चट्याङ र हावाहुरीसहित अझै केही दिन पानी पर्ने, सतर्कता अपनाउन आग्रह

म्याग्दीमा असिनापानी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, म्याग्दीमा असिनापानी परेको छ
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय मौसमी प्रणालीको प्रभाव रहेकाले "अझै केही दिन मेघगर्जन र चट्याङसहित विभिन्न भागमा पानी पर्ने" सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

उनीहरूका अनुसार अहिले नेपालमा मनसुनपूर्वको अर्थात् 'प्री-मनसुन' वर्षा भइरहेको हो।

त्यसको प्रभावले देशका उच्च भागहरूमा हिमपातको सम्भावना पनि देखिएको छ।

उनीहरूले प्री-मनसुनका बेलामा हिमपात, चट्याङ र हावाहुरीबाट निम्तिन सक्ने जोखिमबारे सजग रहन सर्वसाधारणलाई आग्रह पनि गरेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालका मध्य तथा पूर्वी भागहरूमा दिनहुँजसो वर्षा भइरहेको छ।

पश्चिमी क्षेत्रहरूमा भने अबका केही दिनमा वर्षाको सम्भावना उच्च देखिएको छ।

विगत २४ घण्टामा सबैभन्दा धेरै पोखरामा २६ मिलिमिटर पानी परेको छ भने ओखलढुङ्गा, ताप्लेजुङ र काठमाण्डू उपत्यकामा पनि अन्यत्रभन्दा बढी पानी परेको छ।

पछिल्लो अवस्था

हिमाली क्षेत्रमा केही दिन हिमपात हुने पू्र्वानुमान गरिएको छ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, हिमाली क्षेत्रमा केही दिन हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन्

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवार पनि देशका विभिन्न भागहरूमा पानी परिरहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा जारी रहेको महाशाखाका मौसमविद् गोविन्द झाले बताए।

उनले भने, "यी क्षेत्रमा अझै एकाध दिन पानी पर्ने देखिन्छ भने बिस्तारै पश्चिमतर्फ पनि पानी पर्ने देखिन्छ।"

"पर्सिदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमतिर पनि वर्षाको सम्भावना बढी देखिएको छ।"

उनका अनुसार बिहीवार पनि नेपालका उच्च हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना देखिएको छ।

अहिले किन पानी परेको हो

नेपाल मौसम

तस्बिर स्रोत, EPA

झाले दिएको जानकारीअनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ।

"पश्चिमी वायुको प्रभावका कारण अहिले अरब सागरबाट जलवाष्पयुक्त बादल नेपालतर्फ आएको छ र त्यो विशेषगरी मध्य तथा पूर्वी भागमा पुगेर पानी परिरहेको छ।"

"त्यसका साथै अहिले नेपालमा स्थानीय वायुको पनि प्रभाव रहेको छ।"

अहिलेको वर्षालाई मनसुनपूर्को अर्थात् प्री-मनसुन वर्षा भन्ने गरिन्छ।

"मार्च, एप्रिल र मे महिनामा हुने वर्षालाई हामी प्री-मनसुनको वर्षा भन्ने गर्छौँ," जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता तथा वरिष्ठ मौसमविद् विभूति पोखरेलले भनिन्, "यस बेला पश्चिमबाट आउने जलवाष्पयुक्त वायुको प्रभावले वर्षा हुने गर्छ। अहिलेको वर्षा पनि त्यो नै हो।"

के हिउँदे वर्षा ढिलो भएको हो

मौसमविद्हरूका अनुसार प्री-मनसुनका बेलामा नेपालमा वर्षभरि हुने कुल वर्षाको १२ प्रतिशतजति पानी पर्ने गर्छ।

यसपालि हिउँदे वर्षा नभएको र सम्भवत: जलवायु परिवर्तनका कारण चैतमा आएर हिउँदे वर्षा भएको हुन सक्ने कतिपयले अनुमान गरिरहेका छन्।

पोखरेल भन्छिन्, "त्यसबारे अनुसन्धान पनि भएको छैन र हिउँदमा पानी कम परेर अहिले परेको भनेर भन्न पनि सकिँदैन। त्यो त अनुसन्धानकै विषय हो।"

चट्याङ र हावाहुरीको सम्भावना

चट्याङ

तस्बिर स्रोत, Shriram Sharma

तस्बिरको क्याप्शन, फाइल तस्बिर

नेपालमा प्री-मनसुनका बेलामा मेघगर्जन र चट्याङसहित वर्षा हुने गरेको छ।

"चट्याङ पर्ने कारण भनेको स्थानीय वायुको प्रभाव हो," मौसमविद् झाले भने।

"यो बेला स्थानीय वायु पनि सक्रिय भएकाले चट्याङ पर्न सक्छ। त्यसैले हामी चट्याङ पनि बच्न आग्रह गर्छौँ।"

केही वर्षअघि गरिएको एउटा अध्ययनले चट्याङका दृष्टिकोणबाट नेपाल संसारको चौथो उच्च जोखिमयुक्त मुलुक भएको देखाएको थियो।

नेपालमा प्रति १० लाख मानिसमध्ये चार जनाको चट्याङका कारण मृत्यु हुने गरेको तथ्याङ्क पाइन्छ।

त्यसै गरी चट्याङका कारणले विद्युतीय सामग्रीको अतिरिक्त घरमा आगलागी भई हुने भौतिक क्षतिले ठूलो धनराशि नोक्सान हुन्छ।

चट्याङका कारण नेपालमा प्रत्येक वर्ष सरदर १०० जनाभन्दा बढीको मृत्यु हुने गरेको सरकारी विवरण रहेको छ।

त्यस्तै सयौँ घाइते हुने र चट्याङ लागेर ठूलो मात्रामा बस्तुभाउको पनि ज्यान जान्छ।

फाइल तस्बिर

तस्बिर स्रोत, EPA

राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विगत दुई सातामा १० ठाउँमा चट्याङ पर्दा दुई जना व्यक्तिको ज्यान गएको छ भने केही बस्तुभाउ पनि मारिएका छन्।

उक्त केन्द्रका अनुसार गत वैशाखदेखि हालसम्ममा नेपालमा ५२० वटा चट्याङका घटनामा परेर १२६ जनाको मृत्यु भएको छ भने ४५१ जना घाइते भएका छन्।

त्यस अवधिमा १,००० भन्दा बढी बस्तुभाउ मारिएका छन् र ८०८ परिवार प्रभावित भएका छन्।

त्यसैगरी यो मौसममा तराईमा हावाहुरी बढी चल्ने भएकाले त्यसबाट पनि बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरे।

मौसम पूर्वानुमान महाशाखाले बिहीवार जारी गरेको विज्ञप्तिमा पनि "कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन" आग्रह गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।