भारतमा विकसित मौसम प्रणाली उत्तरतिर सर्दै, पश्चिम नेपालमा 'ठूलो वर्षा हुन सक्ने'

जल तथा मौसम विज्ञान विभाग
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले भारतको मध्य प्रदेशनजिकै एउटा न्यूनचापीय प्रणाली बनेको र त्यसका कारण पश्चिम नेपालका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको बताएका छन्।

विभागले सार्वजनिक गरेको बुलेटिनअनुसार भारतमा विकसित उक्त प्रणाली नेपालतिर सर्ने सम्भावना देखिएसँगै बिहीवारसाँझदेखि शनिवारसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षा हुन सक्छ।

अधिकारीहरूले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा "भारी वर्षा"को सम्भावना रहेको भन्दै आवश्यक सतर्कता र सावधानी अपनाउन सुझाव दिएका छन्।

नेपालमा यो वर्ष अहिलेसम्म १,४१२ मिलिमिटरभन्दा बढी वर्षा भइसकेको छ।

मनसुन याम सकिन अझै केही साता लाग्ने भए पनि उक्त परिमाण वार्षिक औसतको सेरोफेरोमा पुगिसकेको एक मौसमविद्ले बताएका छन्।

भारतको मध्य प्रदेशमा अवस्थित न्यून चापीय प्रणालीको असर

तस्बिर स्रोत, India Meteorological Department

तस्बिरको क्याप्शन, भारतको मध्य प्रदेशमा न्यून चापीय प्रणाली विकसित भएको छ

मौसमसम्बन्धी विशेष सूचनामा के छ

अपराह्ण जल तथा मौसम विज्ञान विभागले बुधवार निकालेको विशेष सूचनामा भारतको मध्य प्रदेशमा अवस्थित न्यूनचापीय प्रणाली अझ बलियो बन्दै पश्चिमोत्तर दिशा अर्थात् नेपालतर्फ सर्ने सम्भावना रहेकाले नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय रहने उल्लेख गरिएको छ।

विभागले बिहीबार साँझबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा "भारीदेखि धेरै भारी" तथा बाँकी प्रदेशका एक‍-दुई स्थानमा "भारी वर्षा"को सम्भावना रहेको जनाएको छ। साथै सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अतिभारी वर्षा हुन सक्ने औँल्याइएको छ।

सामान्यतया नेपालमा मनसुनको याम जुन महिनाको १३ देखि अक्टोबर २ तारिखसम्म रहने गर्छ

तस्बिर स्रोत, EPA/Narendra Shrestha

तस्बिरको क्याप्शन, सामान्यतया नेपालमा मनसुनको याम जुन महिनाको १३ देखि अक्टोबर २ तारिखसम्म रहने गर्छ

विभागका मौसमविद् गोविन्द झाका अनुसार भारतीय न्यूनचापीय प्रणालीको परिणामस्वरूप बुधवार रातिदेखि नै पानी पर्न सुरु भइसकेको छ।

उनले भने, “मध्य प्रदेशआसपास विकास भएको न्यूनचापीय प्रणालीलाई हामी ‘डिप्रेशन’ भन्छौँ। त्यो सरेर नेपालनजिक आउँदै छ। त्यहीअनुसार हिजो रातिदेखि नै पानी पर्न थालिसक्यो। मनसुनी वायुको पनि प्रभाव यसमा छ।”

उनका अनुसार अहिले पनि पश्चिम नेपालका विभिन्न ठाउँहरूमा पानी परिरहेको छ।

“अहिले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। तत्काल भारी वर्षा भएको छैन तर अब साँझको, रातिको र भोलि बिहानको समयमा धेरै भारी वर्षा हुन सक्ने सम्भावना चाहिँ छ।”

नेपालमा वर्षायाममा औसतमा कति पानी पर्छ?
तस्बिरको क्याप्शन, यो वर्ष औसतभन्दा बढी वर्षा भएको अधिकारीहरू बताउँछन्

जोखिम कहाँ छ?

विभागले पश्चिमका आठ जिल्लामा उच्च जोखिम रहेको जनाएको छ।

वर्षाको कारण भूक्षय, बाढी पहिरो तथा गेग्रान बहाव अनि डुबानजस्ता समस्या देखा पर्न सक्ने भन्दै विभागले सावधानी अपनाउन पनि अनुरोध गरेको छ।

  • लुम्बिनी प्रदेश : बर्दिया
  • कर्णाली प्रदेश : सुर्खेत
  • सुदूरपश्चिम प्रदेश : कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी र अछाम

भारतमा पनि चेतावनी

न्यूनचापीय प्रणाली  उत्तर प्रदेशबाट अझ उत्तर नेपालतिर सर्दै गरेको देखिने नक्सा

तस्बिर स्रोत, India Meteorological Department

तस्बिरको क्याप्शन, भारतको मौसम विभागले दिल्ली र लखनऊबाट न्यूनचापीय प्रणालीको निरन्तर अनुगमन भइरहेको जनाएको छ

