रफाहमा लडाइँ चर्कियो, हजारौँ प्यालेस्टिनीलाई सहर छोड्न इजरेलको आदेश

रफाहबाट अन्यत्र जाँदै प्यालेस्टिनी बालबालिका

तस्बिर स्रोत, Reuters

Published

इजरेलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई अझ सघन बनाउँदै हजारौँ प्यालेस्टिनीहरूलाई रफाह छोड्न आदेश दिएको छ।

हवाईजहाजबाट पर्चा छर्दै तथा सामाजिक सञ्जालमार्फत् इजरेलले रफाहको पूर्वी भागमा बसेका मानिसहरूलाई अल-मवासीतिर जान भनेको छ। अल-मवासी एउटा साँघुरो क्षेत्र हो। इजरेलले उक्त स्थानलाई "विस्तृत मानवीय क्षेत्र" भन्दै आएको छ।

रफाहमा केही दिनअघिसम्म स्थानीय बासिन्दा तथा विस्थापित मानिसहरूको घुँइचो लाग्ने गरेका सडकहरू अहिले निर्जन देखिन्छन्।

संयुक्त राज्य अमेरिका तथा अन्य पश्चिमा राष्ट्रले रफाहमा इजरेलले गर्न लागेको स्थल कारबाहीप्रति चिन्ता व्यक्त गर्दै आएका छन्। उनीहरूले त्यहाँ हुने लडाइँले ठूलो सङ्ख्यामा सर्वसाधारण मानिस हताहत हुन सक्ने र मानवीय सङ्कट निम्तिन सक्ने चेतावनी दिँदै आएका छन्।

यद्यपि इजरेल रफाहमा स्थल कारबाही गर्न दृढ देखिन्छ।

रफाहमा विस्फोटन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, आईडीएफले सैन्य कारबाही सञ्चालन गर्ने घोषणा गरेपछि उत्तरी गाजाका विभिन्न स्थानमा विस्फोटनहरू भएको देखिएको छ

अमेरिका के भन्छ?

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले हमासले इजरेली बन्धकहरूलाई छोडेको भोलिपल्टै युद्धविराम गर्न सम्भव हुने बताएका छन्।

"इजरेलले यो कुरा हमासमा निर्भर भएको बताएको छ - 'उनीहरूलाई इच्छा भए हामी भोलि नै रोक्न सक्छौँ। अनि युद्धविराम भोलिपल्टै आरम्भ हुन सक्छ," शनिवार सीयाटलमा आयोजित एउटा कार्यक्रममा बाइडनले भने।

अक्टोबर ७ मा हमासले बन्धक बनाएर लगेकामध्ये १२८ जनाको अहिलेसम्म अत्तोपत्तो नभएको इजरेलले जनाएको छ। तीमध्ये ३६ जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ।

इजरेलले रफाहबाट प्यालेस्टिनीहरूलाई ठाउँ छाड्न आदेश दिनुभन्दा केही घण्टाअघि अमेरिकाको विदेश मन्त्रालयले इजरेलले गाजा युद्धमा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्दै आफूले उपलब्ध गराएका हतियारहरू प्रयोग गरेको हुन सक्ने जनाएको थियो।

अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा ती हतियारहरू इजरेलले आफ्नो दायित्वसँग "असङ्गत" हुने गरी प्रयोग गरे नगरेको "परीक्षण गर्नु उचित" हुने उल्लेख छ।

इजरेली सेना के भन्छ?

शनिवार रफाहको आकाशमा धुवाँको मुस्लो उडेको तस्बिरहरूमा देखिन्छ। समाचारसंस्था एएफपीले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै इजिप्टसँगको सीमानजिकै हवाई आक्रमण भएको जनाएको छ।

इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) ले सामाजिक सञ्जाल 'एक्स'मा लेख्दै अघिल्लो दिन इजरेली सैनिकहरूले रफाहमा हमाससँग "आमुन्नेसामुन्ने" भएर लडाइँ गरेको जानकारी दिएको छ।

आफ्ना सैनिकहरूले रफाहमा हमासका केही भूमिगत सुरुङ फेला पारेको आईडीएफको दाबी छ।

इजरेलले गाजा स्ट्रिपका विभिन्न स्थानमा हवाई आक्रमण पनि गरेको छ। इजरेली सेनाले "आतङ्ककारी र तिनका भौतिक संरचना"लाई निसाना बनाइएको दाबी गरेको छ।

आईडीएफले गाजा स्ट्रिपको सुदूरउत्तरमा अवस्थित जबालिया क्षेत्रमा हमाससँग सम्बन्धित संरचनालाई लक्ष्य बनाइएको शनिवार राति जनाएको थियो।

त्यसअघि आईडीएफले त्यहाँका बासिन्दालाई "पश्चिमी गाजा सिटीका आश्रयस्थलहरूमा अस्थायी रूपमा" जान आदेश दिएको थियो।

इजरेली योजनाको विरोध किन?

