सुस्तामा सेनाको 'विपद् रेकी' र थप सशस्त्र प्रहरी खटिएकोबारे हामीलाई के थाहा छ

तस्बिर स्रोत, RSS
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
सीमा सुरक्षामा सहयोग, नागरिकता र आफ्नो जग्गाको लालपुर्जा लगायतको माग गर्दै सुस्ताका स्थानीय बासिन्दाले काठमाण्डूमा आएर प्रदर्शन गरेको केही समयपछि त्यहाँ बसोबास गर्नेहरूको तथ्याङ्क सङ्कलन थालिएको अधिकारीहरूले बताएका छन्।
भारतसँग जोडिएको र सीमा विवादको समस्या रहँदै आएको सुस्तास्थित सीमा पोस्टमा सशस्त्र प्रहरीको जनशक्ति पनि थपिएको स्थानीय अधिकारीहरूले बताइरहँदा नेपाली सेनाको एक टोलीले पनि विपद् पूर्वतयारीको सिलसिलामा त्यस क्षेत्रको भ्रमण गरेको जनाएको छ।
सुस्तामा झन्डै १४५ वर्ग किलोमिटर नेपाली भूमि मिचिएको सीमा अध्ययन गरेका नेपाली विज्ञहरूले दाबी गर्ने गर्छन्। हालै मात्र त्यहाँ नेपाली भूमिमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गस्ती प्रवेश गरेको विषयले विवाद निम्त्याएको थियो।
उक्त घटनापछि काठमाण्डूमा विरोधप्रदर्शन गर्न सुस्ताबाट स्थानीय बासिन्दाको एउटा टोली काठमाण्डू आएको थियो।
उनीहरूले केन्द्र सरकारसँग सीमा सुरक्षामा सहयोग, नागरिकता वितरणका साथै आफूले भोगचलन गर्दै आएका घरजग्गाको लालपुर्जा माग गरेका थिए। स्थानीय जनप्रतिनिधिले उनीहरूको मागबमोजिम नागरिकता वितरण कार्य अघि बढाउन सहजीकरण गर्ने उद्देश्यले स्थानीय बासिन्दाको तथ्याङ्क सङ्कलन थालिएको जनाएका छन्।
मनसुनजन्य विपद् प्रतिकार्यको तयारी
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले सेनाका टोलीहरूले देशभर मनसुनजन्य विपद्को प्रतिकार्यका लागि स्थलगत भ्रमणहरू गरिरहेका उल्लेख गर्दै त्यसमध्ये एउटा टोली सुस्ता क्षेत्रमा पुगेको जानकारी दिएका छन्।
उनी भन्छन्, "नेपाली सेनाले यो मनसुनजन्य विपद्मा कहाँ कहाँ कस्तो अवस्था छ र कसरी काम गर्ने भन्ने विषयमा हामीले पूर्वमा मेचीदेखी पश्चिममा महाकालीसम्म नै विभिन्न स्थलगत भ्रमणहरू गरिरहेका छौँ। यहीँ क्रममा हाम्रो टिमहरू सबैतिर गइरहेको छ ।"
बीबीसीले बताइए अनुसार उक्त स्थलगत भ्रमणमा 'सिभिल' (सादा पोसाक)मा सैनिक अधिकारीहरू सुस्ता पुगेका थिए।
सैनिक प्रवक्ता बस्नेतका अनुसार यस्ता भ्रमणको निष्कर्ष गृह मन्त्रालय र विपद् प्राधिकरणका बैठकहरूमा सेनाले प्रस्तुत गर्ने गरेको उल्लेख गर्दै सम्भावित विपद्लाई ध्यान दिएर बुटवलमा पनि एउटा हेलिकोप्टर तैनाथ गरिएको बताए।
यसैबीच भारतले नेपाली सैनिक अधिकारीहरूले सुस्ता भ्रमण गरेको भन्ने विषयबारे नेपाली पक्षसँग चासो व्यक्त गरेको विभिन्न विवरणहरू आएका छन् तर बीबीसीले यस्तो विवरणको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
बीबीसीले काठमाण्डूस्थित परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका प्रवक्ताहरूसँग सम्पर्क गरेर यस विषयमा जानकारी माग गर्ने प्रयास गरेको भएपनि उनीहरूबाट कुनै जवाफ प्राप्त भएको छैन।

सुरक्षा व्यवस्था कस्तो छ?
