जब एक किशोरले 'विश्वप्रसिद्ध प्रतीक' काटेर ठुटो बनाइदिए

अवैध रूपमा काटिएको सिकमोर रूखको फाइल तस्बिर

तस्बिर स्रोत, Ian Sproat

    • Author, एन्ड्रू वेब
    • Role, बीबीसी विश्व सेवा
  • Published

धेरैले "विश्वप्रसिद्ध प्रतीक"को रूपमा वर्णन गरेको रूख अवैध रूपमा काटिएको छ। तर त्यो फेरि पलाउन सक्ने ठानिएको छ।

उक्त रूख झन्डै ३०० वर्ष पुरानो थियो र उत्तरी इङ्ग्ल्यान्डस्थित प्राचीन रोमन किल्ला हेड्रिअन्स वालको एउटा क्षेत्रमा पर्ने सिकमोर ग्यापमा थियो।

यूकेको वुडल्यान्ड ट्रस्टद्वारा आयोजित एउटा प्रतियोगितामा सन् २०१६ मा उक्त रूखलाई ‘वर्ष रूख’को उपाधि दिइएको थियो।

अधिकारीहरूले त्यो रूखलाई ग्यास, बिजुली वा ब्याट्रीबाट चल्ने एक किसिमको आराले काटिएको जानकारी दिएका छन्।

काटिएको रूख

तस्बिर स्रोत, Getty Images

ठुटोमा फेरि पालुवा लाग्न सक्छ

तर प्रकृतिसम्बन्धी विज्ञहरू उक्त ‘सिकमोर’ प्रजातिको रूखको ठुटोमा नयाँ पालुवा आउन सक्ने ठान्छन्।

यूकेको न्याश्नल ट्रस्टले उक्त ठुटोलाई सुरक्षित राख्न खोजिरहेको छ। त्यसो गरिएमा अर्को वसन्त याममा त्यसमा पालुवा लाग्न सक्ने उसको विश्वास छ। ट्रस्टले त्यो रूखको बीउ पनि जम्मा गर्ने प्रयास गर्ने जनाएको छ।

फोटोग्राफर इयन स्प्रोटले नोर्दर्न लाइट्स अर्थात् उत्तरी गोलार्धमा राति आकाशमा देखिने रङ्गीविरङ्गी उज्यालोमा टल्किएको उक्त रूखका तस्बिरहरू खिचेका छन्। उनले खिचेका तस्बिरमा विभिन्न ऋतुमा त्यो रूख कस्तो देखिन्थ्यो भन्ने झल्किन्छ।

उनले बीबीसीसँग भने, "सिकमोरका रूखहरू धेरै सहनशील हुन्छन्। आगामी दशकहरूमा त्यो रूख जाग्न पनि सक्छ। त्यसको हेरचाह गर्न आवश्यक छ। यदि केही गर्न सकिन्छ भने त्यो गर्नुपर्छ।"

"समाकार बान्कीको भएकाले त्यो निकै सुन्दर थियो। रूखका दुवैतिर डाँडा र मध्य भागमा रूख अनि 'नोर्थ सी'तिर फर्किएको रात्रिकालीन आकाश र त्यसपछाडि नोर्दर्न लाइट्स। तस्बिर खिच्न योभन्दा अरू उत्तम ठाउँ हुँदैन।"

सिकमोर रूख

तस्बिर स्रोत, Ian Sproat

रूख ढालिएको सुनेपछि आफूलाई कस्तो महसुस भयो भनेर उनले वर्णन गरेका छन्।

"सुरुमा त मलाई रिस उठ्यो। ...त्यसपछि दुःख लाग्यो। मलाई उदास बनायो।"

"त्यो मानिसहरू शान्ति खोज्न जाने ठाउँ थियो। त्यो सानो आश्रयस्थलजस्तै थियो। वास्तविक संसारबाट एकछिन विश्राम लिन पनि मान्छे जान्थे। अब त्यो सकियो।"

सूर्यास्तका बेला सिकमोरको रूख

तस्बिर स्रोत, Tom Wright

तस्बिरको क्याप्शन, 'यो एकदम पूर्ण थियो, संसारभरिका फोटोग्राफरहरूले यसको वरिपरिको परिदृश्यका कारण यसैलाई हेर्न यहाँ भ्रमण गरे,' न्यूकाशल हाइकिङका स्टीभ अप्टन भन्छन्

गिरफ्तारी

"जानीजानी विनाश" गरेको भन्दै प्रहरीले आपराधिक क्षति पुर्‍याएको आशङ्कामा एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

सिकमोर रूख

तस्बिर स्रोत, Mark Beadle

तस्बिरको क्याप्शन, स्थानीयवासी केभिन बेन्ब्रिजले बिहेअघि आफ्नी पत्नीलाई यही रूखमुनि प्रेम प्रस्ताव राखेका थिए

'रबिन हुडको रूख'

त्यो रूख हलीवुड चलचित्रहरूमा पनि देखिएको थियो। त्यो उत्तरपूर्वी इङ्ग्ल्यान्डमा धेरै मन पर्ने प्रतीकमध्ये एक थियो।

त्यो यूकेमा सबैभन्दा धेरै फोटो लिइएको रूख पनि हो।

केभिन कोस्टनर र एलन रिकम्यानले अभिनय गरेको सन् १९९१ को रबिन हुड प्रिन्स अफ थिभ्स’मा देखा परेपछि त्यसलाई रबिन हुडको रूख भनेर चिनिन्थ्यो।

