लाइभ, भीषण बाढीका कारण कम्तीमा १५७ जनाको ज्यान गएको नेपाल प्रहरीद्वारा पुष्टि

रसुवामा बिहान स्थानीय भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएका कारण त्रिशुली र नारायणी नदीका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ।

सारांश

  • रसुवामा बुधवार बिहान आएको बाढीका कारण धनजनको ठूलो क्षति पुगेको आशङ्का, राती २३:०५ बजेसम्म कम्तीमा १५७ जनाको शव फेला परेको प्रहरीद्वारा जानकारी
  • त्रिशूली नदीको तटीय क्षेत्रमा चितवनसम्म नै खतरा हुन सक्ने भन्दै सतर्कता अपनाउन सरकारको अनुरोध
  • बाढीबाट पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन सरकारद्वारा आग्रह
  • विपद्‌का नाममा आफूखुसी पैसा नउठाउन सरकारको आग्रह
  • क्षतिबारे विस्तृत विवरण आउन बाँकी

लाइभ कभरेज

  1. बाढीका कारण मृत्यु भएका १५७ जनाको शव फेला परेको प्रहरीद्वारा जानकारी

    बुधवारको बाढीका कारण मृत्यु भएकाहरूमध्ये राति ११:०५ बजेसम्म १५७ जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ। प्रहरीले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार तीमध्ये ६४ ओटा शव चितवन जिल्लामा प्राप्त भएका छन्।

    खोज तथा उद्धारका लागि ३,३१८ जना प्रहरी परिचालन गरिएको प्रहरीले बताएको छ।

    बाढीबाट पुगेको क्षतिको विवरण झल्काउने ग्राफिक्स

    तस्बिर स्रोत, Nepal Police

  2. नेपाली सेनाले 'रातभर उद्धार र खोज जारी राख्ने'

    नेपाली सेनाले बुधवार रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडितको उद्धार र खोज जारी राख्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    बाढीबाट प्रभावितहरुको सङ्ख्या अत्यधिक भएको र उद्धारका लागि चौतर्फी अपील भइरहेको सन्दर्भमा नेपाली सेनाले उद्धार तथा खोज कार्यलाई रातभर जारी राख्ने उसको भनाइ छ।

    "नेपाली सेनाले उद्धारका लागि थप समन्वयका साथ हेलिकप्टरहरूको प्रभावकारी परिचालन, राहत सामग्री वितरण, मित्रराष्ट्रहरूबाट प्राप्त हुन आउने राहत सामग्रीको ढुवानीलाई सहयोग, जमिनमा थप फौज तैनाथ, विस्तृतमा खोज तथा उद्धार गर्नुका साथै अन्य सुरक्षा निकाय, सरोकारवाला संस्थाहरू तथा जनमानससँगको समन्वयमा लक्षित वर्गको उद्धार जारी राख्ने" पनि प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

    आज दिनभर यस कार्यमा १,६९७ जना सैनिक परिचालन भएकामा थप तयारीका लागि ६५६ जना फौज तयारी अवस्थामा राखिएको जानकारी उसले दिएको छ।

  3. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपील

    सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित मानिसको व्यवस्थापन तथा दीर्घकालीन पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्न सबैलाई अपील गरेको छ।

    उसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आग्रह गर्दै उद्धार कोषका आठ ओटा र राहत कोषका एउटा खाताको विवरण पनि सार्वजनिक गरेको छ।

    यसअघि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले "विपद्‌का लागि आफूखुसी सहयोग सङ्कलन नगर्न/नगराउन" अनुरोध गरेको थियो।

  4. सडक र पुलमा रु. १५ अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन

    बुधवार आएको भीषण बाढीका कारण सडक र पुलमा गरी रु. १५ अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन रहेको सडक विभागका प्रमुखले बीबीसीलाई बताएका छन्।

    “कुल १९ वटा पुल र ४० किलोमिटर सडकमा गर्दा १५ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक आकलन छ,” विभागका महानिर्देशक विजय जैसीले बीबीसी न्यूज नेपालीसँग भने।

