तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के विश्वकपका 'भाइरल' स्टारहरूले इन्टरनेटको ख्यातिबाट सम्पत्ति कमाउन सक्लान्?
- Author, साक्षी वेङ्कटरमण
- Published
- पढ्ने समय: ४ मिनेट
केप भर्डका ४० वर्षीय गोलरक्षक भोजीन्यालाई एनएफएलका दिग्गज खेलाडी टम ब्र्याडीलाई इन्स्टाग्राममा फलोअरहरूको सङ्ख्याका आधारमा उछिन्न केवल ९० मिनेट लाग्यो।
जारी विश्वकपको समूहचरणमा भोजीन्याको प्रभावशाली खेलका कारण केप भर्डले स्पेनलाई गोलरहित बराबरीमा रोक्यो। विश्वकपको एउटा प्रमुख दाबेदार टोलीसँगको खेलमा उक्त नतिजा आश्चर्यजनक थियो।
त्यसपछि इन्स्टाग्राममा ५०,००० फलोअर मात्र भएका भोजीन्यालाई फलो गर्नेहरूको सङ्ख्या ह्वात्तै बढ्न थाल्यो। अहिले उनका फलोअरहरूको सङ्ख्या एक करोड ७३ लाखभन्दा धेरै पुगिसकेको छ। ब्र्याडीका फलोअरको सङ्ख्या एक करोड ५५ लाख मात्रै छ।
भोजीन्याजस्तै विश्वकपका स्टारहरूले सामाजिक सञ्जालमा आफूले कमाएको ख्याति प्रयोग गरेर आफ्ना लागि राम्रो कमाइ हुने लोभलाग्दो अवसर सिर्जना गर्न सक्छन्।
तर मिडिया विशेषज्ञ माइक सेराजियोका अनुसार त्यस्तो सम्भावना क्षणिक हुन सक्छ। "यो भाइरल हुन्छ। यो निकै चाँडो बढ्छ र त्यत्तिकै चाँडो घट्छ," उनले भने।
सामाजिक सञ्जालमा सशक्त उपस्थिति हुँदा 'ब्र्यान्ड' साझेदारी र विज्ञापनदाताहरूले व्यक्तिगत पोस्टका लागि पैसा दिन सक्छन्।
कोर्नेल विश्वविद्यालयकी डिजिटल र सामाजिक सञ्जालविज्ञ ब्रूक डफीका अनुसार लाखौँ फलोअर भएका 'इन्फ्लुअन्सर'हरूले लाख डलरभन्दा बढी भुक्तानी माग्न सक्छन्।
"फलोअरहरू अहिले 'मुद्रा'जस्तै बनेका छन्… फलोअरको सङ्ख्या उच्च हुँदा कमाइ पनि बढी हुन्छ," उनी भन्छिन्।
'स्टार' बन्ने फरक बाटो
न्यूजील्यान्डका डिफेन्डर टिम पेनलाई विश्वकप आरम्भ हुनुअघि आर्जेन्टिनाका एक इन्फ्लुअन्सरले "सबैभन्दा कम परिचित" विश्वकप खेलाडी भनेका थिए। 'एल्कार्सो' उपनामले चिनिने भालेन स्कार्सिनीले आफ्ना लाखौँ फलोअरहरूलाई पेनको प्रोफाइल 'बूस्ट' गर्न आह्वान गर्दै भिडिओ पोस्ट गरे।
पेनले पनि मेहनत गरे। उनले इन्स्टाग्राममा बढी पोस्टहरू गर्दै एल्कार्सोसँग अन्तरक्रिया गर्न थाले। केवल ५,००० फलोअर भएका उनलाई इन्स्टाग्राममा झन्डै ६० लाख जनाले फलो गरे। उक्त सङ्ख्या न्यूजील्यान्डको कुल जनसङ्ख्या (५३ लाखजति) भन्दा बढी हो।
पेनले केप भर्डका भोजीन्याले जसरी खेलको मैदानमा गरेको प्रदर्शनबाट ख्याति कमाएका होइनन्।
मिडिया र खेलको सम्बन्धमा अनुसन्धान गरेका बस्टन कलेजका प्राध्यापक माइक सेराजियोका अनुसार यस खालको प्रवृत्ति खेलकुद जगत्मा अझ मौलाउँदै छ।
"विगत पाँचदेखि १० वर्षमा त्यस्ता स्टार खेलाडीहरू उदाएका छन् जसको सबै ख्याति सामाजिक सञ्जालमा आधारित छ," उनले भने। "उनीहरूको ख्याति खेल्ने क्षमतासँग मेल खाँदैन।"
सेराजियोका अनुसार राष्ट्रिय टोलीमा पुग्ने प्रत्येक खेलाडी प्रतिभाशाली हुन्छन्। तर विगतमा टेलिभिजनमा प्रसारण हुने वा खाद्यपदार्थको खोल छापिने विज्ञापनमा देखिनका लागि खेलाडीहरू निकै उत्कृष्ट हुनुपर्थ्यो।