केन्द्रीय राजधानीमा आएर विरोध प्रदर्शन गरेका सुस्ताका बासिन्दाहरूले गृह मन्त्रालयलाई आफ्ना कुरा सुनाएको र त्यसपछि मन्त्रालयले स्थानीय प्रशासनलाई सुरक्षा र नागरिकता सम्बन्धी निर्देशनहरू दिएको विवरण आएका थिए।
सुस्ता गाउँपालिका वडा नम्बर पाँचका अध्यक्ष प्रभुनाथ अहिरले भने, "अहिले सुरक्षा अवस्था राम्रो छ। करिब एक हप्ता पहिला थप १४ जना सुरक्षाकर्मी आएका छन्। अहिले पनि यहाँ नागरिकता र लालपुर्जाका लागि आवाज उठिरहेको छ। गस्ती गर्दा नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलले एकैसाथ हिँड्नुपर्यो, एक्ला एक्लै हिँड्नु भएन भन्ने पनि कुरा छ।"
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता नेत्रबहादुर कार्कीले आवश्यकता अनुसार एकल वा संयुक्त दुवै खालका गस्तीहरू हुने गरेको बताए।
सुस्ताका बासिन्दाहरूले गृह मन्त्रालयको ध्यानाकर्षण गराएपछि सशस्त्र प्रहरी बलले चालेका कदमबारे उनले थपे, "हामीले अनुगमन बढाउने, गस्तीहरू वृद्धि गर्ने यीनै कामहरू हामीहरूले गरिरहेका छौँ।"
हाल सुस्तामा रहेको बोर्डर आउट पोस्टको नेतृत्व सशस्त्र प्रहरी उपरीक्षकले गर्दै आएका छन्। स्थानीय बासिन्दाले अझ माथिल्लो ओहदाका अधिकृतले उक्त पोस्टको कमान्ड गर्नुपर्ने माग राख्ने गरेका छन्।

प्रवक्ता कार्कीले मन्त्रालयबाट कमान्डको संरचनामा परिवर्तनबारे कुनै निर्देशन नआएको उल्लेख गर्दै थपे, "बीओपीमा जुन हाम्रो पहिले देखि खटिएको टोली छ, अहिले पनि त्यहीँ नै हो। त्यसमा कहिले काहीँ दुई चार जना मानिसहरू कम हुने। कहिले बढी हुने त्यो फरक विषय हो।"
स्थानीय प्रमुख जिल्ला अधिकारीले त्यहाँ सुरक्षाका कुनै पनि समस्या नरहेको जानकारी दिए।
नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भन्छन्, "सुरक्षा (तैनाथ) आवश्यकता अनुसार बढ्छ। अहिले त्यहाँ सामान्य अवस्था छ।"
जुन महिनाको सुरुमा भारतको सीमा सुरक्षा बल (एसएसबी)ले सुस्तामा तटबन्ध निर्माण भइरहेको स्थानमा काम रोक्न भनेका र नेपाली भूभागमा प्रवेश गर्दा कतिपय स्थानीयहरूले विरोध जनाएका विवरणहरू आएका थिए।
प्रधानमन्त्री वालेन्द्र शाहले "भारतले मात्र होइन, नेपालले पनि भारतको जमिन मिचेको" जानकारी आफू प्रधानमन्त्री भएपछि थाहा पाएको प्रतिनिधिसभामा बताएको केही दिनपछि सुस्तामा भएको उक्त घटनाक्रमबारे संसद्मा पनि प्रश्न उठेको थियो।
त्यही समय आसपास सुस्ताका बासिन्दाहरूको एउटा टोली विभिन्न मागसहित काठमाण्डू आइपुगेको थियो र राजधानीमा धर्नासहित विरोधका कार्यक्रमहरू गरेर उनीहरू फर्किएका थिए।
