गणेश नेपालीको आत्मदाहले उब्जाएको प्रश्न : महानगर प्रहरीको अधिकार के हो?

    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

बिहीवार दिउँसो काठमान्डूको त्रिपुरेश्वरमा गणेश नेपाली नामका युवाले रोकिराखेको उनको मोटरसाइकलमा 'ह्वील लक' लागेको विषयमा महानगर प्रहरीसँग विवाद भएलगत्तै उनले आत्मदाह गरेको भनिएको घटनाले अहिले महानगर प्रहरीको अधिकार र आचरणबारे प्रश्न उब्जिएका छन्।

आखिर महानगर प्रहरीको अधिकार केके हुन्?, ठाउँठाउँमा राज्यका विभिन्न निकायले जरिवाना तथा अन्य सजाय तोक्दा कस्ता होसियारी अपनाउनुपर्छ? भन्ने जस्ता प्रश्न उठेका छन्।

गम्भीर जलनका कारण अस्पतालमा भर्ना भएका मुगुका २५ वर्षीय नेपालीलाई अस्थिर स्वास्थ्य अवस्थाका कारण तत्काल भारत लैजान नसकिएको सरकारले शुक्रवार बिहान जनाएको थियो। तर केही घण्टामै वीर अस्पतालले उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दियो।

सो घटनाले आफूहरू दुःखी भएको काठमाण्डू महानगर प्रहरीका प्रमुखले बताएका छन्। तर उनले आफूहरूले कानुनबमोजिम नै काम गरेको पनि बताए।

आखिर महानगर प्रहरीको अधिकार के हो?

स्थानीय तहहरूलाई संविधानले नै विभिन्न अधिकारहरू तोकिदिएको छ। ती विषयमा स्थानीय तहले आफ्नो कानुन आफैँ बनाउन पाउने संविधानले भनेको छ।

संविधानको अनुसूची ८ मा स्थानीय तहले नगर प्रहरीको गठन तथा व्यवस्थापन गर्न पाउने उल्लेख छ।

काठमाण्डू महानगरपालिकाले उसको नगरसभाबाट पारित गरेको काठमाण्डू महानगरपालिका महानगर प्रहरी सेवालाई व्यवस्थित गर्न बनेको महानगर प्रहरी ऐन, २०८० हाल कार्यान्वयन गर्दै आएको छ।

"उक्त ऐनको दफा ७ (ग)ले हामीलाई बजार तथा सवारी पार्किङ स्थलको रेखदेख र व्यवस्थापन गर्ने जिम्मा दिएको छ," काठमाण्डू महानगर प्रहरीका प्रमुख विष्णुप्रसाद जोशीले बताए।

जथाभाबी पार्किङ गरिका सवारीसाधनका प्रयोगकर्तालाई आफूहरूले जरिवाना तिराउने गरेको र नतिर्नेहरूको सवारीसाधन ट्रकमा राखेर ट्राफिक प्रहरी कार्यालय हाताभित्र रहेको आफ्नो कार्यालयमा लैजाने गरिएको उनले बताए।

ऐनअनुसार दुईपाङ्ग्रे/तीनपाङ्ग्रे सवारीसाधनको हकमा १,००० रुपैयाँ, चार पाङ्ग्रेलाई २,५०० रुपैयाँ, ट्रक तथा बसहरूलाई ३,५०० रुपैयाँ अनि तीभन्दा ठूला गाडीको ५,००० रुपैयाँ जरिवाना तोकिएको छ।

उक्त अधिकारबारे विगतमा प्रश्न उठाउँदै अदालतमा रिट निवेदन पनि परेको तर पछि २०८२ पुस २३ गते सर्वोच्च अदालतले त्यसबारे फैसला दिएको जोशीले बताए।

"निवेदकले महानगर प्रहरीले पार्किङमा गर्ने ह्वील लक रोकिपाऊँ भनेर रिट दिएकामा अदालतले हाम्रो ऐनलाई उद्धृत गरेरै महानगरको अधिकार रहेको भनेर फैसला दिएको छ।"

अनधिकृत पार्किङको मामिलामा महानगर प्रहरीका अतिरिक्त ट्राफिक प्रहरीले पनि कारबाही गर्दै आएको छ।

"यी विषयहरू दुवैको समन्वयमा नै हुँदै आएका छन्। दुवैका आआफ्नै कानुन छन्। स्थानीय तहले पनि आफ्नै कानुनमा टेकेर यी काम गर्दै आएका छन्," काठमाण्डू महानगर प्रहरीका पूर्वप्रमुख तथा वर्तमान सांसद राजु पाण्डेले बताए।

