चीन भूकम्प: मृतकको सङ्ख्या बढ्यो, जीवित व्यक्तिको खोजी र उद्धार टुङ्गिने क्रममा

तस्बिर स्रोत, GETTY IMAGES
- Author, फ्रान्सिस माओ
- Role, बीबीसी न्यूज
- Published
पश्चिमोत्तर चीनमा विनाशकारी भूकम्पपछि जीवित मानिसको उद्धार गर्ने काम सकिन लागेको अधिकारीहरूले बताएका छन्। सोमवार मध्यराति आएको भूकम्पमा कम्तीमा १३१ जनाको ज्यान गएको छ।
बुधवार अधिकारीहरूले खोजी तथा उद्धारकार्य बन्द गर्न लागिएको र अब आफ्नो ध्यान घाइतेको उपचार र घर गुमाएका मानिसलाई सहयोग गर्न केन्द्रित हुने जनाएका छन्।
गान्सु प्रान्तको एउटा ग्रामीण भेगनजिकै केन्द्रबिन्दु भएर ६.२ म्याग्निट्यूडको भूकम्प जाँदा उक्त पर्वतीय क्षेत्रमा झन्डै १,००० जना घाइते भएका थिए।
मौसमको चुनौती
चिनियाँ सञ्चारमाध्यमले मङ्गलवार प्रभावित स्थानमा तापक्रम झरेर माइनस १३ डिग्री सेल्सिअस पुगेको जनाएका छन्।
अहिले उत्तरी चीनको ठूलो भागमा शीतलहर चलेको छ। कैयौँ सहरमा अहिलेसम्मकै कम तापक्रम मापन भएको छ।
गान्सु प्रान्तमा हजारौँ सहायताकर्मीहरू शून्यभन्दा कम तापक्रम पुगेको स्थानमा कठ्याङ्ग्रिँदो जाडोमा खोज तथा उद्धारमा खटिएका थिए।

क्षति
गान्सुमा भूकम्पपछि गएको पहिरोले भवन तथा सडकमा क्षति पुगेको छ। उक्त प्रान्तमा सर्वाधिक क्षति बेहोरेको जिशिशान काउन्टीका स्थानीय अधिकारीहरूले त्यहाँ ५,००० वटाभन्दा बढी घरमा क्षति पुगेको जनाएका छन्।
गान्सुको दक्षिणपट्टि रहेको चिन्खाई प्रान्तमा १६ जना अझै सम्पर्कविहीन छन्।
अन्य प्रान्तहरूमा पनि भूकम्पले सुक्खा पहिरो निम्तिएपछि सडकहरूमा क्षति पुगेको छ।
उक्त क्षेत्रका तस्बिरहरूमा पूरा गाउँ नै भूकम्पले विभाजित भएको र घर तथा भवनहरू भत्किएको देख्न सकिन्छ।
घर छोड्न बाध्य भएकाहरूलाई आश्रय दिन हतारहतार बनाइएका शिविरमा मानिसहरू आगो तापेर बसिरहेको तस्बिर पनि देखिन्छ।
जीवित रहेका व्यक्तिहरूले कम्पनको समयमा "छालले उफारे जस्तो" अनुभव गरेको उल्लेख गर्दै अपार्टमेन्टबाट भागेको अनुभव सुनाएका छन्।
"म सोह्रौँ तलामा बस्छु, त्यहाँ भुइँचालोले निकै हल्लायो। मैले परिवारका अरू सबैलाई उठाएँ र हामी एकै सासमा १६ तला ओर्लियौँ," चिन थरका एक व्यक्तिले सरकारी सञ्चारमाध्यमलाई बताए।
उक्त भूकम्पलाई सन् २०१४ यता चीनमा गएको सबैभन्दा विनाशकारी भूकम्प मानिएको छ। त्यस बेला दक्षिणपश्चिम युनान प्रान्तमा गएको भूकम्पमा ६०० जनाभन्दा बढीले ज्यान गुमाएका थिए।
चिनियाँ राष्ट्रपति सी जिन्पिङले हजारौँ अग्निनियन्त्रक, सैनिक तथा प्रहरी र स्वास्थ्य कर्मचारीहरूलाई उक्त क्षेत्रमा खटाएका थिए।
चीनमा भूकम्पको जोखिम कति छ
गान्सु तिब्बत र लोएस पठारको बीचमा अवस्थित छ र त्यो मङ्गोलियासँगको सीमामा पर्छ। उक्त दुर्गम क्षेत्र चीनको सबैभन्दा गरिब र जातीय रूपमा विविधतायुक्त क्षेत्र हो।
उक्त भूकम्पको केन्द्रबिन्दु भएको स्थान लिन्सिया हुई स्वायत्त क्षेत्रमा पर्छ।
त्यो ठाउँमा चिनियाँ मुसलमान, हुई, बोनान, डोङ्सियाङ र सालार समुदायका मानिसको बसोबास छ।

