माछा मारेर फर्किँदा डुङ्गाबाट खसेपछि 'समुद्रमा २६ घण्टा पौडिएँ'

३५ वर्षका शिवमुरुगन तिरुनेल्भेली
तस्बिरको क्याप्शन, ३५ वर्षका शिवमुरुगन तिरुनेल्भेली साथीभाइसँग मिलेर माछा मार्न समुद्रमा गएका थिए
    • Author, सिराज
    • Role, बीबीसी तमिल
  • Published
  • पढ्ने समय: ५ मिनेट

मिति: सेप्टेम्बर २०-२१, २०२५ ( शनिवार-आइतवार)। समय - मध्यरातपछि १:१५ बजे।

शिवमुरुगन दक्षिण सागरमा कन्याकुमारीबाट झन्डै २९ किलोमिटर टाढा शक्तिशाली छालहरूमा पौडिँदै थिए। समुद्रमा माछा मारेर फर्कँदै गर्दा उनी डुङ्गाबाट खसे अनि घण्टौँ समुद्रमा बस्न बाध्य भए।

"मेरा आँखाअगाडि झन्डै एक नटिकल माइल (१.८ किमि) पर केही डुङ्गाहरूले मलाई खोजिरहेका थिए। समुद्रको पानी मेरो घाँटीमा पस्यो अनि मैले बेस्सरी चिच्याउन पनि सकिनँ। औँसीको रातमा उनीहरूले मेरो टाउको पानी बाहिर तैरिरहेको देख्न सकेनन्। केही घण्टापछि ती डुङ्गा फर्किएर किनारतिर गए। म त्यहीँ तैरिरहेँ," शिवमुरुगनले बीबीसी तमिललाई बताए।

पैँतीस वर्षीय शिवमुरुगन तिरुनेल्भेली जिल्लाको कुदान्कुलमनजिकै रहेको तटीय गाउँ चेट्टिकुलमका बासिन्दा हुन्।

जुलाई २० का दिन मोटरजडित एउटा डुङ्गा चढेर उनी आफ्ना साथीभाइहरूसँग समुद्रमा माछा मार्न गएका थिए। उनलाई २६ घण्टापछि उद्धार गरियो।

"शिवमुरुगन हराएको खबर आएपछि र उनलाई उद्धार गर्ने प्रयास विफल भएपछि सबैले उनी जीवित फेला पर्लान् भन्ने ठानेका थिएनन्। तपाईँ दक्षिण सागरमा हराएपछि जिउँदै फिर्ता आउनु भनेको दुर्लभ हो," कन्याकुमारीका एक मछुवा तथा लेखक पउलीनले भने।

के भएको थियो

समुद्रमा माछा मार्ने डुङ्गा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल फोटो

घटना हुनुभन्दा साताअघिदेखि मात्र शिवमुरुगनले माछा मार्न थालेका थिए।

"सामान्यतया हामी चेट्टिकुलमबाट राति २ बजे निस्कन्थ्यौँ अनि चिनामुत्तमबाट बिहान ४ः३० बजे निस्कन्थ्यौँ। शनिवार (सेप्टेम्बर २०)मा पनि हामीले त्यसै गर्‍यौँ। जाल फ्याक्यौँ, माछा मार्‍यौँ अनि साँझ ६ बजेतिर फर्कन थाल्यौँ।"

"साँझ ८ बजेतिर म पिसाब फेर्न डुङ्गाको छेउमा गएँ। हामी कन्याकुमारीबाट करिब १५ नटिकल माइल टाढा थियौँ। अचानक ठूलो छाल आयो। डुङ्गा हल्लियो अनि म असन्तुलित भएर खसेँ। खसेपछि म पौडी खेल्न थालेँ अनि पानीमाथि आएर चिच्याएँ। तर डुङ्गाको इन्जिनको आवाजका कारण कसैले मेरो गुहार सुनेनन्," शिवमुरुगनले भने।

"म १०-१५ मिनेटमा पनि नफर्किएपछि मेरो भाइले बाहिर आएर मलाई खोजेछ। म खसेको आभास भएपछि उनीहरूले सबैतिर सम्पर्क गरे अनि जीपीएस उपकरणको सहयोगमा खसेको ठाउँतिर डुङ्गालाई फर्काए। तर त्यतिन्जेल छालले मलाई एक नटिकल माइल परतिर हुत्त्याइसकेको थियो।"

"त्यत्रो ठूलो सागरमा अनि औँसीको रातमा तिनले मेरो टाउको देखेनन् र म चिच्याएको पनि सुनेनन्। डीजल सकिन लागेकाले उनीहरू फर्किए। मैले डुङ्गाको प्रकाशतर्फ फर्किएर चिच्याएँ अनि हात हल्लाइरहेँ, उनीहरू नफर्कुन्जेलसम्म।"