"पहिलेजस्तो अहिले मूलधारको सञ्चारमाध्यम चाहिँदैन अनि खेलाडीहरूले यो कुरा बुझेका छन्," उनले भने। "खेलाडीहरूले सामाजिक सञ्जाललाई प्रयोग गर्दै फलोअरको सङ्ख्या बढाउने, ब्र्यान्ड सम्झौता गर्ने, पैसा कमाउने र आफ्नो लोकप्रियता उपयोग गर्ने गरेका छन्।"
विश्वकप सकिएपछि प्रसिद्धि के होला
सेराजियो खेलकुद मन पराउने मानिसहरूको रुचि अहिले 'भाइरल क्लिप'तिर मोडिन थालेको ठान्छन्।
"सम्पूर्ण खेलको प्रदर्शनभन्दा एउटा स्मरणीय क्षण महत्त्वपूर्ण बनिदिन्छ, त्यो राम्ररी देखिन्छ र सामाजिक सञ्जालमा भाइरल भएर प्रतिध्वनित हुन्छ, सेराजियोले भने।
"भाइरल क्षण अझ बढी प्रभावशाली हुन्छ। खेलभन्दा अझ महत्त्वपूर्ण बनिदिन्छ।"
विश्वकपमा सहभागी भएपछि लाखौँ नयाँ फ्यान कमाएको कुनै खेलाडीले के त्यो लोकप्रियतालाई मैदानबाहिर आफ्नो 'करिअर' निर्माण गर्ने आधार बनाउन सक्छ?
"ध्यान तान्ने एउटा सानो अवधि हुन्छ," सेराजियोले भने। "केप भर्डका गोलरक्षकलाई धेरैले चिन्दैनथे... विश्वकप सकिएपछि फेरि उनलाई सबै जनाले चिन्छन् जस्तो मलाई लाग्दैन।"
"मेस्सी, रोनाल्डो, नेमार, म्बाप्पेले अवकाशपछि पनि सम्झौताहरू गर्न सक्छन्," सेराजियोले भने। उनी अकस्मात् प्रख्यात बन्न पुगेका खेलाडीहरूले आफ्नो करिअरपछि त्यस्तो ख्यातिलाई उपयोग गर्न सकेको उदाहरण निकै कम भएको औँल्याउँछन्।
सामाजिक सञ्जालका दर्शकहरूलाई सफलतापूर्वक उपयोग गर्ने एउटा उदाहरण अमेरिकाकी रग्बी खेलाडी इलोना माहेर हुन्। उनको लोकप्रियता सन् २०२४ मा आयोजित प्यारिस ओलम्पिक्सका क्रममा बढेको थियो। माहेरको आफ्नै पड्कास्ट छ, उनी बिभिन्न ब्र्यान्डकी 'एम्बेसडर' बनेकी छन् अनि उनले 'स्पोर्ट्स इल्यूस्ट्रेटेड'का लागि मोडेलिङ पनि गरेकी छन्। उनी टेलिभिजन कार्यक्रम 'ड्यान्सिङ विथ द स्टार्स'मा सहभागी भएर उपविजेता पनि बनिन्। उनले २०२५ को 'ईएसपीवाई अवार्ड्स'मा उत्कृष्ट नयाँ खेलाडीको पुरस्कार पनि हात पारिन्।
डफीका अनुसार नयाँ सामाजिक सञ्जालबाट बनेका स्टारहरूका लागि दीर्घकालीन करिअरका लागि अवसरहरू छन् तर कति आम्दानी हुन सक्छ भनेर ठ्याक्कै हिसाब गर्न कठिन छ।
डफीका अनुसार सामाजिक सञ्जालमा प्रायोजित सामग्रीहरूको दर टेलिभिजनजस्ता परम्परागत सञ्चारमाध्यममा प्रसारण हुने विज्ञापनको दरजस्तो निश्चित हुँदैन। "उचित आय कस्तो हुन्छ भनेर निर्धारण गर्नका लागि पर्याप्त मापदण्ड छैन।"
"यी व्यक्तिहरूको करिअर अहिलेसम्म फुटबलसँग जोडिएको छ। त्यसैले डिजिटल मिडिया अर्थतन्त्रको जटिल र अस्पष्ट संरचनामा उनीहरू कसरी अघि बढ्छन् भन्ने कुरा चासोको विषय हो।"
विश्वकपका भाइरल स्टारहरूको 'सांस्कृतिक मूल्य' अहिले उच्चबिन्दुमा छ। प्रतियोगिता सकिएपछि उनीहरूले नयाँ फ्यानहरूसँग कति राम्ररी अन्तरक्रिया गरिरहन सक्छन् भन्ने कुराले उनीहरूको भविष्य निर्धारण हुन सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।