आफ्नै पालामा नगरसभाले पारित गरेको ऐनमा टेकेर महानगर प्रहरीले जथाभाबी पार्किङ गर्नेको ह्वील लक गर्न थालेको उनले स्मरण गरे। "अहिलेको घटनामा के भएको हो भन्ने मलाई सबै कुरा थाहा छैन। तर यस्तो कारबाही चाहिँ कानुनमा टेकेरै हुने गर्छ," पाण्डेले बताए।

'यसले अधिकारक्षेत्रमा द्विविधा र जनतालाई अन्योल हुँदैन?' भन्ने प्रश्नमा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षकबाट अवकाशप्राप्त भीम ढकालले भने : "ट्राफिक व्यवस्थापनको काम सम्पूर्ण रूपमा प्रहरीको मात्रै भन्ने छैन। नियम उल्लङ्घन गर्दा ट्राफिक प्रहरीले जरिवाना गराउने पनि हुन्छ तथा पालिकाहरूसँगको समन्वयमा गर्ने पनि हुन्छ। विशेष जरिवाना गर्नाका लागि यातायात कार्यालय पठाउनुपर्ने पनि हुन्छ।"

आचरण पनि महत्त्वपूर्ण

कानुन परिपालनाका सन्दर्भमा दण्डसजाय तथा जरिवानाका अतिरिक्त जनताप्रति गरिने आचरण पनि उत्तिकै महत्त्वपूर्ण हुने जानकारहरू बताउँछन्।

"यी सबै कामकारबाही भनेको आमजनताको हितलाई ध्यानमा राखेर गर्ने हो। राम्रो व्यवहारसहित आम नागरिकलाई असर नपर्ने गरी ट्राफिक व्यवस्थापन गर्दै जिम्मेवारी पूरा गर्ने विषय हो," विगतमा ट्राफिक प्रहरी प्रमुख समेत रहेका पूर्वएआईजी भीम ढकालले भने।

सांसद राजु पाण्डे जुनसुकै प्रहरीले मैदानमा खटिँदा धेरै विषयमा ध्यान पुर्‍याउनुपर्ने ठान्छन्।

"कहिलेकाहीँ मानिसहरूको मनस्थिति हेरेर पनि निर्णय लिनुपर्ने हुन्छ। सबैसँग सधैँ साथमा पैसा हुन्छ भन्ने पनि छैन। अवस्थाअनुसारका निर्णयहरू गर्नुपर्छ। नम्र बोलीव्यवहार त अनिवार्य नै हो," पाण्डेले भने।

महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले पनि आफ्ना प्रहरीले नागरिकसँग नम्र भएरै बोल्नुपर्ने अभ्यास रहेको बताए। "बिहीवारको घटनामा पनि हाम्रा प्रहरीले नम्र आचरण नै गरेको देखिन्छ। शुक्रवार बिहान पनि हामीले यसबारे कुराकानी गरेर बोलीवचन नम्र हुने अनि कामकारबाही कानुनबमोजिम गर्ने भन्यौँ," उनले भने।

सरकारको आलोचना

गणेश नेपालीको आत्मदाहबारे शुक्रवार संसदमा बोल्दै नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सरकारको चर्को आलोचना गरिन्।

उनले साढे तीन वर्षअगाडि भएको आत्मदाहको एउटा घटनामा काठमाण्डू महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेखेको पोस्ट पनि स्मरण गराएकी थिइन्।

"२०७९ माघ १० गते प्रेम आचार्यले नयाँ बानेश्वर, संसद् भवनअगाडि आत्मदाह गर्दा काठमाण्डूका तत्कालीन मेयर बालेन शाहले लेख्नुभएको स्ट्याटस आज पनि सम्झनुभएको छ कि बिर्सनुभयो?" थापाले सोधिन्।

"हिजोको घटनामा तपाईँको मौनता किन? विपक्षमा हुँदा राज्यमाथि … कठोर प्रश्न उठाउने तपाईँ आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिनबाट किन टाढा हुनुहुन्छ?"

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले उक्त घटनाका निम्ति "राज्यको नीति" जिम्मेवार भएको बताए।

"खल्तीमा पैसा नहुनेको जीवनको कुनै मूल्य नभएको भन्नेजस्ता सन्देश सरकारका नीति तथा कार्यक्रमहरूले दिइरहेको छ," शाहीले भने।

संसदमा बोल्ने अन्य सांसदहरूले पनि गणेश नेपालीको मृत्युबारे दु:ख प्रकट गरेका थिए।

नेपालीको आत्मदाहपश्चात् कतिपय समूहले विरोध प्रदर्शन पनि गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।