सुरुङबाट जीवितै उद्धार गरिएकाहरूका आफन्त खुसी, ५ हजारभन्दा बढी अझै बेपत्ता
भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी गएको नौ दिनपछि त्रिशूली ३एको सुरुङमा फसेका दुई जनाको आज जीवितै उद्धार गरिएको छ। भित्र अरू मानिस खोज्ने प्रयास जारी राखिएको अधिकारीहरूले बताएका छन्।
बाढीमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारलाई सहायताबारे विभिन्न निर्णय
भोटेकोशी-त्रिशूली बाढीमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारलाई राहत तथा सहायता प्रदानका लागि सम्बन्धित सुरक्षा निकायहरूले विभिन्न निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
भोटेकोशी बाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल, नेपालका १४ गरी ८४ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएको सरकारी तथ्याङ्क छ।
सशस्त्र प्रहरी बल
सशस्त्र प्रहरी बलले बाढीमा ज्यान गुमाउने आफ्ना कर्मचारीका आश्रित परिवारलाई सरकारी मापदण्ड र सङ्गठनका राष्ट्रसेवकहरूको तर्फबाट गरी २५ लाख रुपैयाँ तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ।
यसका साथै मृतक कर्मचारीका परिवारका लागि कल्याण कोषको ऋण मिनाहा, सन्तानलाई नेपाल एपीएफ स्कूलमा कक्षा १० सम्म सम्पूर्ण शैक्षिक शुल्क छुट, आश्रित परिवारका एक सदस्यलाई सीपमूलक तालिम र उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने उसको योजना छ।
बाढीबाट ज्यान जोगाउन सफल पाँच जना कर्मचारीलाई जनही ५० हजार रुपैयाँ प्रोत्साहन पुरस्कार दिने उसले जानकारी दिएको छ।
बाढीमा ज्यान गुमाउने बहालवाला कर्मचारीका परिवारका सदस्य र बाढीप्रभावित अवकाशप्राप्त कर्मचारीको मृत्यु वा घरबारविहीन भएको अवस्थामा १ लाख रुपैयाँ तथा घाइते भएको खण्डमा ५० हजार रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गरिने निर्णय भएको छ।
सशस्त्र प्रहरीले तीनदेखि १५ दिनसम्मको तलब योगदान गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने भएका छन्।
तस्बिर स्रोत, PM Secretariat
नेपाल प्रहरी
नेपाल प्रहरीले बाढीमा ज्यान गुमाउने प्रहरी कर्मचारीका परिवारजनलाई प्रहरी नियमावलीबमोजिम उपलब्ध हुने सेवासुविधाका अतिरिक्त राहतस्वरूप जनही १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
यसका साथै मृतक प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने, परिवारबाट इच्छुक एक जना सदस्यलाई सीपमूलक तालिम तथा रोजगारीका लागि आवश्यक पहल गर्ने र सन्ततिलाई नेपाल प्रहरी स्कूलमा नि:शुल्क अध्ययनको व्यवस्था मिलाउने निर्णय भएको छ।
सरकारले बाढी प्रभावित क्षेत्रमा अग्रपङ्क्तिमा खटिएका टोलीहरूलाई प्रोत्साहनस्वरूप विशेष भत्ताको पनि व्यवस्था गरेको छ।
बिहीवारको मन्त्रिपरिषद् बैठकले खोज तथा उद्धार कार्यमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीहरूलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा नि :शुल्क उपचार र उद्धारकै क्रममा मृत्यु भएमा निजको परिवारलाई १० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो।
नेपाली सेनाले भने यस विषयमा निर्णय गर्न बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
‘आश मरिसकेको थियो’
त्रिशूली ३ए परियोजनाको सुरुङबाट उद्धार गरिएका सञ्जय साहका एक आफन्तले बीबीसीसँग कुरा गर्दै उनको जीवितै उद्धार हुने आशा आफूले करिबकरिब त्यागिसकेको बताएका छन्।
यो भिडिओ हेर्नुहोस्।
भिडिओ : कमल परियार
भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘आश टुट्नेवाला थियो’
'ढिला उद्धार भए पनि दाइ भेटिँदा खुसी'
त्रिशूली ३ए परियोजनाको सुरुङबाट उद्धार गरिएका कवीर महर्जनका भाइसँग कुराकानी
भिडिओ : कमल परियार
बाढीपछिको अवस्थामा खानेपानीलाई कसरी पिउन योग्य बनाउने?
