँग भने।
दोलखाका
सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले सहमतिको निम्ति मुख्य निर्वाचन
अधिकृत र प्रमुख जिल्ला अधिकारी लगायतका अधिकारीहरू उक्त मतदानकेन्द्र पुगेको
जानकारी दिए।
“उहाँहरूसहित सबै दलका प्रतिनिधिहरूबीच छलफल भइरहेको छ,” उनले बताए।
नेपाली
कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका केही प्रतिनिधिहरूले मतपत्र लिएर भाग्न
खोजेपछि तनाव उत्पन्न भएको समाचारहरूमा जनाइएको छ। सहायक प्रजिअ आलेले अधिकांश
मतपत्र नियन्त्रणमा लिइसकेको जानकारी दिए।
नेकपा
एमालेले पुनः मतदान गराउनुपर्ने माग गरिरहेको बताइएको छ। तीनवटा क, ख र ग सहित उक्त मतदानकेन्द्रका कुल मतदातामध्ये
एकचौथाइ मत खसिसकेको बताउँदै सहायक प्रजिअ आलेले बीबीसीसँग भने, “मुख्य निर्वाचन अधिकृतले पुनः मतदान गराउन नसकिने
जानकारी गराउनुभएको छ, छलफल चलिरहेको छ।”
यसअघि
२०७९ सालको चुनावमा पनि दोलखामा दलहरूबीचको असमझदारीले तनाव उत्पन्न भएको थियो।
त्यस
बेला निर्वाचन आयोगले वैतेश्वर र तामाकोशी गाउँपालिकाका कतिपय मतदान केन्द्रहरूमा
पुनः मतदान गराएको थियो।
भोट हाल्न आएनन् देउवा, ‘सिङ्गापुरमा उपचार गराउँदै’, प्रकाश पार्की, डडेलधुरा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा भोट हाल्न गृहजिल्ला डडेलधुरा आएका छैनन्।
विसं २०४८ सालयताका सबै संसदीय निर्वाचन जित्दै आएका देउवा यस पटक भोट खसाल्न नआएका हुन्।
नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले देउवा सिङ्गापुरमा रहेकाले भोट हाल्न नआएको बताए।
"उहाँ उपचार गराइराख्नुभएको छ," उनले भने, "बाहिर चुनाव बहिष्कार भन्ने हल्ला छ तर उहाँ निकै बिरामी हुनुहुन्छ।"
देउवाले डडेल्धुराबाट सात पटक चुनाव जितेका थिए। उनी पाँच पटक देशको प्रधानमन्त्री बनेका थिए।
जेन जी आन्दोलनका बेला देउवा र उनकी श्रीमती आरजु देउवामाथि साङ्घातिक आक्रमण भएका भिडिओहरू सोशल मिडियामा देखिएका थिए। उनको घर पनि आगलागी भएको थियो।
देउवाको संलग्नता र स्वीकृतिबिना पार्टीको विशेष महाधिवेशन आयोजना भएपछि नेपाली कांग्रेस पार्टीको सभापति पद पनि गुमाउन पुगेका थिए।
विशेष महाधिवेशनले तत्कालीन महामन्त्री गगन थापालाई सभापति बनाएको थियो।
तस्बिरको क्याप्शन, डडेल्धुरामा मतदात गरिरहेकी एक महिला
हेलिकप्टर सन्दर्भमा बालेनको सचिवालय र प्रहरीको फरकफरक भनाइ, गनी अन्सारी, बीबीसी न्यूज नेपाली
तस्बिर स्रोत, Reuters
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेन चढेको
हेलिकप्टर झापामा अवतरण नहुनुका कारणबारे उनको सचिवालय र झापा प्रहरीले फरकफरक अभिव्यक्ति
दिएका छन्।