    पुल बगेका स्थानमा बिहीवारबाटै बेलिब्रीज राख्न थालिने उनले जानकारी दिए। “हामीसँग पनि बेलिब्रीज छन् र मित्र राष्ट्रहरू भारत तथा चीनलाई पनि उपलब्ध गराउन अनुरोध गरिसकेका छौँ,” जैसीले अगाडि थपे।

    अकस्मात्‌ आएको विनाशकारी बाढीले विभिन्न सडकखण्डहरूमा क्षति पुर्‍याएको विभागले जनाएको छ।

    महानिर्देशक जैसीका अनुसार स्याफ्रुबेँसी-रसुवागढीबीच पूर्ण रूपमा सम्पर्क टुटेको छ।

    गत वर्षको बाढीपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेकोमा फेरि उक्त खण्ड बाढीको चपेटामा परेको छ।

    अर्कोतर्फ गल्छी-बैरेनी सडकखण्ड बाढीका कारण अवरुद्ध भएको छ। लेदो हटाउन सकस भइरहेको अधिकारीहरूले बताएका छन्।

    सडक तथा पुल

    तस्बिर स्रोत, RSS

  5. भारतले १० टन औषधि र सहायता सामग्री पठाउन लागेको जयशङ्करको भनाइ

    भारतद्वारा प्रदान गर्न लागिएको सहायता सामग्री

    तस्बिर स्रोत, X/DrSJaishankar

    नेपालको बाढीबाट प्रभावित भएकाहरूका लागि भन्दै भारत सरकारले १० टन औषधि र सहायता सामग्री नेपाल पठाउन लागेको भारतका विदेशमन्त्री एस जयशङ्करले जानकारी दिएका छन्।

    सामाजिक सञ्जाल 'एक्स' मा जयशङ्करले पठाउन लागिएका सहायता सामग्रीका केही तस्बिर पनि पोस्ट गरेका छन्।

    उनले विपद्‌को समयमा भारत सरकार नेपाल र नेपाली जनताको साथमा रहने पनि भनेका छन्।

  6. रसुवा बाढीका कारण छवटा प्रसारणलाइन अवरुद्ध

    रसुवामा बुधवार बिहान आएको भीषण बाढीबाट छवटा प्रसारणलाइन अवरुद्ध भएको सरकारले जनाएको छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले दिएको जानकारीअनुसार बाढीका कारण त्रिशूलीको २२० केभी सबस्टेशन पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने अन्य प्रसारणलाइनमा क्षति हुँदा विद्युत्‌ प्रवाह अवरुद्ध बनेको छ।

    चिलिमे २२० केभी हब टावर अवरुद्ध भएका कारण बन्द भएको छ।

    समुद्रटार-त्रिशूली १३२ केभी प्रसारणलाइन, चिलिमे-त्रिशूली ६६ केभीलगायत प्रसारणलाइन अवरुद्ध भएका छन्।

    अन्य केही प्रसारणलाइनको टावरमा समस्या उत्पन्न भएको नेपाल विद्युत्‌ प्राधिकरणले जनाएको छ।

    वैकल्पिक उपायबाट सञ्चालन हुन सक्ने स्थानबाट आंशिक क्षेत्रमा विद्युत्‌ प्रणाली सञ्चालनको प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।

  7. चितवनमा नदी क्षेत्रमा शवहरू फेला परेको प्रमुख जिल्ला अधिकारीको भनाइ, ईश्वर जोशी, चितवन

    चितवनमा त्रिशूली नदीको बाढी

    तस्बिर स्रोत, BBC/Ishwor Joshi

    रसुवाकाे बाढीले बगाएर ल्याएका ३७ वटा शव चितवन जिल्लामा फेला परेकाे प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताएका छन्।

    चितवनकाे कुरिनटारदेखि भरतपुर महानगरपालिकाकाे १६ नम्बर वडा सम्ममा उक्त शवहरू फेला परेकाे उनले बताए।

    नदीकिनारवरपर शवहरू भेटिन थालेपछि सुरक्षाकर्मीहरू परिचालन गरी शव खाेज्ने कार्य भइरहेकाे छ।

    नदीकिनारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मी परिचालित छन्।

    बाढीकाे जाेखिमका कारण नारायणगढ-मुग्लिङ सडक भएर चल्ने सवारीसाधनहरूलाई अर्काे सूचना जारी नभएसम्म सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यलय चितवनले विज्ञप्ति जारी अनुरोध गरेको छ।