समुद्रमा हात हल्लाएर उद्धारको याचना गरिरहेको जस्तो देखिने एक साङ्केतिक तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, साङ्केतिक तस्बिर

मुखमा समुद्रको पानी पसेका कारण आफ्नो घाँटी ख्याप्प भएको अनि अनुहारमा निरन्तर छालले प्रहार भएकाले छालामा घाउ भएको अनि आँखामा नुनिलो पानी पसेर अप्ठेरो भएको उनले बताए।

"त्यो रात जब म समुद्रको बीचमा कुनै प्रकाश नभएका ठाउँमा तैरिरहेको थिएँ, मेरो मनमा कसै गरेर तटमा जानुपर्ने र यदि मेरो जीवन सकिएमा मेरो परिवारलाई के होला भन्ने कुरा खेलिरह्यो। मैले टीशर्ट फुकालेर फ्याँके ताकि त्यो तैरिएको कसैले देखोस्। त्यसपछि मलाई जीउभरि केहीले टोकेको जस्तो अनुभव भयो," उनले भने।

"जेलिफिशजस्तै कीराहरू रहेछन्। मैले कसैले ती कीरा छालामा टाँसिन्छन् र त्यत्तिकै छाडे तिनले त्यहाँ प्वाल बनाउँछन् भनेको कुरा सम्झेँ। एक-एक गरेर मैले तिनलाई टिप्दै फ्याँलेँ। एकातिर तैरिरहनुपर्ने अनि अर्कोतिर हातखुट्टा चलाइरहनुपर्ने हुँदा म थाकेँ। कुनै बेला म पानी पिउन पुग्थेँ अनि फेरि पौडँदै माथि आउँथेँ। बिहान घाम उदाएको देखेपछि मलाई अब पौडिएरै किनारसम्म पुग्न सक्ने भन्ने आँट आयो।"

दक्षिण सागर किन छ खतरनाक

कन्याकुमारीको तटपारिको दृश्य

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दक्षिण सागर कम गहिरो भए पनि त्यहाँ शक्तिशाली हावा चल्छ र अवस्था खतरनाक हुन्छ

तर उनी जतातिर पौडिन खोजे पनि छालले उनलाई विपरीत दिशामा हुत्याउँथ्यो। समाउने ठाउँ केही नभएका कारण उनलाई छालले यताउता लगिरह्यो। उनले पौडिन छाडे।

"मेरा खुट्टा चिसोले कठ्याङ्ग्रिए। सूर्यास्तसँगै फेरि अँध्यारो हुन थालेपछी मेरो शारीरिक र मानसिक बल हरायो। मानिसहरूले किन दक्षिण सागरमा हराएका व्यक्तिहरू फर्कँदैन भन्थे भन्ने कुरा बल्ल मैले बुझेँ। मनमा 'आत्महत्या'को विचार आयो। त्यतिखेर मेरो परिवारमा चाहिँ म मरिसकेको ठानेर रुवाबासी भइरहेको रहेछ," उनले भने।

"म डुब्न खोज्थेँ तर सास रोक्न सक्दिनथेँ र माथि आइरहन्थेँ। मैले धेरै समुद्रको पानी पिएँ। अब चाहिँ डुब्छु जस्तो लाग्न थालेपछि मैले पर उज्ज्यालो देखेँ," शिवमुरुगनले भने।

कन्याकुमारीका मछुवा तथा लेखक पउलीनका अनुसार शिवमुरुगन बाँच्नु एउटा चमत्कार नै थियो। यो क्षेत्रमा उनको ५० वर्षको अनुभव छ। उनी दक्षिण सागर अन्य समुद्री क्षेत्रभन्दा खतरनाक हुन्छ भन्ठान्छन्।

"तमिलनाडुको तटमा दक्षिण सागर रामनाथपुरमको सेथुकराईबाट कुमारीकराईसम्म फैलिएको छ। तुलनात्मक रूपमा यो कम गहिरो छ तर यहाँ शक्तिशाली हावा चल्छ। छालको उचाइ निकै हुन्छ। यस्तो समुद्रमा खसेको मानिस २४ घण्टाभन्दा धेरै बाँच्न कठिन हुन्छ। किनभने समुद्रको चिसोले शरीर कठ्याङ्ग्रिन्छ अनि तैरिन सकिँदैन र डुबिन्छ। शरीर थाक्छ र समुद्रको नुनिलो पानी खान थालिन्छ जसले झन् निर्जलीकरण गराउँछ।"

