‘हिम्मतवाली’ रेखाको ठूला दललाई चुनौती, प्रतिस्पर्धीले कसरी लिएका छन्? 

रेखा थापा

तस्बिर स्रोत, RSS

    • Author, अशोक दाहाल र ‏बिक्रम निरौला
    • Role, बीबीसी न्यूज नेपाली, विराटचोक
  • Published

धेरै ठाउँमा भोट माग्न उम्मेदवार आउँदा मतदाताहरू घर बाहिर समेत निस्कन गाह्रो मान्छन्। त्यसमाथि पनि पहिलो पटक उम्मेदवार बनेकाहरूलाई मतदाता भेट्न र आफ्ना कुरा सुनाउन कठिन हुन्छ।

गत साता मोरङ क्षेत्र नम्बर ३ स्थित बेलबारी छेउको गाउँमा घरदैलोमा उम्मेदवार आउँदा मानिसहरू घर र पसलबाट बाहिर निस्केर पर-परसम्म हेरिरहेका देखिए।

त्यहाँ भोट माग्न आउने नेता थिइन् पहिलो पटक प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लड्दै गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापा। केही समय अघिसम्म चलचित्र र टेलिभिजनमा मात्र देखिएकी अभिनेत्री थापा आफ्नो घरदैलोमा आउँदा मानिसहरू हेर्न जम्मा भइरहेका देखिन्थे।

तर मोरङकै उत्तर पश्चिमी क्षेत्रका मतदाताका लागि भने रेखा ‘सेलिब्रिटी’ भन्दा बढी ‘चेलीबेटी’ उम्मेदवार हुन्।

सलकपुरमा जन्मिएकी थापाले अहिले आफ्नो गृहनगरमा प्रमुख दलका शीर्ष नेताहरूलाई चुनौती दिइरहेकी छिन्।

अघिल्लो पटक यही क्षेत्रबाट निर्वाचित भएर मन्त्री बनिसकेका भानुभक्त ढकाल यहाँ नेकपा एमालेबाट र स्वास्थ्य व्यवसायी सुनिल शर्मा कांग्रेसबाट उम्मेदवार छन्।

स्थानीय तह र यसअघिका निर्वाचन परिणामको तुलना गर्दा राप्रपाको जनाधार एमाले र कांग्रेस भन्दा धेरै पछि देखिए पनि लोकप्रिय मत आफूलाई आउने थापाको आत्मविश्वास छ।

“म प्रत्यक्ष जनताबाट अनुमोदन भएर गएको खण्डमा फिल्ममा जस्तै एउटा हिम्मतवाली र बहादुर खलनायकहरूलाई परास्त गर्ने शक्ति मिल्छ त्यो चाहिँ मत नै हो।”

हिम्मतवाली चलचित्र निर्देशन गरिसकेकी थापाले आफूलाई चलचित्रकै शैलीमा प्रस्तुत गरिरहेकी छिन्।

प्रतिस्पर्धीले कसरी हेरेका छन्?

रेखा थापा
तस्बिरको क्याप्शन, रेखा थापाले घरदैलो गरिरहँदा मानिसहरू उनको तस्बिर लिइरहेका भेटिन्थे

एमाले र कांग्रेसका उम्मेदवारहरूले चाहिँ थापालाई प्रतिस्पर्धीको रूपमा नलिएको प्रतिक्रिया दिएका छन्।

एमाले उम्मेदवार भानुभक्त ढकालले राप्रपाको उम्मेदवारीलाई आफूले सकारात्मक रूपमा लिएको दाबी गरे।

“राप्रपाको उम्मेदवारी अहिले आफ्नै हुनु नै सकारात्मक छ। अघिल्लो पटक कांग्रेस र उहाँहरूको सहकार्य थियो अहिले राप्रपाको आफ्नै उम्मेदवार हुँदा आफ्नो भोट आफैँ लिनुहुन्छ, थप पनि लिनुहोला,” ढकालले भने।

थापाका अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले थापालाई आफूले प्रतिस्पर्धीकै रूपमा नलिएको प्रतिक्रिया दिए।

तर उनको उम्मेदवारीले एमाले भन्दा आफूलाई फाइदा पुग्ने दाबी शर्माको छ।

“उहाँले एमालेको असन्तुष्ट ४-५ हजार मत काट्नुभयो भने त्यसको फाइदा हामीलाई हुन्छ,” शर्माले भने।

प्रतिस्पर्धा कसको बीच

विगतका चुनावको अङ्कगणित ठूला दलको पक्षमा देखिए पनि आफूले अङ्कगणितलाई ध्यान नदिएको रेखाको दाबी छ।

“मत जतिसुकै ल्याओस् जित रेखा थापाको हुन्छ,” उनको दाबी छ।

थापाले मत परिवर्तन नभएसम्म पार्टी र नेता दुवै सुध्रिन नसक्ने भन्दै मतदाताहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेकी छिन्। मतदाताले विकल्प खोजिरहेको र आफूलाई जिताउने आश्वासन दिएको उनको दाबी छ।

“हामीले पार्टीका खाली झोला बोकेर आउने उम्मेदवारलाई जितायौँ। त्यो झोला लगेर बेचियो, हाम्रो बजेट दुरुपयोग भयो, भ्रस्टाचार भयो। त्यसलाई रोक्न पनि म संसद् भवनभित्र छिर्नुपर्‍यो भनेर म पालेको रूपमा, सेवकको रूपमा यहाँ आएको हो,” थापाले भनिन्।