भोटेकोशी-त्रिशूली नदीमा बाढी आएपछि सुरक्षित खानेपानीमाथि कैयौँको पहुँच नहुन सक्छ।
त्यस्तो अवस्थामा उपलब्ध पानीलाई कसरी गुणस्तरीय खानेपानी बनाउन सकिन्छ भन्नेबारे विश्व स्वास्थ्य सङ्गठनले सात उपाय सुझाएको छ।
कसरी पानी पिउनयोग्य गुणस्तरको बनाउन के गर्न सकिन्छ? यो भिडिओ हेर्नुहोस्।
भिडिओ क्याप्शन सुरु हुँदैछ, खानेपानी पिउन योग्य बनाउने सात तरिका
बाटो खोल्न कृष्णभीरमा भित्तो काट्न सुरु
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गसँग जोडिएको भित्तो काटेर बाटो खोल्ने काम सुरु गरिएको सडक विभागका अधिकारीहरूले बताएका छन्।
गत भदौ १४ गते करिब १०० मिटर सडक पूर्ण रूपमा भासिएपछि राजधानी काठमाण्डू प्रवेश गर्ने सबैभन्दा व्यस्त उक्त मार्ग अवरुद्ध भएको छ।
त्यसो हुँदा काठमाण्डू र धादिङबाट चितवन, तनहुँ, कास्कीसहित पश्चिम नेपालका विभिन्न जिल्लातर्फ सवारी आवागमन ठप्प छ।
बाढीबाट मृत्यु भएका १,२९४ जनाको शव फेला, ५,०५३ अझै बेपत्ता
गत साताको बाढीमा परेकामध्ये हालसम्म १,२९४ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
त्यसै गरी शुक्रवार साँझ ६:३० बजेको तथ्याङ्कअनुसार ५,०५३ जना सम्पर्कविहीन छन्।
जम्मा १३,०९५ लाई उद्धार गरिएको प्राधिकरणको भनाइ छ।
बाढीबाट प्रभावित भएकामध्ये ५६६३ जना घाइतेका लागि आवश्यक उपचार गरिएको छ।
तस्बिर स्रोत, NDRRMA
क्षतिग्रस्त झोलुङ्गे पुलको निर्माण ‘तीव्र गतिमा’
तस्बिर स्रोत, PM Secretariat
बाढीले क्षति पुर्याएका
२० वटा झोलुङ्गे पुलको “युद्वस्तरमा” मर्मत भइरहेको
सरकारले दाबी गरेको छ।
बाढीले टिमुरेदेखि मुग्लिनसम्म ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्याएको सरकारी तथ्याङ्क
छ।
अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा
क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका प्रधामन्त्रीको
सचिवालयले जनाएको छ।
“पुनःनिर्माण
गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ १७ गते बोलपत्र आह्वान
गरिसकेको छ,” सचिवालयले भनेको छ।
तिब्बतबाट थप १५५ नेपालीको उद्धार
चीन सरकारले भोटेकोशी-त्रिशूली बाढीपछि
तिब्बततर्फ फसेका थप १५५ जना नेपालीलाई उद्धार गरी शुक्रवार नेपाल पठाएको
अधिकारीहरूले बताएका छन्।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले उनीहरू दिउँसो २ बजेतिर तातोपानी नाकाबाट नेपाल प्रवेश गरेको बीबीसीलाई बताए।
उनका अनुसार उद्धार गरिएकामध्ये १४५ रसुवाका, ९ जना काठमाण्डूका र एक जना धादिङका छन्।
यसअघि बिहीवार एक
नाबालकसहित ११४ नेपालीलाई चीनले उद्धार गरी तातोपानी नाकाबाटै नेपाल प्रवेश गराएको
थियो।
बिहीवार मनसुन प्रतिकार्य
कमान्ड पोस्टको एउटा बैठकले बाढीका कारण चीनतिर अड्किएका नेपालीलाई चीनले तातोपानी
पुर्याएपछि पूर्वाधार विकास मन्त्रालयले काठमाण्डूमा उपयुक्त व्यवस्था मिलाउने र
घर ठेगानासम्म पुर्याउन भूमिव्यवस्था,
सहकारी, सङ्घीय मामिला