किनारा फेला पर्न कठिन हुन्छ। "तैरिरहेको कुनै काठको मुढा भेटियो भने त्यसकै सहाराले लामो समय तैरिन सकिन्छ। तर हातखुट्टा चलाएर २४ घण्टाभन्दा धेरै तैरिन कठिन हुन्छ। कुनै बिन्दुमा पुगेर शरीर शिथिल हुन्छ र डुब्छ," उनले भने।

समुद्रमा खस्दा के हुन्छ

दक्षिण सागरमा डुङ्गाहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, शिवमुरुगनका अनुसार उनको परिवारले उनलाई अब फेरि समुद्रमा नजान भनेको छ

समुद्रको पानीमा धेरै नुन हुन्छ। त्यस्तो पानी मानिसले पिउँदा शरीरका कोषले पानी र नुन सोस्छन्। मानिसको मिर्गौलाले नुनिलो पानीभन्दा कम्ती नुन भएको पिसाब उत्पादन गर्न सक्छ। त्यसैले समुद्री पानी पिउँदा शरीरमा भित्रने अतिरिक्त नुन फ्याँक्न तपाईँले पिएको भन्दा धेरै मात्रामा पिसाब फेर्नुपर्छ। त्यसैले शरीरमा निर्जलीकरण भएर ज्यान जान्छ। त्यस कारण समुद्री पानी कहिले पनि पिउन हुँदैन।

त्यस्तै १५ डिग्री सेल्सिअसभन्दा कम तापक्रमको चिसो पानीमा खस्दा शरीरलाई 'झट्का' लाग्छ।श्वासप्रश्वासमा तथा शरीर चलाउने कार्य अनियन्त्रित हुन्छ। मुटुको धड्कन तथा रक्तचाप छिटो बढेर हृदयाघात हुन सक्छ।

"जुनसुकै पानीमा खसे पनि महत्त्वपूर्ण कुरा के हो भने विचलित नभईकन विस्तारै श्वासप्रश्वास गरिरहनुपर्छ। हातखुट्टा तन्काएर शरीरलाई स्थिर पार्नुपर्छ। सम्पूर्ण शरीर नतैरिए पनि टाउकोलाई पानीमाथि पछाडि पारेर मुखले माथितिर हेर्नुपर्छ," ब्रिटेनको रोयल न्याश्नल लाइफबोट इन्स्टिट्यूट (आरएनएलआई) ले सुझाव दिएको छ।

छोरा शिवरदेशलाई बोकिरहेका शिवमुरुगन
तस्बिरको क्याप्शन, छोरा शिवरदेशसँग शिवमुरुगन

शिवमुरुगनले पर देखिएको प्रकाश कुनै डुङ्गाको हेडलाइट भएको ठम्याए। अनि त्यसपछिको घटना उनले सम्झिए।

"मैले साहस बटुलेर हात हल्लाएँ। कसैगरी तिनले मलाई देखे अनि म भएतिर डुङ्ग ल्याए। म पनि उनीहरूतर्फ पौडिँदै गएँ। आधा घण्टाको त्यो अवधिमा मलाई कसले समुद्रबाट उचाल्यो र तिनले के भने भन्ने मलाई थाहा छैन। चिया र बिस्कुट मुखमा हालेपछि बल्ल मेरो आँखा खुल्यो। त्यो डुङ्गा कुथान्कुजी गाउँका अरुलप्पनको रहेछ। उनी र अन्य मछुवाको समूह समुद्रमा बिच्छ्याएको जाली झिक्न त्यहाँ आएका रहेछन्।"

किनारामा पुगेपछि शिवमुरुगनको औषधोपचार भयो।

शिवमुरुगन विवाहित हुन् र उनको पाँच वर्षको शिवरदेश नामक छोरा छ।

"पछिल्लो एक महिनामा म एक पल्ट पनि समुद्रतिर गएको छैन। मेरो परिवारका सबै जना र मेरो छोराले समुद्रमा नजाऊ भनेका छन्। म शान्तिपूर्वक सुत्न सकेको छैन। यो घटनापछि मेरो भाइ कामका निम्ति विदेश गयो।"

"बेलाबेला म किनारमा गएर समुद्रतिर हेरिरहन्छु। त्यो रात म तैरिरहेको अनि मेरा जीउमा ती कीरा आएको सम्झिरहन्छु। ती सम्झना नहटेसम्म म पानीमा खुट्टा हाल्न सक्दिनँ," शिवमुरुगनले भने।

- बीबीसीका निम्ति कलेक्टिभ न्यूजरुमको प्रकाशन

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।