गत वैशाखमा सम्पन्न स्थानीय चुनावको परिणाममा यो क्षेत्रमा एमालेले पाएको भोट अन्य दलको भन्दा केही बढी देखिन्छ।

थापाको उम्मेदवारीले कसलाई फाइदा र कसलाई क्षति पुर्‍याउँछ भन्नेबारे ठूला दलहरूले फरक फरक आकलन गरिरहेका छन्।

भानुभक्त ढकाल

गठबन्धनका कारण फेरिएको समीकरणका कारण पनि आफूलाई कुनै अप्ठ्यारो नपर्ने ढकालले दाबी गरे।

“गठबन्धन भएकाले झन् सजिलो भएको छ। चुनाव चिन्ह बदली रहने कुराले स्थिरता र स्थायित्वका लागि यो क्षेत्रमा हामीलाई चुनाव जित्न सजिलो भएको छ,” ढकालले भने।

चुनाव अघिबाटै गाउँ गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेका शर्माले आफूले स्थानीयलाई पुर्‍याएको सेवाकै कारण पनि हरेक वडाबाट लोकप्रिय मत आउने दाबी गरे।

“हरेक वटाबाट दुई चार सय व्यक्तिगत भोट पनि मलाई आउँछ। यो अघिल्लो निर्वाचनले पनि देखाइसकेको छ,” उनले भने।

मतदाता के भन्छन्?

घरको ढोकामा निस्किएर रेखा थापाको चुनावी अभियान हेरिरहेकी बेलबारीकी सरू श्रेष्ठले आफूलाई राजनीतिबारे केही थाहा नभए पनि आफ्नो क्षेत्रमा विकास गर्नेले चुनाव जितेको हेर्ने चाहना रहेको बताइन्।

“मलाई अरू भन्न आउँदैन विकास गर्ने भए हुन्थ्यो,” उनले भनिन्।

सुन्दरहरैँचा ९ का कृष्ण प्रसाद पौडेलले दलहरूले धेरै ढाँट छल गरेको भन्दै आफूलाई चित्त नबुझेको बताए।

“भोट माग्न नमस्कार गर्दै खुट्टा ढोग्दै आउनुहुन्छ अब भोट दिएर गएपछि भोलि पल्ट फर्किएर आउनुहुन्न। हामीले हल्लो भन्दा चिन्दिनँ भन्नुहुन्छ,” उनले भने।

खोर्सानेका टिका कट्टेलले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य र बाटोको प्रमुख समस्या रहेको बताए।

मतदाता
तस्बिरको क्याप्शन, पान पसल र चिया पसलमा मानिसहरू राजनीतिक आकलन र बहस गरिरहेका भेटिन्छन्

उनलाई विगतका निर्वाचनमा उम्मेदवारहरूले गरेका वाचा पूरा गर्ने प्रयास नगरेको भन्ने लागेको छ।

“धेरै काम गर्ने प्रतिबद्धता लिएर आउनुहुन्छ अनि पूरा गर्नुहुन्न। हामीले पनि माग्न छोडेको छैन। दलहरूले देशैभरी एकै खालको विकास गर्ने योजना लिएर आउनुपर्नेमा त्यसो हुन नसकेकाले जनताले नपत्याएको स्थिति हो,” कट्टेलले भने।

विराटचोकको पान पसलअघि गफ गरिरहेका कृष्ण भट्टराई इमानदार र नैतिकवान् नेता नभेटिएको बताउँछन्।

“भौतिक विकास त क्रमिक रूपमा हुँदै छ। तर मानव संसाधनमा भएको छैन। शिक्षा र स्वास्थ्यमा ब्रम्हलुट छ,” उनले आक्रोश पोखे।

“अब खेतीपातीका लागि मल चाहिन्छ भन्ने त कृषिप्रधान देशका नेताहरूलाई थाहा होला तर अहिले तोरी छर्ने बेलामा मल छैन।”

उम्मेदवारका वाचा

सुनिल शर्मा

एमाले उम्मेदवार ढकालले आफूले अघि बढाएका विकासका कार्यक्रम पूरा गर्ने वाचा लिएर घरदैलो गरिरहेको बताए।

उनले तटबन्ध र सडक सहितका विकास निर्माणका काम गर्ने प्रतिबद्धता गरेका छन्।

यसअघि ढकालसँगै पराजित भएका कांग्रेसका शर्माले पैसा नभएका कारण कसैले पनि उपचार नपाएर ज्यान जानुपर्ने अवस्थाको अन्त्य गर्ने वाचा दोहोर्‍याएका छन्।

“नेपालमा गरिएको स्वास्थ्य बिमाले खाडी मुलुकमा जाने कामदारले समेत नि:शुल्क उपचार पाउने नीति बनाउने मेरो प्राथमिकता हो,” उनले भने।

राप्रापाकी थापाले निर्वाचित भएपछि स्थानीय स्तरमै बसेर जनताका समस्या समाधानमा काम गर्ने वाचा गरेकी छिन्।

तटबन्ध, बिजुली र सिँचाई यो क्षेत्रमा चुनाव लडिरहेका सबै दल र उम्मेदवारका साझा मुद्दा भएका छन्।