तस्बिर स्रोत, GETTY IMAGES
चीन कैयौँ टेक्टोनिक प्लेटहरू रहेको क्षेत्रमा अवस्थित छ। यूरेशिअन, इन्डिअन र प्यासिफिक प्लेटहरूको संगमस्थलमा चीन रहेकाले त्यहाँ भूकम्पको जोखिम रहने गर्छ।
सन् २०१० मा गान्सुनजिकैको चिन्खाई प्रान्तको युसुमा गएको भूकम्पमा २,७०० जनाको निधन भएको थियो।
चीनमा हालैको दशकको सर्वाधिक घातक भूकम्प सन् २००८ मा दक्षिणपश्चिम प्रान्त सिचुआनमा गएको थियो। त्यतिबेला ८७,००० ले ज्यान गुमाएका थिए।

तस्बिर स्रोत, GETTY IMAGES
उद्धारका चुनौती
चिनियाँ अधिकारीहरूले उक्त भूकम्प ६.२ रिक्टर स्केल मापन गरिएको बताएका थिए। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले चाहिँ उक्त भूकम्प रिक्टर स्केलमा ५.९ भएको र त्यो जमिनको सतहभन्दा १० किलोमिटरमुनि उत्पन्न भएको जनाएको थियो।
गान्सु भूकम्पपछि दर्जनौँ परकम्प मापन गरिएको छ। अधिकारीहरूले त्यहाँ ५.० म्याग्निट्यूडभन्दा शक्तिशाली अरू भुइँचालो आउन सक्ने चेतावनी दिएका थिए।

तस्बिर स्रोत, GETTY IMAGES
अधिकारीहरूले सोमवार बीबीसीसँग कुरा गर्दै शून्य भन्दा कम तापक्रममा मानिसहरू उद्धार गर्न आफूहरूसँग सीमित समय रहेको जनाएका थिए।
“यो सहनै नसकिने चिसो हो। यहाँको तापक्रम माइनस १५ डिग्री सेल्सिअस छ,” ब्लू स्काई रेस्क्यू टीमका कमान्डर वाङ यीले भने। ब्लू स्काई चीनको सबैभन्दा ठूलो गैरसरकारी मानवीय संस्था हो र देशभरि त्यसका ३०,००० भन्दा बढी स्वयंसेवक छन्।
वाङले आफूले हताहत हुने व्यक्तिहरूको सङ्ख्या बढ्न सक्ने ठानेको बताए।
“हामीले (भग्नावशेष) को अझभित्रसम्म खन्नुपर्ने हुन्छ। तर यो क्षेत्रमा धेरै ठूला भवनहरू छैनन्। त्यही भएर सङ्ख्या बढ्ने छ तर त्यो धेरै हुने छैन।”
चिनियाँ राष्ट्रपति सी जिन्पिङले उद्धारका लागि सबै प्रयास गर्न र घाइतेलाई समयमै उपचार गर्न निर्देशन दिएका छन्।
लाउरा विकरको थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