तथा सामान्य प्रशासन मन्त्रालयले व्यवस्था गर्ने गराउने निर्णय गरेको थियो।
दार्चुलामा चौलानी नदी पहिरोले आधा थुनियो, उच्च सतर्कता अपनाउन आग्रह, प्रकाश पार्की
दार्चुलाको अपिहिमाल गाउँपालिका-१ भट्टारस्थित
चौलानी नदी पहिरोका कारण आधा थुनिएको अधिकारीहरूले बताएका छन्।
माथिबाट पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने
सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीको तटीय
क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह
गरेको छ।
नदी पूर्ण रूपमा थुनिएमा एक्कासि पानीको बहाव बढेर तटीय क्षेत्रमा जोखिम
निम्तिन सक्ने भएकाले सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि विशेष सावधानी
अपनाउन प्रशासनले अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी
दिए।
प्रशासनले नदी आसपासका बस्तीका नागरिकलाई नदीको अवस्था र पहिरोको
गतिविधिबारे सचेत रहन तथा जोखिम देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह
गरेको छ।
चिनियाँ पक्षबाट नेपाललाई मौसमी जानकारी
तस्बिर स्रोत, @PRCSpoxNepal
चीनका मौसमसम्बन्धी निकायले मौसमको निगरानी, पूर्वानुमान, पूर्वसूचना र असरबारे नेपाली
अधिकारीहरूलाई सूचना उपलब्ध गराइरहेको काठमाण्डूस्थित चिनियाँ राजदूतावासले जनाएको
छ।
चाइना मिटिओरोलजिक एड्मिनिस्ट्रेशन सीएमएका प्रवक्ताले त्यसबारे एउटा
पत्रकार सम्मेलनमा जानकारी गराएको दूतावासले उल्लेख गरेको छ।
“भोटेकोशी-त्रिशूली विपद्लगत्तै सीएमएले नेपालका मौसम
अधिकारीहरूसँग भिडिओमार्फत् परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यमा मौसमसम्बन्धी
सहयोग गर्दै आएको छ,” दूतावासले भनेको छ।
मृतकको सङ्ख्या १,२९५ पुग्यो
रसुवा हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परेका १,२९५ जनाको शव फेला परेको र ४,८९८ जना अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको
छ।
प्रहरीले दिउँसो २ बजे अद्यावधिक गरेको विवरणमा भेटिएका शवमध्ये १,०३० वटा शव व्यवस्थापन गरिसकिएको उल्लेख छ।
उद्धारपछि हाल ३,६५५ जना होल्डिङ सेन्टरमा रहेको प्रहरीले जनाएको छ।
रसुवादेखि नवलपरासी पश्चिमसम्म शवहरू (विभिन्न मानव अङ्गसहित) भेटिएको खोजी
तथा उद्धारमा संलग्न निकायहरूले जनाएका छन्।
केही शव नारायणी नदीमा बगेर भारत पनि पुगेका छन्। भारतमा भेटिएका शव
नवलपरासी पश्चिम ल्याइएको प्रहरीले जनाएको छ।
त्रिशूली थ्री एको सुरुङबाट एकजनाको शव निकालियो
त्रिशूली थ्रीएमा दुईजनालाई जीवित उद्धार गरिएपछि तेस्रो भने शव फेला
परेको त्यहाँ रहेका विद्युत प्राधिकरणका अधिकारीले बीबीसीलाई बताएका छन्।
उनका अनुसार
शवको अवस्थाले पहिचान गर्न कठिन छ।
विद्युत प्राधिकरणका सहप्रबन्धक सुरेश राउतले
बीबीसीसँग भने, “सुरुङभित्र फेला परेको शव
सुन्निएको अवस्थामा छ र पहिचान गर्न सकिएको छैन।
सुरुङबाट भाग्दाभाग्दै बाढीमा परेर मृत्यु भएजस्तो देखिन्छ।