बालेनको सचिवालयका एक सदस्य सुरेन्द्र बजगाईँले सुरक्षा निकायकै आग्रहमा बालेन
सवार हेलिकप्टर काठमाण्डू फर्केको बीबीसीलाई बताए।
“तपाईँ आउनुभयो
भने वातावरण बिथोलिन सक्छ भनी सुरक्षा निकायले भनेपछि उहाँ चढेको हेलिकप्टर अवतरण
नगरी फर्कियो,” बजगाईँले बीबीसी न्यूज नेपालीसँग भने।
तर झापा जिल्लाकी प्रहरी प्रमुखले त्यो अस्वीकार गरेकी छन्। आफूहरूले
त्यस्तो केही नभनेको बीबीसीलाई उनले बताइन्।
“त्यो उहाँहरूलाई
लागेको होला। हेलिकप्टर ल्यान्ड भएर हामीले सुरक्षा दिन नसक्ने होइन,” बसुन्धरा
खड्काले बीबीसी न्यूज नेपालीसँग
भने।
“ल्यान्ड नगर्नूस्
भनेर हामीले त्यस्तो केही भनेका छैनौँ। यहाँको माहोल एकदम राम्रो छ। मानिसहरूले
उत्साहपूर्वक मतदान गरिरहेका छन्,” उनले अगाडि थपिन्।
बिहीवार बिहान काठमाण्डूबाट
झापाका लागि उडेको बालेन सवार हेलिकप्टर एक घण्टापछि काठमाण्डू फर्केको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले बीबीसीलाई बताएअनुसार
बिहान ९:११ बजे त्रिभुवन विमानस्थलबाट उडेको हेलिकप्टर १० बजेर ९ मिनेटमा
अवतरण गरेको थियो।
शोक र अशक्तताबीच मतदान गर्नेहरू
आजको मतदानमा शोकमा रहेका र शारीरिक
रूपमा अपाङ्गता भएकाहरूले पनि मतदान गरेका छन्।
तस्बिर स्रोत, Nripendra Bahadur Mall/RSS
तस्बिरको क्याप्शन, आमा गुमाएको शोक: मुगुको छायानाथ रारा नगरपालिका वडा नं १ स्थित भारेकोट मतदान केन्द्रमा मतदान गर्दै किरिया पुत्री। आमाको ९५ वर्षको उमेरमा निधन भएपछि किरिया बसेका पत्रकार विनोदकुमार मल्लका ३ जना दाजु भाइले किरिया बसेकै अवस्थामा बिहीबार मतदान गरेका छन्। सोही वडामा आमाको निधनमा शोकमा रहेका गोविन्द र भूपेन्द्र मल्लले पनि सोही मतदान केन्द्रमा मतदान गरेको राससले जनाएको छ
तस्बिर स्रोत, Bikram Niraual/BBC
तस्बिरको क्याप्शन, मोरङका किरिया पुत्री: मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा एक जना किरिया पुत्रीले मतदान गरेका छन्
तस्बिर स्रोत, Ranjita Adhikari/RSS
तस्बिरको क्याप्शन, दाङ: प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङको घोराही उपमहानगरपालिका-२ स्थित मतदान केन्द्रमा मतदान गर्न जाँदै फरक क्षमता भएकी एक महिला
तस्बिर स्रोत, Khemraj Gautam/RSS
तस्बिरको क्याप्शन, बागलुङ: बागलुङ जिल्लाको क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिका–२ स्थित मतदान केन्द्रमा मतदानमा सहभागी हुँदै फरक क्षमता भएकी एक मतदाता
८५ वर्ष माथिका २ जना उम्मेदवार
आज जारी प्रतिनिधिसभाको निर्वाचनमा मतदाताहरूले प्रत्यक्ष मत दिएर १६५ सांसद र समानुपातिक प्रणालीबाट ११० सांसद छान्ने छन्।
