लामो कटुतापछि इरानी राष्ट्रपतिलाई साउदी अरबमा निमन्त्रणा

तस्बिर स्रोत, Getty Images
- Author, क्याथरीन आर्मस्ट्रङ
- Role, बीबीसी न्यूज
- Published
साउदी अरबले इरानका राष्ट्रपति इब्राहिम रइसीलाई औपचारिक भ्रमणको निमन्त्रणा दिएको छ।
यी दुई प्रतिद्वन्द्वी देशले आफ्ना कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न सहमति जनाएको करिब एक सातापछि भ्रमणको निम्तो दिइएको इरानले जनाएको छ।
भ्रमणका लागि राजा सलमानले पत्रमार्फत आह्वान गरेको भनिएको छ। यद्यपि, साउदी अरबले यसबारे अझै पुष्टि गरेको छैन।
मध्यपूर्वको पछिल्लो इतिहासमा यी दुई राष्ट्रहरू बीचको तिक्ततापूर्ण सम्बन्ध हाबी भएको छ।
चीनले यस क्षेत्रको भूराजनीतिलाई नयाँ आकार दिन आवश्यक मध्यस्थता गरेको थियो।
एक वरिष्ठ इरानी अधिकारी मोहम्मद जमशिदीले साउदी अरबको राजधानी रियाद भ्रमणको निमन्त्रणाबारे ट्विटमार्फत रइसीले निमन्त्रणा स्वीकार गरेको र "सहकार्य विस्तार गर्न इरान तत्पर रहेको कुरामा जोड दिएको” बताएका छन्।
फरक प्रसङ्गमा इरानका विदेश मन्त्री हुसेन अमिर-अब्दुल्लाहियानले पत्रकारहरूसँग दुई देशहरू विदेश मन्त्री स्तरको बैठकका लागि तयार भएको र बैठकका लागि तीन सम्भावित स्थानहरू प्रस्ताव गरिएको बताएका थिए।
उनले बैठक मिति र प्रस्तावित स्थानहरूबारे भने कुनै जानकारी दिएनन्।
बीबीसीका मध्यपूर्वस्थित सम्पादक सेबास्टियन अशरका अनुसार चीनको मध्यस्थतामा केही दिनको वार्तापछि द्विपक्षीय सम्बन्धमा अप्रत्याशित रूपमा देखिएको सुधारले महत्त्वपूर्ण गति लिएको देखिन्छ।
दुवै देशले दुई महिनाभित्र दूतावास फेरि खोल्ने र व्यापार तथा सुरक्षा सम्बन्धलाई पुनः स्थापना गर्ने घोषणा गरेका छन्।


यी देशहरूको सम्बन्ध सुधारका अघिल्ला प्रयासहरू असफल भएका थिए। त्यसैले अहिलेको विकास क्रमलाई अमेरिका र संयुक्त राष्ट्र सङ्घलगायत धेरैले सावधानीपूर्वक स्वागत गरेका छन्।
सन् २०१६ को ज्यानुअरीमा साउदी अरबमा आतङ्कवाद सम्बन्धी अपराधमा दोषी ठहर एक शिया धर्मगुरुलाई फाँसी दिइएपछि इरानी प्रदर्शनकारीहरूले त्यहाँको दूतावासमा घुसपैठ गरेका थिए।
लगत्तै साउदी अरबले इरानसँगको सम्बन्ध अन्त्य गरेको थियो।
त्यस बेलादेखि सुन्नी र शिया नेतृत्वको छिमेकी राष्ट्रहरू बीच तनाव उत्कर्षमा पुग्यो र एकले अर्कोलाई त्यस क्षेत्रमा प्रभुत्व जमाउन खोज्ने खतरनाक शक्तिको रूपमा हेरे।
सिरिया र यमनका गृहयुद्धसहित थुप्रै क्षेत्रीय द्वन्द्वहरूमा उनीहरू एक अर्काको विपक्षमा छन्।
अमिर-अब्दुल्लाहियानले इरानले सन् २०१६ मा तेहरानसँग कूटनीतिक सम्बन्ध तोडेर रियादलाई पछ्याउने साउदी अरब निकट सहयोगी राष्ट्र बहराइनसँग पनि सम्बन्ध सुधारका लागि आवश्यक कदम चालिने आशा व्यक्त गरेका छन्।
"इरान र बहराइनबीचका केही अवरोधहरू हट्ने हाम्रो आशा छ र हामी दूतावासहरू खोल्न आधारभूत कदम चाल्नेछौँ," उनले भने।
बहराइनले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। तर यसअघि कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने इरान-साउदी सम्झौताको स्वागत गरेको थियो।
इरानले जोर्डन र संयुक्त अरब इमिरेट्सलगायत अन्य क्षेत्रीय अरब प्रतिद्वन्द्वीहरूसँग पनि सम्बन्ध पुनः सुरु गर्न वा सुधार गर्न इच्छा व्यक्त गरेको छ।