यी हुन् बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरू
तिब्बतबाट रसुवा हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण ती नदीमा बनेका र बन्दै गरेका अनेकौँ जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ।
तिनमा कार्यरत कर्मचारीहरू ठूलो सङ्ख्यामा सम्पर्कविहीन भएका छन्। तीमध्ये केही सुरुङभित्र फसेको र जीवितै हुन सक्ने ठानिएकाले खोजी तथा उद्धारकार्य आज दशौँ दिन पनि जारी छ।
रसुवा हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परेका १,२८७ जनाको शव फेला परेको र ५,०८३ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
सो निकायले दिउँसो १२ः३० बजे अद्यावधिक गरेको विवरणमा भेटिएका शवमध्ये ९६ जनाको मात्र सनाखत भई आफन्तले बुझिलिएको उल्लेख छ।
प्रभावित स्थलहरूमा घाइते भएर हालसम्म उपचार गरिएका मानिसहरूको सङ्ख्या ५,३९७ रहेको प्राधिकरणले जनाएको छ।
बाढी गएपछि अहिलेसम्म १३ हजार जनाभन्दा धेरैको उद्धार गरिएको र ४,५०० जनाभन्दा धेरै आश्रयस्थलमा रहेको उक्त विवरणमा जनाइएको छ।
रसुवादेखि नवलपरासी पश्चिमसम्म शवहरू (विभिन्न मानव अङ्गसहित) भेटिएको खोजी तथा उद्धारमा संलग्न निकायहरूले जनाएका छन्। केही शव नारायणी नदीमा बगेर भारत पनि पुगेका छन्। भारतमा भेटिएका शव नवलपरासी पश्चिम ल्याइएको प्रहरीले जनाएको छ।
कहाँ कति शव फेला परे?
रसुवा – १४०
नुवाकोट – १८४
धादिङ – ६३
गोरखा – ७२
नवलपरासी पूर्व – २१९
नवलपरासी पश्चिम (भारतमा फेला परेर ल्याइएका शवसहित) – २१२
तनहुँ – ३८
चितवन – ३५९
त्रिवि शिक्षण अस्पताल ल्याइएका १९३ शवमध्ये २४ को पहिचान
भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको छ।
राष्ट्रिय समाचार समितिका अनुसार सो अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले अस्पतालमा ल्याइएकामध्ये १७४ शवको परीक्षण भइसकेको जानकारी दिएका छन्।
तीमध्ये अहिलेसम्म २४ जनाको शव मात्र पहिचान गरी परिवार तथा आफन्तलाई जिम्मा लगाइएको उनले बताए।
उनका अनुसार अस्पतालमा ल्याएकामध्ये १५१ शव र १० वटा शवका विभिन्न अङ्गसहित १६१ शवको व्यवस्थापन गरिएको छ।
उद्धार भएपछि सञ्जय साहले के भने
तस्बिर स्रोत, PM Secetariat/Handout
उद्धार गरिएपछि कृत्रिम अक्सिजनको सहयोगमा राखिएका सञ्जय साहले सैनिक अधिकारीहरूले सोधेको प्रश्नको उत्तर दिएको भिडिओ अहिले सामाजिक सञ्जालमा देखा परेको छ।
बीबीसीले उक्त भिडिओको प्रामाणिकता पुष्टि गरेको छैन।
तर उक्त भिडिओ उनलाई हेलिकप्टरमा राखेर काठमाण्डू पठाउनुअघि खिचे जस्तो देखिन्छ।
सुरुङभित्र अरू मानिसहरू पनि छन् कि भनेर सोधिएको प्रश्नमा उनी यसो भन्छन् -
"म कन्ट्रोल रूममा अपरेटरको काम गर्थेँ। अरू समयमा ५/६ जना मात्रै हुन्थे, त्यतिबेला चाहिँ ४०/४५ जना नै थिए।
कन्ट्रोल रूममा म भएपछि सबैको ज्यान बचाउने दायित्व मेरो थियो। त्यस्तो दुर्घटना भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनुपर्यो।