भारतको मौसम विभागले उत्तर प्रदेशक दक्षिणपश्चिमी भेग र आसपासका क्षेत्रमा रहेको ‘डिप्रेशन’ १३ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर र पूर्वोत्तर दिशातर्फ बढेको उल्लेख गरेको छ।

उक्त न्यूनचापीय प्रणाली अझै त्यही दिशामा अघि बढ्ने सम्भावना उक्त निकायले औँल्याएको छ। उसका अनुसार शुक्रवारदेखि क्रमशः क्षीण हुन थाल्ने भए पनि उक्त प्रणाली त्यतिबेलासम्म भने बलियो नै रहने छ।

भारतको मौसम विभागले बिहीवार अपराह्ण सार्वजनिक गरेको मौसमसम्बन्धी सूचनामा नेपालसँग सीमा जोडिएको उत्तराखण्डका अधिकांश ठाउँमा सामान्यदेखि घनघोर वर्षा हुन सक्ने उल्लेख छ। एक-दुई ठाउँमा बिहीवारदेखि शनिवारसम्म ठूलो वर्षा हुनसक्ने भन्दै बाढी आउन सक्ने पूर्वचेतावनी पनि जारी गरिएको छ।

नेपालसँगको सीमामा अवस्थित पूर्वी उत्तर प्रदेशमा शुक्रवारदेखि आइतवारसम्म भारीदेखि अतिभारी वर्षा हुन सक्ने भनिएको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाले बङ्गालको खाडीआसपास अर्को मनसुनी प्रणाली पनि बनिरहेको बताए।

उनले भने, “असमआसपास बनिरहेको त्यो प्रणालीले शनिवारदेखि कोशी प्रदेशतिर असर पार्छ।”

मनसुनी वायुका कारण बिहीवार काठमाण्डूमा पनि सामान्य बदलीको सम्भावना रहेको उनको भनाइ छ।

अहिलेसम्म कति पानी पर्‍यो?

नेपालमा मनसुन कहिले भित्रिन्छ र बाहिरिन्छ?

सालआरम्भअन्त्य
२०१२जुन १६सेप्टेम्बर २८
२०१३जुन १४अक्टोबर १९
२०१४जुन २०अक्टोबर ७
२०१५जुन १३अक्टोबर ३
२०१६जुन १५अक्टोबर १२
२०१७जुन १२अक्टोबर १६
२०१८जुन ८अक्टोबर ५
२०१९जुन २०अक्टोबर १२
२०२०जुन १२अक्टोबर १६
२०२१जुन ११अक्टोबर ११
२०२२जुन ५अक्टोबर १६
२०२३जुन १४अक्टोबर १५
२०२४जुन १०
स्रोत: DHM, Nepal

परेको पानीको मात्राअनुसार वर्षालाई पाँचवटा वर्गमा राखिन्छ।

  • अतिभारी वर्षा - २०० मिलिमिटर वा त्योभन्दा बढी
  • धेरै भारी वर्षा - १०० मिलिमिटरदेखि २०० मिलिमिटरसम्म
  • सामान्य वर्षा - ५० मिलिमिटरदेखि १०० मिटरसम्म
  • मध्यम वर्षा - १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म
  • हल्का वर्षा - १० मिलिमिटरभन्दा कम

यो वर्ष मनसुन सुरु भए यता बुधवारसम्म नेपालमा १,४१२.२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागको जलवायु महाशाखाले जनाएको छ।

साङ्केतिक तस्बिर

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, यो वर्ष हालसम्म औसतभन्दा बढी वर्षा भएको अधिकारीहरू बताउँछन्

मौसमविद् झाले भने, “नेपालमा मनसुन अवधिमा जति पानी पर्छ, हिजोको दिनसम्म ९५ प्रतिशतभन्दा बढी पानी परिसकेको छ। जुन ३० सम्म विगत ३० वर्षको एकमुस्ट औसतभन्दा तल थियो तर त्यसयता बढ्दै गएको छ।"

"यो वर्ष सामान्य अवस्थाभन्दा बढी पानी पर्छ भनेर हामीले प्रक्षेपण गरेका थियौँ, तथ्याङ्कले पनि त्यस्तै देखाइरहेको छ।”

यस वर्षको मनसुन कहिले सकिन्छ तत्कालै भन्न नसकिने अधिकारीहरू बताउँछन्। तर नेपालमा जुन १३ मा मनसुन सुरु हुने र यो अक्टोबरको २ मा अन्त्य हुने आकलन गर्ने गरिएको छ।

गत वर्ष नेपालमा जुन १४ मा मनसुन आरम्भ भएको थियो भने अक्टोबर १५ मा त्यो अन्त्य भएको थियो।

नेपालमा साधारणतया मनसुन ११२ दिनसम्म रहने गर्छ। सन् १९७९ मा नेपालमा मनसुन सर्वाधिक छोटो समय अर्थात् ७३ दिन र सन् २००८ मा सर्वाधिक लामो समय १३० दिन सक्रिय भयो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।