  8. विपद्‌का नाममा आफूखुसी पैसा नउठाउन सरकारको आग्रह

    गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले "विपद्‌का लागि आफूखुसी सहयोग सङ्कलन नगर्न/नगराउन" सबैसँग अनुरोध गरेको छ।

    "महाविपत्तिको यस घडीमा केही व्यक्ति र समूहले प्रभावितहरूको राहतका लागि भन्दै आर्थिक सहयोग सङ्कलन गर्न थालेको, कतिपयले नगद सहयोगका लागि क्यूआर कोडसमेत शेअर गरेको गुनासो" प्राप्त भएको भन्दै प्राधिकरणले त्यसो नगर्न सचेत गराएको छ।

    सरकारले आह्वान गरेबाहेक कुनै संस्था वा व्यक्तिलाई विपद्‌का नाममा सहयोग नगर्न उसले आग्रह गरेको छ।

    कसैले अनधिकृत रूपमा पैसा उठाएको थाहा भएमा प्राधिकरणको फोन नम्बर ०१-४२१११९७ मा खबर गर्न उसले अनुरोध गरेको छ।

  9. साँझ ७ बजेसम्म ९५ जनाको शव फेला परेको सरकारद्वारा पुष्टि

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालयले बुधवार बिहान रसुवालगायतका जिल्लामा आएको बाढीका कारण हालसम्म कम्तीमा ९५ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

    बुधवार साँझ प्रकाशित विज्ञप्तिमा उसले नेपाली सेनामा कार्यरत ४४ जना, नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मीहरू सम्पर्कविहीन भएको पनि जानकारी दिएको छ।

    साथै ३९१ जना विदेशी र ९३ जना कर्मचारी पनि सम्पर्कविहीन भएको विज्ञप्तिमा उल्लेख छ।

    मानवीय तथा भौतिक क्षतिको थप विवरण सङ्कलन गर्ने काम भइरहेको सरकारको भनाइ छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको विज्ञप्ति

    तस्बिर स्रोत, PMO Nepal

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको विज्ञप्ति

    तस्बिर स्रोत, PMO Nepal

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको विज्ञप्ति

    तस्बिर स्रोत, PMO Nepal

  10. भोटेकोशी बाढीबाट ५० जनाभन्दा बढीले ज्यान गुमाएको प्रधानमन्त्रीको भनाइ

    भोटेकोशी बाढीपछि नुवाकोटको एक ठाउँको अवस्था

    तस्बिर स्रोत, EPA

    प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले बुधवार बिहान भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म ५० भन्दा बढी नेपालीहरूको मृत्यु भइसकेको बताएका छन्।

    आफ्नो भेरिफाइड फेसबुक पेजमा उनले लेखेका छन्, "बाढीका कारण हालसम्म ५० भन्दा बढी हाम्रा प्रिय नागरिकहरूले ज्यान गुमाइसकेको दुःखद खबर प्राप्त भएको छ।"

    उनले बाढीबाट भएको भौतिक र मानवीय क्षतिले सिङ्गो देश नै स्तब्ध र मर्माहत भएको बताएका छन्।

    "यो दुःखद खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौँको सङ्ख्यामा उद्धार कार्यमा परिचालन गरेको छ," बालेनले लेखेका छन्, "बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्कालै मैदानमा उतारिएको छ।"

  11. नेपाल-चीन सीमामा किन दोहोरिरहन्छन् विनाशकारी बाढीपहिरो

    नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रको भौगोलिक बनोट, हिमतालहरूको स्थितिमा भइरहने परिवर्तन तथा वर्षायाममा हुने भारी वर्षाका कारण उक्त क्षेत्रमा आकस्मिक विपद्का घटना दोहोरिने गरेका विज्ञहरूले बताएका छन्।

    बुधवार बिहान रसुवाको भोटेकोशी/त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्ला प्रभावित भएका छन्।

    तीब्बती क्षेत्रमा थुप्रै हिमताल रहेका र नेपालतर्फका भिरालो भूभागतर्फ थुप्रै बस्तीहरू हुनाले हिमताल विस्फोटन र हिमपहिरोबाट हुने दुवै प्रकृतिका क्षति उक्त क्षेत्रले बेलाबखत बेहोर्ने गरेको छ।