त्यस क्रममा मैले ड्याममा ठूलो दुर्घटना भएको बताएँ र सबैलाई बाहिर भाग्न लगाएँ। त्यसो गर्दा मेरो समय बित्यो र म भाग्नै पाइनँ।
हाम्रो सम्पर्कमा… साथीहरू कुरा भएकोमा… तीन चारजना मात्रै थिए नजिक छेउछाउ कुरा गर्दा हल्ला गरेर…।
[पावरहाउस भित्र पनि मानिसहरू] हुन सक्छन्। सबै भाग्न नसकेको होला। टनल लामो छ। टनलमा भए पनि पानीको फोर्सले भित्र लगिसकेको होला।"
[भदौ] १० गते १० बजे दुर्घटना भएको हो। कन्ट्रोल रुममा टाइम नोट गरेको थिएँ। भित्र हरेकृष्ण महामन्त्र जप गरेर बसेँ।"
सुरुङमा फसेको ठानिएका बाँकी मानिसको उद्धारको प्रयास जारी
तस्बिर स्रोत, PM Secretariat/Handout
त्रिशूली ३एको सुरुङबाट दुई जनाको उद्धारपछि त्यहाँ फसिरहेका हुन सक्ने थप मानिसहरूलाई उद्धार
गर्न टोली अझै अगाडि बढेको उद्धारस्थलनजिक रहेका नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउतले बताएका
छन्।
विगतमा उक्त सुरुङको माथिपट्टिबाट अक्सिजन दिइएकोमा अब जहाँबाट सञ्जय
साह र कबीर महर्जनलाई बाहिर निकालियो त्यहीँबाट अक्सिजन पठाउने र उद्धारका लागि अघि
बढ्ने काम भइरहेको उनले बताएका हुन्।
उद्धार गरिएका दुईमध्ये कबीर महर्जनको कम्मर र घुँडामा केही चोटपटक
देखिएको उनले बताए। प्रधानमन्त्रीको सचिवालयले उनको अवस्था गम्भीर रहेको जनाएको छ।
उनलाई सैनिक अस्पतालमा सघन उपचारकक्षमा राखिएको छ।
उक्त सुरुङको लम्बाई १७० मिटर रहेकोमा नेपाली सेनाले शुक्रवार
बिहानसम्म १०० मिटर भित्रसम्म पुग्न सकिएको जनाएको थियो।
“उहाँहरू (कबीर र सञ्जय) १७० मिटरको
टनलमा केही भाग यता आउन खोज्नुभएको थियो, त्यही भएर अलि चाँडै भेटिनुभयो,” उनले भने।
“बाँकीको उद्धारलाई
हाम्रो टोली थप अक्सिजन पठाएर अगाडि जाने क्रममा हुनुहुन्छ। हामी प्रयासरत छौँ।”
तस्बिर स्रोत, Suresh Raut
तस्बिरको क्याप्शन, नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउत
उद्धार गरिएका एक जना सैनिक अस्पतालको सघन उपचार कक्षमा
तस्बिर स्रोत, PMO
त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था सामान्य रहेको र अर्काको अवस्था जटिल रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
"जटिल अवस्थामा रहनुभएका व्यक्ति दोस्रो पटक उद्धार गरिनुभएका कबीर महर्जन हुनुहुन्छ," सचिवालयले एउटा विज्ञप्तिमा भनेको छ।
उनलाई काठमाण्डूको छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार थालिएको विज्ञप्तिमा उल्लेख छ।
सचिवालयका अनुसार उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य छ। तर उनको पनि सैनिक अस्पतालमा थप परीक्षण हुने विज्ञप्तिमा उल्लेख छ।
उद्धार गरिएका दुवै जनालाई हेलिकप्टरबाट काठमाण्डू लगियो
त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङबाट आज बिहान जीवितै उद्धार गरिएका सञ्जय साह र कबीर महर्जनलाई सेनाको हेलिकप्टरबाट काठमाण्डू लगिएको नेपाली सेनाले जनाएको छ।
उनीहरूको छाउनीस्थित सैनिक अस्पतालमा उपचार गरिने बुझिएको छ।