नजिकै बस्ने क्याथरिन केप भन्छिन्, 'यस्तो चिसो र खुला ठाउँमा यो सबैको लागि आशाको किरण बनेको थियो।'

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, त्यो ठाउँलाई क्याथरिन केप सबैको लागि आशाको किरण रहेको बताउँछिन्

'अर्थहीन काम'

उक्त चलचित्रमा ड्यान न्यूम्यानले वुल्फको भूमिका खेलेका थिए। वुल्फ एउटा सानो बालक हो र ऊ सिकमोरको रूखमा लुकेको हुन्छ अनि केभिन कोस्टनरले उसलाई उद्धार गर्छन्।

"त्यो नै मेरो पहिलो काम थियो, मैले चलचित्रमा गरेको। वास्तवमा त्यो मेरो पहिलो दिन थियो," अभिनेताबाट व्यक्तिगत प्रशिक्षक बनेका उनी भन्छन्।

"त्यो एउटा सुन्दर र प्रतिष्ठित आकृति थियो हैन र?”

नजिकैको सहर हेक्शामका एक कर्मचारी स्टीभ ब्लेअर भन्छन्, 'यो धेरै  प्रतीकात्मक छ, तपाईँ मानिसहरूलाई किनारमा बसेर एकैपटक रूख हेरिरहेको देख्नुहुन्छ।'

तस्बिर स्रोत, Tom Wright

तस्बिरको क्याप्शन, नजिकैको सहर हेक्शामका एक कर्मचारी स्टीभ ब्लेअर भन्छन्, 'यो धेरै प्रतीकात्मक छ, तपाईँ मानिसहरूलाई किनारमा बसेर एकैपटक रूख हेरिरहेको देख्नुहुन्छ।'

"यसबारे यस्तो व्यापक प्रतिक्रिया छ। त्यसैका आधारमा तपाईँ के भन्न सक्नुहुन्छ भने त्यो केवल त्यसको नजिकै बस्ने मानिसहरू र त्यसलाई चिन्नेहरूका लागि मात्र सरोकारको कुरा हैन।"

त्यो रूख काट्ने कामलाई उनी 'अर्थहीन' को सङ्ज्ञा दिन्छन्।

"यस्तो चिसो र खुला ठाउँमा यो सबैको लागि आशाको किरण बनेको थियो," बीबीसीकी फ्रान्सेस्का विलियम्स स्मरण गर्छिन्।

तस्बिर स्रोत, Francesca Williams

तस्बिरको क्याप्शन, "यस्तो चिसो र खुला ठाउँमा यो सबैको लागि आशाको किरण बनेको थियो," बीबीसीकी फ्रान्सेस्का विलियम्स स्मरण गर्छिन्।

इयन स्प्रोटका अनुसार सिकमोरको रूख ढल्दा नजिकै अर्को क्षति पनि पुगेको थियो।

उनका अनुसार त्यहाँ मानिसहरू आफ्ना दिवङ्गत आफन्तहरूको सम्झना गर्न आउँछन्। मृतकको अन्तिम संस्कारपछि त्यहाँ खरानी विसर्जन गर्ने चलन पनि छ।

"त्यो रूख पर्खालको अर्को छेउमा रहेको पवित्र स्थानमा खसेको थियो," उनले भने।

"त्यसैले उक्त घटनाले धेरै मानिसहरूलाई निराश बनाएको छ।"

'यसले धेरै मानिसहरूलाई सान्त्वना दियो। त्यसमा हाम्रो परिवार मात्र एक्लै छैन,' कोभिड लकडाउनका बेला रूख वरपर हिँडेको स्मरण गर्दै क्याथरिन केप भन्छिन्।

तस्बिर स्रोत, IAN SPROAT

तस्बिरको क्याप्शन, 'यसले धेरै मानिसहरूलाई सान्त्वना दियो। त्यसमा हाम्रो परिवार मात्र एक्लै छैन,' कोभिड लकडाउनका बेला रूख वरपर हिँडेको स्मरण गर्दै क्याथरिन केप भन्छिन्।

‘हाम्रो खरानी त्यहाँ छरिनुपर्छ’

स्थानीय बासिन्दा केभिन बेन्ब्रिजका लागि रूख भएको क्षेत्र "एउटा विशेष ठाउँ" थियो।

उनले आफ्नी श्रीमतीलाई उक्त रूखको हाँगामुनि प्रेम प्रस्ताव राखेका थिए र परिवारका सदस्यको खरानी यसको छायामा छरिएको थियो।

"हामी सधैँ नै भन्थ्यौँ हामीलाई केही भइहाल्यो भने हाम्रो खरानी पनि त्यहीँ छरिनुपर्छ," उनी भन्छन्।

उनका भनाइमा उक्त क्षेत्र सम्पदा क्षेत्र भएकाले अहिलेको अवस्था परीक्षाको घडीजस्तो बनेको छ।

अनुसन्धान थालेपछि ढलेको रूख वरिपरि प्रहरीले घेरा हालेको थियो

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, अनुसन्धान थालेपछि ढलेको रूख वरिपरि प्रहरीले घेरा हालेको थियो

इयन स्प्रोट धेरै आगन्तुकहरूबाट र सामाजिक सञ्जालमा व्यक्त भइरहेको धारणाको प्रतिध्वनि निकाले जसरी भावना व्यक्त गर्छन्।

"त्यो रूख मात्र होइन, त्यो एउटा आध्यात्मिक भूमिजस्तो पनि हो।"

रूख

तस्बिर स्रोत, PA Media

क्रिस रबिन्सन, बीबीसी नोर्थईस्ट र बीबीसी न्यूजराउन्डको थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।