    त्यसका मुख्य कारण के हुन् त? विस्तृत सामग्री पढ्नुहोस्।

  12. हालसम्म थाहा भएका सम्पर्कविहीन २७ देशका ४०३जना

    नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज विहानको बाढीमा परि हालसम्म सम्पर्क विहीन रहेकाहरूको सङ्ख्या ४०३ रहेको छ। त्यसमा ६२ जना नेपाली र अन्य ३४१ जना विदेशी नागरिकहरू रहेको जनाइएको छ। ती मध्ये २०० जना महिला र २०३ जना पुरुष रहेका छन्।

    सम्पर्कविहीन विदेशीहरूमा १३३ जना भारतका, ४७ जना अमेरिकाका र ३३ जना ब्रिटेनका गरि विभिन्न २६ देशका रहेका बुझिएको छ।

    ती अधिकांश मानसरोवर यात्रा गर्ने क्रममा रहेका यात्रुहरू रहेको टुर अपरेटर्सहरूलाई उद्धृत गर्दै बोर्डले जनाएको थियो।

  13. उद्धार र राहतकार्यलाई प्रभावकारी बनाउन पूर्वराजाको अपील

    मुग्लिङको पुलमुनि त्रिशूली नदीमा आएको बाढी

    तस्बिर स्रोत, RSS

    पूर्वराजा ज्ञानेन्द्र शाहले रसुवा जिल्लाको भोटेकोशी बाढीमा आएको क्षतिका कारण आफूलाई दुःखित बनाएको बताएका छन्।

    देशबासीका नाममा सन्देश जारी गर्दै शाहले सुरक्षाकर्मीसहित बेपत्ता भएका नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिन आवश्यक रहेको उल्लेख गरेका छन्।

    “प्राकृतिक विपत्तिको यस दुःखद घडीमा खोजी, उद्धार, राहत तथा उपचारका कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित सबै निकायलाई आग्रह गर्दछौँ। साथै, सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक सङ्घ-संस्था तथा आम नागरिक सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दै विपत्तिमा परेकाहरूको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन एकजुट हुन हामी आग्रह गर्दछौँ,” पूर्वराजाको विज्ञप्तिमा भनिएको छ।

    पूर्वराजा शाहले छिमेकी समेत देशलाई प्रत्यक्ष प्रभाव पार्ने विपद्‌मा त्रिदेशीय प्रयास उचित हुने सुझाव समेत दिएका छन्।

  14. बाढीपछि ११४ जनाको हवाई उद्धार

    रसुवास्थित भोटेकोशी नदीमा बुधवार बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरहरूले ११४ जनाको उद्धार गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    नेपाली सेनाले विभिन्न उडानमार्फत् ८५ जनाको र निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका हुन्।

    सचिवालयका अनुसार नेपाली सेनाले रसुवाको टिमुरेबाट ६० जनालाई धुन्चे, टिमुरेबाट १३ जनालाई त्रिशूली अनि मैलुङबाट ५ जना, बेत्रावतीमा ४ जना र त्रिशूलीबाट ३ जनालाई उद्धार गरेर काठमाण्डू लगेको छ।

    निजी क्षेत्रअन्तर्गत कैलास हेलिकप्टरले रसुवाबाट महाराजगन्जस्थित टीचिङ अस्पतालमा ५ घाइतेलाई, सिम्रिकले रसुवाबाट ३ जना र अन्नपूर्ण हेलीले रसुवाबाट चार जनालाई टीचिङ अस्पतालमा ल्याएको छ।

    प्रभु हेलिकप्टरले रसुवाबाट टीचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवाबाट टीचिङ अस्पतालमा २ जना, फिशटेलले रसुवाबाट टीचिङ अस्पतालमा ५ जना, एभरेस्टले रसुवाबाट टीचिङ अस्पतालमा २ जना र प्रभु हेलीले रसुवाबाट वीर अस्पतालमा २ जनालाई उद्धार गरेर ल्याएको सचिवालयले जनाएको छ।

  15. ‘नेपाललाई सम्भावित सबै मानवीय सहायता उपलब्ध गराउन भारत तयार’

