कठ्याङ्ग्रिने जाडोका कारण अमेरिका र क्यानडामा ३८ को मृत्यु

अमेरिकामा अत्यधिक चिसो

तस्बिर स्रोत, Getty Images

Published

उत्तर अमेरिकी महादेशको अधिकांश भूभागमा फैलिएको उत्तरी आर्कटिक क्षेत्रबाट आएको चिसो सिरेटोका कारण कम्तीमा ३८ जनाको ज्यान गएको छ।

अमेरिकाभरिमा ३४ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। सबभन्दा प्रभावित न्यूयोर्कको बफेलो सहरमा हिउँले जनजीवन ठप्प बनेको छ।

क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तमा बरफ जमेको सडकमा बस चिप्लिँदा चारजनाको ज्यान गएको छ।

चिसो आँधीजस्तो अवस्थाले अभूतपूर्व रूपमा क्यानडादेखि लिएर दक्षिणमा रियो ग्रान्डेसम्म गाँजेको छ।

ठूलो सङ्ख्यामा मानिसहरू बिजुलीविना घरमै फसिरहेको हुनसक्ने बताइएको छ।

मानिसहरूको यात्रा पनि गम्भीर ढङ्गले प्रभावित भएका छन्। सयौँ उडानहरू रद्द गरिएका छन्।

ग्रेट लेक्स भनिने क्षेत्रमा ‘बम साइक्लोन’को अवस्था विकसित भइरहेको छ – त्यहाँ वातावरणीय चाप द्रुत गतिमा झरेर हिउँ आँधीको अवस्था निम्तिँदै गरेको बताइएको छ।

के छ पूर्वानुमान?

मौसम पूर्वानुमानकर्ताहरूले केही दिनमा अवस्था अलि मत्थर हुने भएपनि अनावश्यक यात्राहरू भने नगर्न सुझाएका छन्।

चिसो हुरीका कारण कैयन् ठाउँमा बिजुली अवरुद्ध भएका थिए। धेरै ठाउँमा बिजुली पुनर्स्थापित भइसकेको बताइन्छ।

केही दिन अगाडि १७ लाख मानिस बिजुलीविना बस्न वाध्य भएकोमा अब त्यो सङ्ख्या २ लाखमा झरेको एसोसिएटेड प्रेस समाचार संस्थाले जनाएको छ।

क्रिसमसको बेला उडानहरू रद्द

अमेरिकामा अत्यधिक चिसो

तस्बिर स्रोत, Getty Images

क्रिसमस पर्वको बेला आफ्ना घर परिवार भेट्न आतुर धेरै मानिसहरूलाई हजारौँ उडान प्रभावित भएपछि अप्ठेरो परिरहेको छ।

हाल न्यूयोर्क राज्यकी गभर्नर केथी होचल बफेलो सहरकी बासिन्दा हुन्। “बफेलोको निम्ति यो इतिहासकै विनाशकारी आँधी हो। युद्ध भूमिमा गएजस्तो भएको छ,” उनले आइतवार पत्रकारहरूलाई भनिन्।

त्यहाँका मानिसहरूलाई अवस्था खतरनाक भएकाले घरभित्रै बस्न भनिएको उनले बताइन्। एरी काउन्टीमा मात्र १२ जनाको ज्यान गएको छ। तीमध्ये केही गाडीभित्रै मृत फेला परेका थिए।

त्यसैगरि भर्मन्ट, ओहायो, मिजुरी, विस्कन्सीन, क्यान्सस र कोलोर्‍याडोमा पनि मृत्युहरू भएका विवरण आएका छन्।

अमेरिकाको पश्चिमी राज्य मोन्टानामा तापक्रम झरेर माइनस ४५ डिग्री सेल्सियस पुगेको छ।

क्यानडामा चाहिँ ओन्टारियो र क्युबेक प्रान्तमा धेरै प्रभाव परेको छ। क्युबेकमा आइतवार १ लाख २० हजार घरमा बिजुली अवरुद्ध रह्यो।