प्रत्यक्ष प्रणालीबाट प्रतिनिधिसभामा पुग्न ३,४०० भन्दा बढी उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। जसमध्ये धनुषा क्षेत्र १ का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ।
यो निर्वाचनमा प्रत्यक्षतर्फ ३५ देखि ५४ वर्ष उमेर समूहका पुरुष उम्मेदवारको बाहुल्य छ।
८५ वर्ष माथिका २ जना उम्मेदवार छन्
आज भोट हाल्न योग्य मतदाता कति छन्
आज जारी प्रतिनिधिसभा निर्वाचनमा मत हाल्न योग्य मतदाताको सङ्ख्या झन्डै १ करोड ९० लाख छ।
यसअघि २०७९ मङ्सिरमा भएको चुनावको तुलनामा यसपालि ९ लाख १५ हजारभन्दा बढी मतदाता थपिएका छन्।
यस पटक पुरुष मतदाताको सङ्ख्या साढे ९६ लाखभन्दा केही बढी छ।
महिला मतदाता करिब साढे ९२ लाखको सङ्ख्यामा छन्।
९९ देखि १०५ वर्षका मतदाताहरू
जारी मतदानमा विभिन्न जिल्लाहरूमा
वयोवृद्ध मतदाताहरू पनि सहभागी भएका छन्। ती मध्ये केही एक सय वर्ष हाराहारी र
केही एक सय वर्षमाथिका छन्।
तस्बिर स्रोत, Bimal bahadur Bishta/RSS
तस्बिरको क्याप्शन, उमेर १०५ वर्ष: काठमाण्डू बुढानीलकण्ठ नगरपालिका-२ चपली मतदान केन्द्रमा बिहान मतदान गरेर फर्किँदै १०५ वर्षीय चन्द्रबहादुर खड्का
तस्बिर स्रोत, Devendra Gurung/RSS
तस्बिरको क्याप्शन, उमेर १०० वर्ष: लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ६ भोर्लेटारस्थित ईशानेश्वर मावि मतदान केन्द्रमा १०० वर्षकी धनसुब्बा देवी गुरुङले मतदान गरिन्
तस्बिर स्रोत, Ishwor Joshi/BBC
तस्बिरको क्याप्शन, उमेर ९९ वर्ष: चितवन क्षेत्र नम्बर २ मा ९९ वर्षका आशबहादुर गुरुङले मतदान गरेका छन्
तस्बिर स्रोत, Bikram Niraula/BBC
तस्बिरको क्याप्शन, उमेर १०० वर्ष: मोरङको क्षेत्र नम्बर ६ मा १०० वर्षका बुद्धिप्रसाद गौतमले मतदान गरेका छन्। अरूको सहयोगमा मतदान केन्द्र पुगेका उनले आफै भोट हालेको हाम्रा संवाददाता विक्रम निरौलाले जनाएका छन्।
बालेनलाई हेलिकप्टर चढ्न दिइएको अनुमतिपत्रमा के छ, गनी अन्सारी, बीबीसी न्यूज नेपाली
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई निर्वाचन
आयोगले हेलिकप्टर प्रयोग गर्न अनुमति दिएको पाइएको छ।
बीबीसीलाई प्राप्त अनुमतिपत्रमा आयोगका कानुन अधिकृत मोहनराज जोशीले हस्ताक्षर
गरेका छन् र त्यसबारे निर्वाचन आयुक्त सगुन शम्शेर जबरालाई अवगत गराएका छन्।
आयुक्त जबराले पनि बालेनलाई हेलिकप्टर प्रयोगका निम्ति आफूले अनुमति दिएको
बीबीसीसँग पुष्टि गरे।
बिहीवार बिहान काठमाण्डूबाट
झापाका लागि उडेको बालेन सवार हेलिकप्टर एक घण्टापछि काठमाण्डू फर्केको थियो।
“उपर्युक्त विषयमा तहाँको प.सं. ०८२/८३, च.नं. २७२, मिति २०८२/११/२० को 'हेलिकप्टर प्रयोग गर्ने अनुमति सम्बन्धमा" विषय पत्र आवश्यक कारवाहीको लागी