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण बाढीका कारण मानिसहरूको ज्यान गएकोप्रति समवेदना व्यक्त गरेका छन्।

    बाढीका विषयमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग कुरा गरेको जनाउ दिँदै मोदीले यो कठिन समयमा भारतका नागरिकहरू नेपालका दाजुभाइसँगै रहेको बताएका छन्।

    “नेपाललाई सम्भावित सबै मानवीय सहायता उपलब्ध गराउनका लागि भारत तयार छ। उद्धार तथा राहत कार्यमा हाम्रा टोलीहरू नजिक रहेर समन्वय गरिरहेका छन्,” मोदीले सामाजिक सञ्जालमार्फत् भनेका छन्।

  16. तिब्बतमा 'हिमचट्टान पहिरो'का कारण नेपालमा बाढी

    त्रिशूली नदीमा बाढी

    तस्बिर स्रोत, RSS

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीको कारण तिब्बततर्फ गएको 'हिमचट्टान पहिरो' भएको उल्लेख गरेको छ।

    प्राधिकरणले स्याटलाइट तस्बिरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनले नेपाल-चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वबाट बाढी सुरु भएको देखिएको उल्लेख गरेको छ।

    "नेपाल-चीन सिमानामा गएको हिमचट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा प्रवेश गरेको देखिएको छ," प्राधिकरणले उल्लेख गरेको छ।

    तिब्बतसँग जोडिएको उक्त क्षेत्रमा अवस्थित ल्हेन्दे खोलामा गत वर्ष पनि भीषण बाढी आउँदा ठूलो क्षति पुगेको थियो।

    यसैबीच अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड)का विज्ञहरूले पनि आज आएको भीषण बाढीको कारण हिमपहिरो हुन सक्ने औँल्याएका छन्।

    “यस पटक सम्भवतः हिमपहिरोका कारण नदी थुनिएर अचानक पानीको ठूलो बहाव तलतिर आएको हुन सक्छ," राष्ट्रिय समाचार समितिलाई इसिमोडका विपद् जोखिम न्यूनीकरणविज्ञ शाश्वत सन्यालले बताए।

    इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख स्याङ्गोङ झाङले गत वर्ष रसुवामा आएको बाढीबाट तहसनहस भएको त्यही क्षेत्र अहिले फेरि जोखिममा परेको औँल्याएका छन्।

    “ल्हेन्देखोलामा आज आएको बाढी हिमपहिरो कारणले भए पनि यसको अझै पुष्टि हुन बाँकी छ। नेपाल-चीन सीमास्थित नदीको माथिल्लो भागमा अझै अवरोध कायम रहेकाले दोस्रो पटक बाढी आउन सक्छ,” रासससँग उनले भने।

    बाढीबाट सो क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको अधिकारीहरूले बताएका छन्। तर विस्तृत विवरण आउन बाँकी नै छ।

  17. चितवनमा पनि उच्च सतर्कता, ईश्वर जोशी, चितवन

    चितवनको कुनै ठाउँमा त्रिशूली नदीमा देखिएको बाढी

    तस्बिर स्रोत, BBC/Ishwor Joshi

    त्रिशूली नदीको बाढी चितवन आइपुगेसँगै चितवनमा पनि उच्च सतकर्ता अपनाइएकाे अधिकारीहरूले बताएका छन्।

    चितवनकाे नदीतटीय क्षेत्रमा सुरक्षाकर्मीहरू परिचालन गरिएकाे छ। ती क्षेत्रका बासिन्दा तथा व्यवसायीहरूलाई सुरक्षित स्थानमा जान भनिएकाे छ।

    बाढी आउन सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै नारायणगढ-मुग्लिन सडक पनि बन्द गरिएकाे छ।

    फिस्लिङदेखि गाेलाघाटसम्मका नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यलय चितवनले आग्रह गरेकाे छ।

    यद्यपि यस जिल्लामा बाढीकाे ठूलो खतरा टरेकाे अधिकारीहरूले बताएका छन्।

  18. क्षतिको अवस्था र सरकारका निर्णयबारे परराष्ट्रमन्त्रीद्वारा सदनलाई जानकारी

    प्रतिनिधिसभालाई सम्बोधन गर्दै नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले भूकम्पसँगै आएको हिम पहिरोका कारण रसुवा विपद्को अवस्था आएको बताउँदै त्यसबारे थप पुष्टि गर्ने काम चलिरहेको समेत बताए।

