धादिङमा अवरुद्ध पृथ्वी राजमार्ग १८ घण्टापछि खुल्यो

राजमार्ग

तस्बिर स्रोत, Shiva Acharya

Published

धादिङको धार्केमा अवरुद्ध पृथ्वी राजमार्ग १८ घण्टापछि एकतर्फी सञ्चालनमा आएको अधिकारीहरूले बताएका छन्।

सोमवार साँझ ४ बजेबाट अवरुद्ध पृथ्वी राजमार्ग मङ्गलवार बिहान १० बजेबाट सञ्चालनमा आएको धुनिबेँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिए।

धार्केस्थित गणेश खोलाको पुलसँगको बाटो भासिएर पुल जोखिममा परेपछि सोमवार अपराह्नबाट पृथ्वी राजमार्ग ठप्प भएको थियो।

सँगै निर्माणाधीन अर्को पुलका लागि जग बनाउने क्रममा हाल सञ्चालनमा रहेको पुलसँगको बाटो भासिएको थियो।

केही दिनयता लगातार भइरहेको वर्षाका कारण पुरानो पुल आसपासको क्षेत्र भासिएको हुनसक्ने आचार्यले बताए।

“सेना, सशस्त्र प्रहरी र मजदुरहरूले रातैभरि काम गरेर बाटो सञ्चालनमा आएको छ। दुवै तर्फी बाटो सञ्चालनमा आउन अझै केही दिन लाग्न सक्छ,” आचार्यले बीबीसी न्यूज नेपालीसँग टेलिफोनमा भने।

भासिएको सडकमा तारजाली लगाएर ढुङ्गा र माटो भरिएको उनले बताए।

रातभर सडक अवरुद्ध भएको ठाउँ थानकोटबाट करिब २० किलोमिटर र नौबिसेबाट करिब ३ किलोमिटर दुरीमा पर्छ।

राजमार्ग

तस्बिर स्रोत, shankar shrestha

नगरप्रमुख आचार्यका अनुसार सडक अवरुद्ध हुँदा मङ्गलवार बिहानसम्म काठमाण्डूतर्फ दुई किलोमिटर र पश्चिमतर्फ करिब तीन किलोमिटरसम्म सवारी साधनको लाम लागेका खबर सार्वजनिक भएका थिए।

“दुख: पाएका र हाम्रो सम्पर्कमा आएकाहरूलाई होटेलमा बास बस्ने व्यवस्था पनि मिलाइयो धेरै जनाले गाडीभित्रै रात बिताउनुभयो,” नगरप्रमुख आचार्यले भने।

धादिङका प्रहरी प्रमुख सन्तु जैसवालका अनुसार सडक अवरुद्ध भएको क्षेत्रमा रातभर प्रहरीले गस्ती गरेको थियो।

“हामीले काठमाण्डूतर्फ जाने साना सवारीसाधनहरूलाई गल्छीबाट नुवाकोटको बाटो हुँदै उपत्यका प्रवेश गर्ने र काठमाण्डूबाट बाहिर जानेलाई नौबिसेबाट बाइरोडको बाटो हुँदै हेटौँडा निस्कने व्यवस्था मिलायौँ,” उनले भने।

राजमार्ग अवरुद्ध भएपछि पूर्व र पश्चिमबाट आउने लामो दूरीका यात्रुवाहक बसहरूलाई चितवनमै रोकिएको उनले बताए।

काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टका अनुसार थानकोट हुँदै उपत्यका बाहिर जाने ठूला सवारी साधनहरूलाई बाटो सहज नहुँदासम्म उपत्यकामै रहन भनिएको छ।