अमेरिकामा प्राविधिक खराबीका कारण अवरुद्ध उडानहरु सुरु हुँदै

अमेरिका

तस्बिर स्रोत, Reuters

Published

संयुक्त राज्य अमेरिकामा प्राविधिक समस्याका कारण सबै आन्तरिक उडानमा लगाइएको रोक हटाइएको देशको सङ्घीय नागरिक उड्डयन प्रशासन एफएए जनाएको छ।

यसअघि त्यहाँको नोटिस टु एअर मिसन्स सिस्टमको नियन्त्रण प्रणालीमा खराबी देखिएको बताइएको थियो।

यस अवरोधका कारण चार हजारभन्दा धेरै उडान ढिलो र ६ सय भन्दा धेरै उडान रद्द भएका थिए।

समस्याहरू समाधान हुन थाले तापनि कम्तीमा इस्टर्न टाइम अनुसार विहानको ९ बजेसम्म कुनै उडान नहुने जनाइएको थियो।

देशको सङ्घीय नागरिक उड्डयन प्रशासन एफएएका अनुसार 'देशभरी नै प्रणालीमा समस्या देखिएको' थियो।

विमान चालकहरूलाई विमानको हवाई मार्गमा हुनसक्ने सम्भावित खतराबारे सावधान गराउने उक्त प्रणालीमा अवरोध देखिएको उक्त निकायले जनाएको छ।

यसअघि नै आकासमा रहेका सबै उडानहरू अवतरणका लागि सुरक्षित रहेको एफएएले जनाएको थियो।

साइबर हमलाको 'प्रमाण छैन'

अमेरिका

तस्बिर स्रोत, Getty Images

अमेरिकी राष्ट्रपति जो बाइडनलाई यस अवरोधका बारेमा जानकारी गराइएको र "यतिखेर" साइबर हमलाको कुनै प्रमाणहरू नरहेको ह्वाइटहाउसले जनाएको छ।

पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति बाइडनले यतिखेर उड्डयन निकायलाई घटनाको कारण थाहा नभएको तर केही घण्टाभित्रै कारणको छनक पाइने बताएका छन्।

आफ्नो एक ट्विटमा ह्वाइटहाउसका प्रेस सेक्रेटरीले राष्ट्रपतिले "यसका कारणबारे पूर्ण अनुसन्धान" गर्न भनेको जनाएका छन्।

ती अवरोधहरूले अन्तर्राष्ट्रिय उडानलाई असर पार्छ कि पार्दैन भन्ने विषय तत्काल प्रस्ट भएको थिएन।