    बिहान अन्दाजी ८ बजेर ४० मिनेट जाँदा रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोट जिल्लाका विभिन्न ठाउँहरू प्रभावित बनेको उनले बताए। जस क्रममा टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली बट्टार र देवीघाट लगायतका ठाउँमा ‘निकै ठूलो क्षति पुगेको’ उनले बताए।

    उनले ८:३७ बजे गएको भूकम्पका कारण उक्त बाढी आएको बताए।

    मन्त्री खनालले रसुवाको बाढीसँगै ‘राष्ट्रिय विपद्को अवस्था’ रहेको र ‘प्रारम्भिक सूचनाहरू’ मात्र आइरहेको बताए।

    भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रमा अझै जोखिम रहेको बताउँदै उनले नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नदी आसपास र तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरे।

    प्रभावित नागरिकको उद्धार तथा राहतमा काम गर्न सबै निकायलाई निर्देशन दिइएको उनले बताए।

    सरकारले घाइतेहरूको नि:शुल्क उपचार एवं बिचल्लीमा परेकाहरूलाई उद्धार गर्दै सुरक्षित स्थानमा सार्ने काम विभिन्न मन्त्रालय एवं सेनाको सहयोगमा भइरहेको बताए।

    सेना र निजी हेलिकप्टर कम्पनीहरूलाई त्यस क्रममा परिचालन गर्ने निर्णय भएको समेत उनले बताए।

    प्रभावित जिल्लालाई तीन महिना ‘विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा’ गर्ने निर्णय समेत सरकारले गरेको बताए।‘

    २६ जना नेपाल प्रहरी र ९ जना सशस्त्र ४४ नेपाली सेना, भन्सार र अध्यागमन क्षेत्रका कर्मचारी, र केही स्थानीय बासीहरू सम्पर्कविहीन रहेको बताए।

    ९ जनाको शव सनाखत हुन नसकेको अवस्थामा रहेको उनले बताए।

    सडक पुल, जलविद्युत क्षेत्र र अन्य सार्वजनिक पूर्वाधारमा समेत ठूलो क्षति पुगेको उनले बताए।

    गल्छी-नुवाकोट, रसुवाको स्याफ्रुबेँसी सडक एवं मुग्लिङ नारायणगढ सडकमा तत्काल यात्रा नगर्न र नगराउन सरकारले अनुरोध गरेको छ।

    परराष्ट्रमन्त्री शिशिर खनाल संसद्लाई बाढीबारे जानकारी दिँदै

    तस्बिर स्रोत, RSS

  19. बाढी आउनुअघि र आएपछिका स्याटलाइट तस्बिर

  20. सरकार र दल एकढिक्का हुनुपर्छ : रवि लामिछाने

    रवि लामिछाने

    तस्बिर स्रोत, RSS

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सरकार र सबै राजनीतिक दललाई एकढिक्का भएर राहत तथा उद्धारमा खट्न आह्वान गरेका छन्।

    राष्ट्रिय समाचार समितिका अनुसार प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले दलका राहत तथा उद्धारमा दक्ष, जानकार र तालिमप्राप्त जनशक्तिलाई सरकारी निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालन गर्न आग्रह गरे।

    उनले राहत र उद्धारका लागि राजनीतिक दलहरूले एकीकृत खाका बनाएर काम गर्नुपर्ने तथा कुनै दलको झण्डाभन्दा देशको झण्डामुनि एकजुट हुनुपर्ने बताए।

    “यो विपत्तिमा पक्ष–प्रतिपक्ष होइन, एकैसाथ सरकारको साथमा छौँ भन्ने जुन उच्च राजनीतिक संस्कारको प्रदर्शन भयो, म विपक्षीलाई धन्यवाद दिन चाहन्छु,” उनले भने।

    “नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्वपूर्ण कुरा हो,” लामिछानेले भने, “सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य सबैभन्दा पहिला नागरिकलाई बचाउनमा लगाउने छ भन्ने विश्वास छ।”