छत्तीसगढमा 'माओवादी आक्रमण', ११ जनाको मृत्यु

तस्बिर स्रोत, DAILY CHHATTISGARH via BBC Hindi
भारतको छत्तीसगढ राज्यको दन्तेवाडामा सन्दिग्ध माओवादीहरूले गरेको बम आक्रमणमा परेर १० सुरक्षाकर्मीसहित ११ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दन्तेवाडाको अरनपुर क्षेत्रमा माओवादीहरू रहेका सूचना पाएपछि एउटा गाडीमा सुरक्षाकर्मीको टोलीलाई त्यसतर्फ पठाइएको थियो।
मृत्यु हुनेमा डिस्ट्रिक्ट रिजर्भ गार्ड (डीआरजी) का १० जवान र गाडीका चालक थिए।
माओवादीविरुद्ध गरिएको कारबाहीपछि फर्किँदै गरेका सुरक्षाकर्मीको गाडीलाई निसाना बनाएर सन्दिग्ध माओवादीहरूले विस्फोट गराएको बताइएको छ।
घटनास्थलमै १० जना जवान र चालकको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।
घटनापछि सो क्षेत्रमा खोजी अभियानका लागि अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।


“दन्तेवाडाको अरनपुर क्षेत्रमा माओवादीहरू रहेका सूचना प्राप्त भएपछि कारबाही थालिएको थियो,” बस्तरका आईजी सुन्दरराज पीले भने।
“कारबाहीपछि सुरक्षाकर्मीहरू जिल्ला मुख्यालय फर्किँदै गरेका बेला आईईडी प्रयोग गरेर आक्रमण गरिएको देखियो।”

तस्बिर स्रोत, BBC/ ALOK PUTUL
घटनाप्रति दुःख व्यक्त गर्दै छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले माओवादीहरूलाई नछोडिने प्रतिक्रिया दिएका छन्।
भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले मुख्यमन्त्री मुख्यमन्त्री बघेलसँग घटनाबारे जानकारी लिँदै केन्द्र सरकारले आवश्यक सबै सहयोग गर्ने बताएका छन्।
“बस्तरमा माओवादीविरुद्ध सञ्चालन गरिने कारबाहीका क्रममा प्रयोग हुने सवारीसाधनबारे पटकपटक सचेत गराइएको छ र उनीहरूलाई त्यसरी सवारीसाधन प्रयोग नगर्न निर्देशन दिइएको छ,” एक प्रहरी अधिकारीले बीबीसीसँग भने।

तस्बिर स्रोत, DAILY CHHATTISGARH via BBC Hindi
कारबाहीपछि थाकेका सुरक्षाकर्मीहरू निजी सवारीसाधनमा आक्रमण गरेको जानकारी माओवादीले पाएपछि उनीहरूले बाटो ढुकेर उक्त आक्रमण गरेको अनुमान गरिएको छ।
खनिज पदार्थको धनी राज्य छत्तीसगढले साढे तीन दशकदेखि माओवादी सशस्त्र द्वन्द्व झेलिरहेको छ।
त्यहाँ बारम्बार सुरक्षाकर्मीमाथि हमला हुने गरेको छ।

तस्बिर स्रोत, Getty Images
भारतमा माओवादी विद्रोह
भारतमा माओवादी विद्रोह पश्चिम बङ्गालको दुर्गम स्थानमा सन् १९६० मा भयो।
- नक्सलबाडीबाट सुरु भएकाले यो आन्दोलनलाई नक्सलवादी आन्दोलन पनि भनिन्छ।
- भारतका प्रमुख आन्तरिक सुरक्षा चुनौतीमध्ये माओवादी आन्दोलनलाई पनि मानिन्छ।
- भारतीय सुरक्षाकर्मीले नक्सबाडीको विद्रोह दमन गरेको भए पनि पछि माओवादीहरू सङ्गठित भए र पूर्वी तथा मध्य भारतको ठूलो क्षेत्रमा फैलिए।
- माओवादीहरू फैलिएको क्षेत्रलाई रेड करिडोर भनिन्छ।
- यो क्षेत्रमा झारखण्ड, पश्चिम बङ्गाल, ओडिसा, बिहार, छत्तीसगढ र उत्तर प्रदेश पर्छन्। माओवादीको केही प्रभाव उत्तर प्रदेश तथा कर्नाटक राज्यमा पनि छ।
छत्तीसगढमा भएका ठूला आक्रमण
- सन् २००७ मा एउटा प्रहरी चौकीमा आक्रमण गरी ५५ प्रहरीको हत्या
- सन् २०१० एप्रिलमा घना जङ्गलमा अर्धसैनिक बलमाथि आक्रमण गर्दा कम्तीमा ७६ जनाको मृत्यु




