विवरण सङ्कलन जारी
सुस्ता गाउँपालिका वडा नम्बर पाँचका अध्यक्ष प्रभुनाथ अहिरले आफूहरूले जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गरेको उल्लेख गर्दै नागरिकता भए वा नभएका व्यक्तिहरूको विवरण सङ्कलन गरिरहेको बताए।
उनले भने, "तथ्याङ्क सङ्कलन गरेर कति घरधुरी छ, कति जनसङ्ख्या छ, कति जनाको नागरिकता छ, कति जनाको छैन, १६ वर्ष भन्दा माथि कति जना छन्, कति कम उमेरका छन् सबै डेटा ल्याउनु भनेर सिडिओ सरले भन्नुभयो। त्यसपछि त्यसलाई मन्त्रालयमा पठाउने र त्यहाँबाट एउटा निष्कर्ष आउने भन्ने कुरा भएको छ।"
उनले धेरै जनासँग बुवाको नागरिकता नभएको भन्दै तथ्याङ्क सङ्कलन सकिएपछि मात्रै यकिन सङ्ख्या भन्न सकिने सुनाए।
प्रमुख जिल्ला अधिकारी नेपालले चाहिँ कानुन बमोजिम नागरिकता वितरण गर्न समस्या नरहेको प्रतिक्रिया दिएका छन्।
उनले थपे, "नागरिकता कानुन अनुसार दिइन्छ। त्यसलाई काहीँ पनि रोकिएको छैन।"

सन् १८१६ को सुगौली सन्धिका अनुसार नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा नवलपरासीमा नारायणी नदी हो। सीमाविद्हरूका अनुसार पहिले सुस्ता गाउँ नारायणी नदीको पश्चिम किनारमा थियो।
तर समय समयमा नारायणी नदीमा आएको बाढीले धार परिवर्तन गरी पश्चिमतर्फ च्याप्दा अहिले सुस्ता नारायणी नदीको पूर्वमा पुगेको छ।
अहिले सुस्तामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका चौकीहरू छन्। त्यहाँ झन्डै ३०० घरधुरी भएको बस्ती छ।
त्यहाँ नेपाली र भारतीयहरूले चर्चेको बाहेक झन्डै २,००० बिगाहा खाली जग्गा रहेको बताइन्छ। तर उक्त जग्गामाथि नेपाल र भारत सरकारले वर्षौँदेखि आफ्नो स्वामित्व रहेको दाबी गर्दै आएका छन्।
सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार सुस्ता क्षेत्रमा नेपालको १४५ वर्ग किलोमिटर भूभाग मिचिएको छ।
उनले मूल रूपमा नदीको कटान, सीमा स्तम्भहरू नहुनुलाई अतिक्रमणको कारण भन्दै भने, "ठूलो बाढीको बेला नदीको भँगालो सुस्तामा प्रवेश गर्ने गर्छ। पछि भारतले त्यहीँ भँगालोलाई सीमाना मानेर अतिक्रमण गर्दै आएको छ।"
उनले सुगौली सन्धिले त्रिवेणी घाटबाट लगभग ३ किलोमिटर आएपछि उत्तर दक्षिण बग्ने गरेको नारायणी नदीलाई सिमाना मानेको भएपनि नदीले धार परिवर्तन गर्दा जमिन धकेलिँदै गएको र नेपाली भूमि अतिक्रमित भएको बताए।
भारतले पनि सुस्ता क्षेत्रमा सीमा विवाद रहेको स्वीकार्दै आएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