पेश हुँदा माग भई आएबमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं. ५ को
उम्मेदवार रहनुभएका तहाँ दलका वरिष्ठ नेता श्री बालेन्द्र शाहलाई मिति २०८२/११/२१
गते काठमाण्डौ-झापा रूटमा मात्र हेलिकप्टर प्रयोग गर्न अनुमति प्रदान गरिएको
बेहोरा अनुरोध गर्दै सो रूटमा हेलिकप्टर प्रयोग गर्दा लाग्ने खर्चको छुट्टै अभिलेख
आयोगले मागेका बखत उपलब्ध गराउने गरी राखे व्यवस्था गर्न समेत निर्णयानुसार अनुरोध
छ,” पत्रमा उल्लेख छ।
बालेनसँगै नेपाली कांग्रेसका
सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई बिहीवार
हेलिकप्टर प्रयोग गर्ने अनुमति दिएको पनि आयुक्त जबराले बताए।
निर्वाचनले देशमा 'लोकतन्त्र र सुव्यवस्था फर्काउने' ओलीको विश्वास
तस्बिर स्रोत, KP Oli Secretariat
निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनले लोकतन्त्रको पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन्।
भक्तपुरको बालकोटमा आज मध्याह्न मतदान गरेपछि संवाददाताहरूसँग कुरा गर्दै ओलीले निर्वाचनपछि देशमा शान्ति सुव्यवस्था हुने आशा आफूले गरेको बताए।
“शान्ति सुव्यवस्था वापस गर्नुपर्ने छ र जनता डरत्रासबिना हिँड्न सक्छ भन्ने विश्वास दिलाउनुपर्छ,” ओलीले भने।
“यस निर्वाचनले देशमा लोकतन्त्रको पुनर्स्थापना गर्नुपर्छ। अराजनीतिक अराजक क्रियाकलाप र हिंसात्मक गतिविधि नियन्त्रण गर्न महत्त्वपूर्ण दिशा दिन योगदान गर्नुपर्छ।”
भदौ २३ र २४को जेन जी आन्दोलनले पदच्युत गरेका ओलीले असाधारण अवस्थामा भएको निर्वाचनले देशलाई साधारण अवस्थामा ल्याउने आफूले ठानेको प्रतिक्रिया दिए।
“असाधारण अवस्थालाई साधारण अवस्थामा परिणत गर्ने उत्तर दायित्व यो निर्वाचनले वहन गर्नुपर्छ।”
चार पटक प्रधानमन्त्री बनेका ओलीले “देश बचाउने” विषय प्रमुख रहेको बताए।
“देशको अस्थित्व सार्वभौमसत्ता स्वाधीनता स्वतन्त्रता र राष्ट्रिय हितको रक्षा गर्ने कुरा महत्त्वपूर्ण छ,” ओलीले भने।
उनले यसअघिका निर्वाचनभन्दा यो पटकको निर्वाचनमा मतदातालाई दिग्भ्रमित बनाउने प्रयास धेरै भएको आफूलाई लागेको बताए।
उनले आफ्नो दलले बहुमत ल्याउने दाबी समेत गरे।
“एमालेले भरसक बहुमत ल्याउँछ कथम कदाचित ल्याएन भने प्रमुख पार्टीको रूपमा आउँछ,” उनले भने।
मतदान कसरी गर्ने सिक्न चाहनुहुन्छ?
तस्बिर स्रोत, Getty Images/BBC
आज जारी निर्वाचनका लागि मताधिकार पाउने मतदाताहरूमध्ये नौ लाखभन्दा बढी नयाँ हुन्। तीमध्ये भर्खरै उमेर पुगेका नवयुवाको सङ्ख्या उल्लेख्य छ.
तपाईँ यदि पहिलो पटक मतदान गर्दै हुनुहुन्छ वा पुरानै मतदाता भए पनि अलमलमा पर्नुभएको छ भने हामीले तपाईँका लागि यो उपयोगी सामग्री बनाएका छौँ।