रफाहबाट सुरक्षित स्थानतिर जान लागेका प्यालेस्टिनीहरू

तस्बिर स्रोत, Reuters

इजरेलले आक्रमण गरेपछि लडाइँबाट जोगिन प्यालेस्टाइनका विभिन्न क्षेत्रबाट जोगिन भागेका लाखौँ मानिस गाजा स्ट्रिपको दक्षिणी कुनामा शरण लिन पुगेका छन्। त्यहाँ पनि इजरेलले सैन्य कारबाही थाल्ने योजना बनाएपछि अन्तर्राष्ट्रिय क्षेत्रले चासो र चिन्ता व्यक्त गरेको हो।

गत साता अमेरिकी राष्ट्रपति बाइडनले रफाहमा प्रयोग हुन सक्ने भन्दै इजरेललाई ठूला हतियार उपलब्ध नगराउने बताएका थिए।

सीएनएनसँगको एउटा अन्तर्वार्तामा बाइडनले इजरेललाई उसको प्रतिरक्षाका लागि "आइरन डोम" हवाई प्रतिरक्षा प्रणालीका लागि आवश्यक हुने सामग्रीसहित आवश्यक अस्त्र दिने बताए। यद्यपि अमेरिकाले दिएका ठूला अस्त्रका कारण गाजामा सर्वसाधारण मानिसको ज्यान गएको भन्दै उनले इजरेलले धेरै मानिसको बसोबास भएको क्षेत्रमा सैन्य कारबाही गरिए वाशिङ्टनले इजरेललाई सहयोग उपलब्ध नगराउने चेतावनी दिए।

ब्रिटिश विदेशमन्त्री डेभिड क्यामरनले यूके पनि रफाहमा गरिने सैन्य कारबाहीको विपक्षमा रहेको बताएका छन्। तर यूकेले अमेरिकाले जस्तो अस्त्र बिक्रीमा विलम्ब गर्ने सम्भावना भने छैन।

उनले अस्त्र निर्यातमा प्रतिबन्ध लगाइए हमासलाई लाभ पुग्ने तर्क गरेका छन्।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले गत शुक्रवार बाइडनसँगको मतभिन्नता अन्त्य होस् भन्ने आफूले चाहेको तर रफाहमा सैन्य कारबाही गरी छाड्ने उद्घोष गरेका थिए।

"आवश्यक परे हामीहरू एक्लै पर्न पनि तयार छौँ। मैले भनेको छु आवश्यक पर्छ भने हामीहरू नङले मात्र पनि लड्न तयार छौँ," नेतन्याहूले भने।

गाजासँगको सीमामा इजरेली ट्याङ्क र बख्तरबन्द गाडीहरू देखा परेका छन्

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, गाजासँगको सीमामा इजरेली ट्याङ्क र बख्तरबन्द गाडीहरू देखा परेका छन्

सहायता निकायहरूले दक्षिणी गाजामा अहिले जारी इजरेली सैन्य कारबाहीका कारण प्यालेस्टिनीहरू कहीँ पनि सुरक्षित नभएको बताएका छन्।

शनिवार इजरेलले गरेको हवाई आक्रमणमा आफ्ना १० नातेदार गुमाएकी खितम अल-खतिब भन्छिन्, "अब गाजामा कुनै ठाउँ पनि सुरक्षित छैन।"

"उनीहरूले गाजामा पर्चा छरे अनि रफाहबाट अल-जबादिया जाने बाटो सुरक्षित छ, त्यतै जानू भने। मानिसहरूले त्यसै गरे। तर उनीहरूलाई के भयो? क्षतविक्षत शरीर?" उनलाई उद्धृत गरिएको छ।

अस्पताल र सहायताको अवस्था कस्तो छ?

परोपकारी संस्था 'अक्स्फाम'ले उक्त क्षेत्रमा सेवा प्रदान गर्न सक्ने कुनै अस्पताल नभएको र सहायता सामग्री निकै कम भएको जनाएको छ।

रफाहमा तीनवटा अस्पतालले आंशिक सेवा दिँदै आएका थिए। तर कर्मचारीरूलाई ठाउँ खाली गर्न आदेश दिइएपछि तथा नजिकै लडाइँ चर्किएपछि अबू यूसेफ अल-नज्जर अस्पताल बन्द भएको छ।

प्यालेस्टिनी शरणार्थीहरूसँग सम्बन्धित मामिला हेर्ने राष्ट्रसङ्घीय निकायले प्यालेस्टिनीहरूलाई जान भनिएको अल-मवासीस्थित शिविरको अवस्थाबारे चासो व्यक्त गरेको छ।

यूएनआरडब्ल्यूएका स्याम रोजले बीबीसीलाई उक्त क्षेत्रमा पठाइएका सबै मानिसहरूलाई पुग्ने यथेष्ट सुविधा त्यहाँ नभएको बताएका छन्।

"त्यहाँ समुद्री तटको बाटोछेउमा मानिसहरू झुप्रामा बस्छन्, पालमा बस्छन्।... त्यहाँ पानी आपूर्ति गर्ने प्रणाली छैन। त्यहाँ उपयुक्त संरचना छैन, ढलनिकास र सफाइ छैन," उनले भने।

हमासले अक्टोबर ७ मा अप्रत्याशित आक्रमण गरेपछि इजरेलले हमासलाई निमिट्यान्न पार्ने उद्घोष गर्दै सैन्य कारबाही थालेको हो। हमासको आक्रमणमा परी विभिन्न देशका नागरिक समेत गरी करिब १,२०० जनाको मृत्यु भएको थियो भने २५२ जनालाई हमासले बन्धक बनाएर आफूसँग लगरेको इजरेलको दाबी छ।

इजरेली सैन्य कारबाही सुरु भएपछि गाजामा झन्डै ३५,००० जनाको मृत्यु भएको र तीमध्ये अधिकांश महिला तथा बालबालिका भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।