माथिल्लो त्रिशूली १ को सुरुङमा फसेका चिनियाँ कामदार र बेत्रावतीको घरबाट एक महिलाको जीवितै उद्धार

तस्बिर स्रोत, PMO Nepal
भदौ १० गतेको बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली १को अडिट ४ टनलबाट एक चिनियाँ कामदार र बेत्रावतीस्थित एउटा घरबाट एक ६३ वर्षीया महिलालाई शनिवार जीवितै उद्धार गरिएको सुरक्षा निकायहरूले बताएका छन्।
दुवै जनालाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाण्डूको छाउनीस्थित सैनिक अस्पताल ल्याइएको छ। उनीहरूलाई बाढीका आएको एघारौँ दिन उद्धार गरिएको हो।
नेपाली सेनाका अनुसार उक्त जलविद्युत् आयोजनाको २२५ मिटर सुरुङभित्र चिनियाँ कामदार फेला परेपछि त्यहाँ थप खोजीकार्य जारी छ।
End of हेर्नुहोस् भिडिओ
प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाली सेना र दक्षिण कोरियाा विज्ञहरूको टोलीले ती चिनियाँ कामदारलाई शनिवार मध्याह्नतिर उद्धार गरेको हो।
तिब्बत हुँदै भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आएको दशौँ दिन त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङमा यसअघि दुई जनालाई शुक्रवार जीवितै फेला पारिएको थियो।
नेपाल विद्युत् प्राधिकरणका अधिकारीका अनुसार त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङमा अरू कोही बाँकी नरहेको देखिएकाले खोजकार्य शनिवार नै टुङ्ग्याउने सम्भावना छ।
त्यहाँ प्रयोग गरिएका उपकरणहरू त्रिशूली ३बी मा जारी खोजकार्यमा प्रयोग गर्न पठाइएको छ।
बाढी आएपछि विभिन्न आयोजनामा कार्यरत सयौँ मानिसहरू अझै सम्पर्कविहीन छन्।
बेत्रावतीमा फेला परेकी महिलाबारे के थाहा छ

तस्बिर स्रोत, APF Nepal
शनिवार नै नुवाकोटको बेत्रावती बजारस्थित एउटा घरमा एक महिला जीवितै फेला परेकी र उनलाई उद्धार गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
"बेत्रावतीमा झोलुङ्गे पुल नजिकै हाम्रो घर थियो। बाढीले त्यसलाई बगाएर लडाइदिएको थियो," ६३ वर्षीया चण्डिका श्रेष्ठका छोरा आशिषले बीबीसी न्यूज नेपालीसँग भने।
आशिषका अनुसार बेत्रावतीको घरमा उनका आमा र बुवा मात्रै थिए। "बुबा अझै फेला पर्नुभएको छैन। आमालाई अब उपचार हुँदै छ। खुट्टामुनि घाउहरू छ," श्रेष्ठले बीबीसीसँग भने।
बाढी आएपछि आफू पटकपटक घर भएको क्षेत्रमा गएर खोजतलासमा लागेको आशिष श्रेष्ठले बताए। "तर दलदलका कारण घरसम्म पुग्न सकिएको थिएन," उनले भने।

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, Reuters
यसरी बाहिर आए चिनियाँ कामदार
उद्धारकर्मीहरूले सुरुमा उनीसँग सोधपुछ गरी उनको परिचय पत्ता लगाएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडिओमा 'तपाईं नेपाली हो?' भनेर सोध्दा उनी मौन बसेको र 'चिनियाँ हो?' भन्ने प्रश्नमा भने सहमति जनाएको देखिन्छ।
ती कामदारलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइएपछि उनको अवस्थाबारे बुझ्न चिनियाँ दूतावासका प्रतिनिधिहरू पनि पुगेका छन्।

तस्बिर स्रोत, PMO Nepal

तस्बिर स्रोत, PMO Nepal

तस्बिर स्रोत, PMO Nepal
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















